भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा क्यान्सर सचेतनाका लागि पदयात्रा गरिएको छ । क्यान्सरको जोखिम दिन प्रतिदिन बढ्दै जानुको कारण जनचेतना अभाव समेत रहेकोले उजागर गर्दै क्यान्सरको कारण, रोकथाम र समयमै पहिचानबारे सचेत गराउने उद्देश्यले लुम्बिनीमा पदयात्रा गरिएको हो ।
काठमाडौं क्यान्सर अस्पतालको आयोजनामा विभिन्न सन्देशसहितको प्लेकार्ड लिएर उपस्थित विद्यार्थी, आमासमूह, लुम्बिनी होटल संघ, लुम्बिनी साँस्कृतिक नगरपालिका, अस्पताल परिवार, स्थानीयलगायतको उपस्थितिमा लुम्बिनीको शान्ति दीपदेखि मायादेवी मन्दिर हुँदै राजकीय विहारसम्म पद यात्रा गरी सचेतनामूलक कार्यक्रमसहित सम्पन्न भएको अस्पतालकी प्रशासन प्रमुख वर्षा कोइरालाले बताइन् ।
कार्यक्रममा सेन्टरकी प्रशासन प्रमुख वर्षा कोइरालाले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार हुँदै गएको र विशेषज्ञ उपचारको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरिन् ।
यो अभियान न्युजिल्यान्डबाट एक क्यान्सर पीडितद्वारा सुरु गरिएको र पूर्णरूपमा क्यान्सरसम्बन्धी सचेतनाका लागि समर्पित संस्था भएको उनले जानकारी दिइन् ।
नेपालमा भने काठमाडौं क्यान्सर अस्पतालले यसको नेतृत्व गर्दै आएको छ । ‘कार्यक्रमको मुख्य उद्देश्य जनचेतना फैलाउनु रहेको उल्लेख गर्दै क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न सकेमा उपचार सम्भव हुने भएकाले क्यान्सर के हो, कसरी बच्न सकिन्छ र सुरूवाती लक्षण कसरी चिन्ने भन्ने विषयमा सचेतना आवश्यक रहन्छ ।’–प्रशासन प्रमुख कोइरालाले भनिन् ।
लुम्बिनी शान्तिको सन्देश छर्ने ऐतिहासिक ठाउँ र धेरै पर्यटक आउने महत्वपूर्ण ठाउँ भएकोले यहाँको प्रचारप्रसारका साथै क्यान्सरबारे सबैमा सकारात्मक सन्देश जाओस् भन्नका लागि लुम्बिनीमा कार्यक्रम गरिएको काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष सीमित सापकोटाले जानकारी दिए ।
पहिले क्यान्सरको नाम सुन्नासाथ मानिसहरू डराउने, लुकाउने र नबताउने प्रवृत्ति रहे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै उनले क्यान्सरबारे खुलेर कुरा गर्न र समयमै जाँच गराउन सचेतना आवश्यक रहेको बताए । उनले क्यान्सरको प्रमुख कारणमध्ये धुम्रपान तथा सुर्तीजन्य पदार्थ रहेको उल्लेख गर्दै यस्ता बानीबाट टाढा रहन जनचेतना फैलाउने उद्देश्यले यो तेस्रो पटक कार्यक्रम आयोजना गरिएको बताए ।
सचेतनाको कमिले अहिले क्यान्सर तीव्र गति
मा बढिरहेको बेला यसबारे जानकारी गराउन, क्यान्सर रोगबाट बच्ने उपाय र विधिबारेमा चेतना जगाउने, क्यान्सरको कारणबारे जानकारी दिँदै रोकथामको उपायकोबारे चर्चा गरिएको हो । आइतबार ६९ वटा देशमा २५० वटा शहरमा यो कार्यक्रम भइरहेको अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमले सर्वसाधारणहरूमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान तथा उपचारको आवश्यकताको सन्देश प्रवाह गरेको छ । जीवनशैलीमा सानो सुधार तथा नियमित स्वास्थ्य परीक्षणद्वारा क्यान्सरलाई नियन्त्रण गर्न सकिन्छ ।
क्यान्सरको उपचार सम्भव छ, डराउनु पर्ने स्थिति छैन भन्दै अस्पतालले जागरूकताका अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
पदयात्राको पूर्व सन्ध्यामा अस्पतालले उपलब्ध गराउँदै आएको उपचार सेवा, चुनौती र आगामी सम्भावनासहित क्यान्सर उपचार र व्यवस्थापनमा भएका नयाँ प्रविधि, उपचार विधिबारे रूपन्देहीका चिकित्सकहरूसँग संवाद गरिएको थियो ।
चिकित्सकहरूबिच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने अपेक्षासहित अस्पतालले नेपालमै अत्याधुनिक प्रविधिमार्फत सुरक्षित क्यान्सर उपचार दिँदै उपचारका लागि विदेशीने बाध्यता हटाउँदै गएको जानकारी दिएको छ ।
अङ्कोलोजीमा प्याथोलोजीको भूमिकाबारे डा. राकेश पाठकले क्यान्सरको सही पहिचान र उपचार योजनामा प्याथोलोजीको महत्वबारे, डा. दीपक यादवले टाउको तथा घाँटी क्यान्सर उपचारका नयाँ अभ्यास र प्रविधिबारे, डा. दीप लामिछानेले शल्य अङ्कोलोजीका अधावधिक जानकारी र शल्यक्रियामार्फत् क्यान्सर उपचारमा भएका प्रगति र चुनौतीबारे, डा. सुरेश कायस्थले स्त्रीरोग अङ्कोलोजीका क्षेत्रमा भएका नयाँ उपचार पद्धतिबारे र डा. सुभाष पण्डितले क्लिनिकल अङ्कोलोजीका अधावधिक विषयमा प्रस्तुति दिएका थिए ।




