बुटवल । भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर वितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ वार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित भएको हो ।
कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत, करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२६२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय प्रस्ताव पारित भएको जानकारी दिए । पोखरेल प्रस्ताव गरेको कम्पनीले जारी पूँजीका २० प्रतिशत शेयर सर्बसाधारणका लागि शेयरको प्राथमिक सार्वजनिक निश्कासन (आइपीओ)जारी गर्ने प्रस्ताव समेत पारित भएको छ ।
सो अवसरमा बोल्दै पोखरेलले कम्पनीले उर्जा तथा जलस्रोतमा लगानी बढाएको जानकारी दिँदै पोखरामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना सञ्चालनमा आएको बताए । त्यस्तै उनले कास्कीमा ३१ मेगावाटको बज्रामादी जलविद्युत निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।
अध्यक्ष पोखरेलले पाल्पाको तिनाउ गाउँपालिकामा ३.४४ मेगावाटको तिनाउ खोला साना जलविद्युत् आयोजना निर्माण थाल्ने तयारीमा रहेको समेत जानकारी दिँदै अब भिजन नेपाल लिमिटेड मार्फत् देशभर समृद्धिको यात्रा तीव्र पारिएको जनाए ।
उनले सामूहिक लगानी र समृद्धिका लागि इको टुरिजम, अर्थ तथा वित्त, स्वास्थ्य, हस्पिटल, इन्स्योरेन्स, ब्रोकर, यातायात,जग्गालगायतका क्षेत्रमा लगानी गरिरहेको र लगानीको प्रतिफल दिने उल्लेख गरे ।
सञ्चालकहरु कुलबहादुर केसी, राजिब गौतम, सल्लाहकार इञ्जिनियर लेखनाथ पाण्डेय, कृष्णकुमार श्रेष्ठ, उर्जाका अध्यक्ष सुदिपसिंह अधिकारी, भिजन नेपालको सञ्चालक विनोद अधिकारी,बज्रामादीका सञ्चालक दिपेन्द्र ढकाल, हाँस्य कलाकार जितु नेपाल, जेसीजका अध्यक्ष जीवन कार्कीलगायतले बोलेका थिए ।
साधारणसभाका अवसरमा हाँस्य कलाकार जितु नेपाल, तथा जेसीजका अध्यक्ष जीवन कार्कीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कानुनी सल्लाहकार रामप्रसाद खनालले गरेका थिए ।




