बुटवल । सिद्धार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित निजी क्षेत्रबाट निरन्तर प्रकाशित पहिलो राष्ट्रिय दैनिक पत्रिका दैनिक लुम्बिनी ३८औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल सरकारबाट निरन्तर राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत हुंदै आएको दैनिक लुम्बिनीले वार्षिकोत्सवका अवसरमा केक काटेर शुभकामना आदान–प्रदान गरेको छ ।
कार्यक्रममा सिद्धार्थ पब्लिकेशन प्रालिका अध्यक्ष मोहन चापागाईंले पत्रिकालाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै पत्रिकासंगै अनलाइन संस्करण लुम्बिनी पत्रिका डटकम मार्फत भिडियो सहित समाचार सम्प्रेषणमा अझै परिमार्जित भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
संस्थापक सम्पादक कर्णबहादुर कार्कीसहित अग्रजहरूको योगदान स्मरण गर्दै चापागाईंले बदलिँदो परिवेशमा पनि सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूको सहयोग अपरिहार्य रहेको बताए ।
सो अवसरमा सल्लाहकार एम.बि. विश्वकर्मा, सम्पादक शेरबहादुर के.सी.,प्रबन्ध सञ्चालक महेश रिजाल,सहसम्पादक टिआर शर्मा, अनलाइन संयोजक प्रदीप आचार्य लगायतले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताको मुद्दामा सदैव प्रष्ट अडान राख्दै जनपक्षीय पत्रकारितामा खरो उत्रने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा पत्रिकाका सञ्चालक, सम्पादकीय टिम तथा कर्मचारीहरूबीच शुभकामना आदान प्रदान भएको थियो ।




