काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलक बंगलादेशजस्तो नहोस् भन्नेमा आफू रहेको बताएकी छन् । बिहीबार कथा प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा उनले भनिन्, “हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौँ, बंगलादेश चाहिँ मुलुक नहोस् । किनभने नेपालीहरूले जीवनभर अति दुःख पाएका छन् । नेपालीहरूको विकास भएको छैन । परिवर्तनका लागि नभेटेरै होला सबै विदेशिएका छन् । यो परिस्थितिमा फेरि पनि मारकाटको स्थिति भयो भने के होला ?”
उनले अहिलेको सरकार अचानोजस्तो भएको टिप्पणी गरिन् । सकसका साथ सरकारले काम गरिरहेको दाबी गरिन् । “बाहिरको चाहना एकैचोटी होस्, जम्मै कुरा एकैचोटी गर्दिउन भन्छन् । धेरै वर्षसम्म नभएपछि मान्छेले आशा राख्छ, एकैचोटी हुनुपर्छ । परिवर्तन हुनुपर्छ भन्ने खालको मान्छेले आशा राख्छ । तर, क्षमताले भ्याउनुपर्दो रहेछ, तागतले भ्याउनुपर्ने रहेछ । सबै कुरा गर्न सक्नुपर्ने हुँदोरहेछ,” उनले भनिन्, “हामी त अचानो जस्तो पो भएछौँ ।”
उनले थपिन्, “पोलिटिकल पार्टीले पनि भरमार गाली गर्छ । अहिलै छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि, पर्सी छोड भन्छ । छोडौँ भने के छोडौँ, थुक्क पालो त दिएको थियो त तिमीहरूलाई एउटा, औकात त छोडेर हिँड्ने रहेछ भन्ने भाष्य आउँछ हामी त पेन्डुलम जस्तो ।”




