बुटवल । बुटवल उपमहानगरपालिका–१३, जितगढीस्थित जितेश्वरी जीवनयोग प्रयोगशालामा दोस्रो विश्व ध्यान दिवस विविध कार्यक्रमसहित मनाइएको छ।
डिसेम्बर २१ तारिखका दिन परेको विश्व ध्यान दिवसको अवसरमा प्रयोगशालामा नियमित योगाभ्यास, प्राणायाम, सद्गुरुदेवका ध्यानसम्बन्धी स्ववचन श्रवण तथा स्वजागरण ध्यान विधि अभ्यास गरियो। नियमित रूपमा योग–ध्यान अभ्यास हुँदै आएको उक्त प्रयोगशालामा ध्यान दिवसलाई विशेष कार्यक्रमका साथ मनाइएको हो।
जीवन विज्ञानका प्रशिक्षक कपिल गौतमको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रयोगशाला सञ्चालन समितिका अध्यक्ष तारा गौडेलले सुख, शान्ति र समृद्धिका लागि ध्यान अनिवार्य भएको उल्लेख गर्दै सहभागीलाई विश्व ध्यान दिवसको शुभकामना व्यक्त गरे ।
करिब दुई घण्टा सञ्चालन भएको कार्यक्रममा करिब ४० जनाको उपस्थिति रहेको थियो। “विश्व शान्ति र सद्भावका लागि ध्यान” भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व ध्यान दिवस मनाइँदै आएको छ।




