बुटवल
अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ मा बोक्से भन्ने स्थानको एक गोठमा शुक्रबार बिहान १० बजेतिर प्रहरीको ग्रामीण गस्ती टोलीले बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला पारेको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सञ्चालन गरेको कृषि फर्म परिसरमा रहेको दुई तले गोठमा हात हतियार र विष्फोटक पदार्थहरु भेटिएको हो । माओवादीले उक्त ठाउँमा केही वर्षदेखि जग्गा लिजमा लिएर व्यवसायिकरुपमा आलु, कागतीलगायत खेती गर्दै आएको छ । त्यसलाई माओवादीले उत्पादनमार्फत् पार्टीलाई आत्मनिर्भर बनाउन गरिएको ‘जन कम्युन’ भन्दै आएको छ ।
जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ मा तोकेको चुनावको शान्ति सुरक्षालाई मध्यनजर गरी प्रहरीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले ग्रामीण गस्ती चलाएको छ । यही क्रममा शुक्रबार बिहान उक्त क्षेत्रमा प्रहरीको गस्ती टोली पुगेको थियो । प्रहरीलाई शंकास्पद लागेर खोजतलास गर्दा गोठको माथिल्लो तलामा हात हतियार र विष्फोटक पदार्थहरु भेटिएका हुन् ।
मान्छे नबस्ने गोठको माथिल्लो तलामा २ थान भरुवा बन्दुक, १४ थान ग्रिनेट, १२ थान डेटोनेटर, २५ ईन्च लामो प्लास्टिकको पाइप, रकेट लन्चरको सेल ३ थान, ५ लिटरको प्रेसर कुकर बम एक थान, स्टिलको बम एक थान, बिजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले बताए ।
भेटिएको हात हतियार र विष्फोटक पदार्थ कसले गोठमा राखेको हो भन्ने पत्ता लाग्न नसकेको डीएसपी जिसीले बताए । ‘बरामद हातहतियार र विष्फोटक पदार्थ गोठमा कसले किन राखेको हो भन्ने खुलेको छैन, दुई थान भरुवा बन्दुक वाहेक अरु विष्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा डिस्पोज गराइयो,’ डीएसपी जीसीले भने–‘मान्छे र गाई वस्तु समेत नबस्ने भएकाले गोठ कसको हो भन्ने पनि खुलेको छैन, हामी अनुसन्धान गरिरहेका छौं, पछि थप तथ्य खुल्दै जालान ।’
भेटिएका हतियार र विष्फोटक पदार्थहरु हालै बनाएका ताजा नभई केही पुराना भएको प्रहरीको ठम्याई छ । प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले ग्रामीण गस्ती अभियान चलाएको र बेवारिसे अवस्थामा विष्फोटक पदार्थ र हतियार भेटिएको बताइरहँदा नेकपा माओवादीले भने ठीक उल्टो प्रतिक्रिया जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति निकालेर कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापा मारेर श्वेत आतंक मच्चाएको आरोप लगाएका छन् । ‘सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने, अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहंदैन बरु देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टी भएको छ,’ माओवादीको विज्ञप्तिमा भनिएको छ–‘मानवधिकारवादीलाई गैरकानुनी प्रहरी छापा एवं दमनको निष्पक्ष छानबिन गर्न आग्रह गर्दछौं ।’
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले भने माओवादीको विज्ञप्तिमा प्रहरीमाथि लगाइएका आरोप सरासर गलत र भ्रामक रहेको जनाएको छ । ‘प्रहरीको काम नै सरकारको निर्देशनको पालना र कानुनको कार्यान्वयन गर्ने हो, चुनावलाई शान्तिपूर्ण बनाउने अभियानअन्तर्गत गस्ती गर्दा बेवारिसे हतियार भेटिएपछि बरामद गर्नु र विष्फोटक पदार्थ डिस्पोज गर्नुलाई अपव्याख्या गरी सरकारलाई दोष लगाउनु सरासर गलत हो,’ डीएसपी जीसीले भने–‘हामीले गरेको गस्ती र बेवारिसे हतियार बरामद गैरकानुनी होइन,कानुनसम्मत हो यसले शान्ति सुरक्षा कायम गर्न टेवा पु¥याउँछ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको सभापति हरिप्रसाद भुसालले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न प्रहरीले गस्ती गर्नु र अवैध हातहतियार बरामत गर्नु स्वागतयोग्य कदम भएको बताए । ‘प्रहरीले देशभर गस्ती बढाएर यसरी नै अवैध हातहतियार राज्यको नियन्त्रणमा लिएर शान्तिपूर्ण र भयरहित चुनावको वातावरण बनाउनुपर्छ,’ भुसालले भने–‘जिम्मेवार राजनीतिक दलले राज्यका आधिकारिक निकायले गरेका जायज कामलाई आफू अनुकूल गलत व्यख्या गरेर चुनावी माहोललाई अन्यत्र मोड्ने काम गर्न मिल्दैन ।’
माओवादीले निकालेको विज्ञप्तिको सार तथ्यपरक नभएको र आफैँ चुनावबाट भाग्न चाहेको जस्तो देखिएको भुसालको तर्क छ । ‘जनताले अहिले तोकिएको मितिमै चुनाव चाहेका छन्,’ भुसालले भने–‘चुनावलाई शान्तिपूर्ण बनाउन अवैध हात हतियारलाई राज्य पक्षले नियन्त्रणमा लिने कुरा कसरी गैर कानूनी र आतंक हुन्छ ?’
नेकपा माओवादीका केन्द्रीय सदस्य वीरेन्द्र विकले माओवादीको कम्युन नजिकै गोठमा भेटिएका हात हतियार र विष्फोटक पदार्थ आफ्नो पार्टीले राखेको नभएको दाबी गरे । आफ्नो दल चुनावमा भाग लिन तयार रहेको र सरकारलाई दश दिने अल्टिमेटम समेत दिएको अवस्थामा कम्यून क्षेत्रमा गरिएको ‘धरपकड’ले चुनावको वातावरण बिथोलिन सक्ने र सरकारले चुनाव गर्न नचाहेको हो कि भन्ने आफ्नो पार्टीको आशंका रहेको टिप्पणी गरे ।




