बुटवल । हरेक चुनावमा क्षेत्र फेर्दै चुनाव जित्दै आएका नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कहाँबाट चुनावमा उठ्लान ? यो प्रश्नको उत्तर शनिबार उनले रूकुम पश्चिम पुगेर दिए ।
उनले भने–‘यसपाली म रूकुम पूर्वबाट चुनावमा उठ्ने छु । रूकुम पूर्वबाट चुनावमा उठ्ने भएपछि यहाँ पनि आइरहन्छु । यहाँको विकासमा पनि मेरो उत्तिकै ध्यान जाने छ ।’
रूकुम पश्चिमका प्रभावशाली नेता जर्नादन शर्माले साथ छाडेर नयाँ पार्टी खोलेपछि चुनौती थपिएको ठानेका प्रचण्डले आमसभामा बोल्दै भने–‘यहाँको विकासमा म सधैँ लागिरहने छु, म तपाईंहरूसँगै छु ।
प्रचण्डले पाँचौपल्ट चुनाव लड्ने क्षेत्र फेर्दैछन् । पार्टी संगठनभित्र विरोधीलाई पेलेर किनारा लगाउँदै आएका प्रचण्डका लागि आम चुनावमा भिड्नका लागि कठिन भएकाले क्षेत्र फेर्दै हिंड्ने गरेको आरोप लागेको छ । उनका समर्थकहरू भने प्रचण्ड गतिशील भएकाले क्षेत्र फेर्दै आएको बताउँछन् ।
संगठनमा चार दशकदेखि एकछत्र राज गर्दै आएका उनले पार्टीलाई आफ्नो अनुकुल चलाउन धेरैपल्ट नाम फेरेका छन् । गठबन्धन पनि कहिले कांग्रेस त कहिले एमालेसँग गरेका छन् । फागुन २१ गते हुने चुनावमा बलियो प्रतिस्पर्धी बन्न उनले माधव नेपालको एकीकृत समाजवादीसहित विभिन्न साना पार्टीलाई मिसाएर माओवादी पार्टीलाई नेकपामा रूपान्तरित गरेका छन् ।
आगामी चुनावमा गठबन्धन को–कोसँग हुन्छ भन्ने ठेगान छैन्, तर उनले आफ्नो सुरक्षित क्षेत्रको टुंगो लगाएर नेपाली राजनीतिको एउटा खेलाडी भइरहने विषयलाई टुंगो लगाएका छन् । रूकुम पूर्व तत्कालीन माओवादीको आधार इलाका हो, जहाँ उनको पार्टीको जनाधार बलियो देखिन्छ ।
आगामी चुनावमा प्रचण्डका लागि रूकुम पूर्वसहित विभिन्न पाँच जिल्लाबाट चुनाव लड्न प्रस्तावसहित सिफारिस भएको थियो । उनले पार्टीका शीर्ष नेताहरूलाई रूकुम पूर्व र सिन्धुलीको अवस्था बुझ्न लगाए । सिन्धुलीको जनमत चलायमान भएकाले समस्या पर्न सक्ने आँकलन भएपछि दाहालको रोजाई रूकुम पूर्व भएको हो ।
गएको प्रतिनिधिसभाको चुनावमा नेकपा माओवादीका पूर्ण घर्ती १२ हजार २ सय ६२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कैलाश मल्लले ५ हजार २ सय ११ मत ल्याएका थिए ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८ सय ९६ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५ सय ८६ मत मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४ सय ६४ मत र नेस्नलिस्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३ सय ३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो ।
अहिले रूकुम पूर्वमा ३४ हजार ९ सय ६३ मतदाता छन् । २०७९ सालमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएपछि प्रचण्डले आफूले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका थिए ।
‘म पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु । पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ ।’–उनले भनेका थिए ।
२०७४ सालमा तत्कालीन माओवादी र एमालेबिच गठबन्धन हुँदा चितवन ३ बाट प्रचण्ड ४८ हजार २६९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका थिए । प्रचण्डले संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा चारपटक मत हाल्दा आफूलाई एकपटक मात्र मत हालेका छन् । २०७४ सालको प्रतिनिधिसभामा चितवन ३ बाट उम्मेदवार बन्दा मात्रै उनले मतदान गर्न पाए । २०७० सालको दोस्रो संविधानसभामा प्रचण्डले काठमाडौं १० र सिरहा ५ बाट निर्वाचन लडे ।
काठमाडौंबाट नेपाली कांग्रेसका राजन केसीले २० हजार ३९२ मत ल्याउँदा प्रचण्डले १२ हजार ८५२ मत ल्याएर तेस्रो भए । प्रचण्डले सिरहा ५ बाट १५ हजार २ सय ४४ मत ल्याएर विजयी भए । शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा प्रचण्ड रोल्पाबाट निर्वाचित भए । पहिलोपटक चुनावमा उठ्दा उनले रोल्पा क्षेत्र नम्बर २ र काठमाडौं १० बाट उम्मेदवारी दिएका थिए । उनी त्यो समयमा रोल्पा र काठमाडौं दुवै क्षेत्रबाट विजयी भए । पछि उनले रोल्पा २ छोडेर काठमाडौं रोजे ।
चुनाव जित्न क्षेत्र बदल्दै आएका उनले पार्टीको नाम पनि पटक–पटक फेरेका छन् । राजनीति सुरु गर्दा प्रचण्ड तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए ।
प्रचण्ड नेकपा मशालको पहिलोपटक महामन्त्री भए । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो । २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम नेकपा माओवादी राखे ।
त्यसपछि २०६५ सालमा माओवादी र एकता केन्द्रबिच एकता भयो पार्टीको नाम एकीकृत माओवादी राखियो । प्रचण्डले फेरि आफैँबाट फुटेर गएका पूर्वमाओवादीहरूसँग एकता गरे, त्यसपछि फेरि पार्टीको नाम फेरियो । अनि बन्यो माओवादी केन्द्र । एमालेसँगको एकतापछि त्यो नाम फेरिएर नेकपा भयो ।
अहिले १६ वटा पार्टी मिलाएर नेपाली कम्युनिस्ट पार्टी राखेका छन् । पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपाली जित हात लाग्छ कि लाग्दैन् त्यो हेर्न फागुन २१ को नतिजासम्म कुर्नुपर्नेछ ।




