केशव पराजुली
नवलपरासी
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ हर्दी भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । हर्दीका महिलाहरु गर्भवती भएपछि स्वास्थ्य चौकीमा जाँच गराउन नजाने र घरमै सुत्केरी हुने गर्दथे । निकै पछाडि परेको हर्दी गाउँका महिलालाई समेटेर इन्द्रेणी सामाजिक विकास मञ्चले फेयरमेड नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना सुरु गरेपछि हर्दीका महिलामा परिर्वतन आएको छ ।
प्रेरणा परिजनाको सहजीकरणमा स्वास्थ्य आमा समूह गठन गरेर सामाजिक रुपान्तरणको काम सुरु गरेर महिलाहरुलाई स्वास्थ्य र सरसफाइका बारेमा जानकारी गराएपछि हर्दीका महिलाहरुमा परिर्वतन आएको हो । २५ जनाको स्वास्थ्य आमा समूह गठन गरेर समूहका महिलाहरुले अहिले आएर गाउँ, टोलको सरसफाइ गर्ने, गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा चेक जाँचका लागि पठाउने र घरमा सुत्केरी गराउने कामको अन्त्य नै गराएको समूहकी सचिव किरण कोहारले बताइन् । उनका अनुसार समूहको मासिक बैठक बस्ने र बचत समेत जम्मा गरेर समस्यामा परेका महिलाहरुलाई सहयोग गर्ने काम समेत सुरु भएको छ ।
समूहले मासिक २५ रुपैयाँ उठाउने गरेका छन् । समूहकी सचिव किरणका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । रुपन्देहीको छपीया आफ्नो माइती भएको र आफूले अहिले सिभिल इञ्जिनियरिङ्ग गरेर घरमै लोकसेवाको तयारी गरेको बताइन् । उनले विवाह भएर आफू गर्भवती हँुदा आइरन चक्की खाँदा उल्टी भएपछि आइरन चक्की खान छाडेकोमा प्रेरणा परियोजना गाउँमा आएपछि स्वास्थ्यका बारेमा धेरै कुरा बुझेको र आइरन चक्की खान सुरु गरेको जनाइन् ।
इन्द्रेणी सामाजिक विकास मञ्चले फेयरमेड नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजनाले स्वास्थ्य र सरसफाइका बारेमा जानकारी दिने भए पनि अन्य सहयोग नदिएको समूहकी अम्द्रता चौधरीले बताइन् ।
आफ्नो समूहको बैठक समेत समूहका सदस्यको घरमा बस्ने गरेको समूहकी सदस्य पुनम बनियाँ बताउँछिन् । उनका अनुसार गाउँपालिकाले समूहलाई कुनै सहयोग गरेको छैन ।
इन्द्रेणी सामाजिक विकास मञ्चले फेयरमेड नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजनाको सल्लाहकार समितिको अनुगमनका क्रममा आमा समूहका सदस्यहरुले समूहका लागि बैठक बस्दा खाजा, बैठक बस्न र अन्य गतिविधि गर्न भवनको माग समेत गरेका छन् । इन्द्रेणी सामाजिक विकास मञ्चले फेयरमेड नेपालको साझेदारीमा सञ्चालित प्रेरणा परियोजना २०१९ देखि २५ सम्म र २०२५ दे २०२८ सम्म नवलपरासीका सात वटै स्थानीय तहमा स्वास्थ्य प्रणाली सुद्धढीकरण, उपेक्षित उष्णप्रदेशीय रोगहरु र मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी र अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको छ ।




