काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वैदेशिक रोजगारीमा जान तीन लाख ३९ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् । गएको साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा उक्त संख्यामा नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणानुसार, मंसिरमा सात हजार ६२२ महिला र ५८ हजार ८३ पुरुष गरी कुल ६५ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका छन् ।
साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४ र मंसिरमा ६५ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ ।
मंसिरमा साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, जापान, रोमानिया, ओमान, बहराइन र दक्षिण कोरिया जान सबैभन्दा धेरैले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।
मंसिरमा साउदी जान १४ हजार ३३०, कतारका निम्ति १२ हजार ९८६, यूएई जान नौ हजार ३८२, मलेसियाका लागि नौ हजार ७३, कुवेत जान चार हजार ५६२, जापानका निम्ति दुई हजार २९०, रोमानिया जान एक हजार ८७२, ओमानका लागि एक हजार २४८, बहराइन जान ९७२ र दक्षिण कोरियाका निम्ति ९७१ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ ।




