बासुदेव ढकाल
पाल्पा(रामपुर)
पाल्पा रामपुरको भुजात गुरूङ गाउँमा होम स्टे सञ्चालनको सम्भाव्यताका बारेमा सरोकारवालासँग प्रारम्भिक चरणको अन्तरक्रिया सम्पन्न भएको छ ।
रामपुर नगरपालिका–८ वडा कार्यालयको आयोजानामा भुजातस्थित गुरूङ गाउँमा घरबास (होम स्टे) सञ्चालनका लागि सम्भाव्यताका बारेमा वडाका जनप्रतिनिधि, वडास्तरमा राजनीतिक दलका प्रमुख प्रतिनिधि, टोल विकास संस्था, सामुदायिक वन, मन्दिर पार्क विकास समिति एवं पत्रकार, लक्षित गरूङ समुदायबिच भुजात गुरूङ गाउँमा होम स्टेबारे अन्तरक्रिया भएको हो ।
ग्रामीण पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको गुरूङ गाउँमा होम स्टे सञ्चालन गर्न सकिने अवस्था हुन्छ, हुँदैन भन्नेबारे सरोकारवालाको धारणा बुझेर विज्ञहरूसँग पनि प्राविधिक राय सल्लाह लिन वडा नम्बर ८ को पहलमा सम्भाव्यता अध्ययन गराइएको छ । समुद्री सतहभन्दा उच्च भागमा अवस्थित गुरूङगाउँबाट विभिन्न हिमश्रृंखला, कालीगण्डकी नदीको नागबेली भई बगेको, गण्डकी बेसिको समथर भू–भाग तथा सिद्धबाबा धामलगायतका आकर्षक दृश्य अवलोकन गर्न सकिने स्थानमा गुरूङ समुदायको जीजनशैली, कला संस्कृति पाहुना स्वागतमा खुसी देखिनुले यसको सम्भावना रहेको अध्ययनमा संलग्न विज्ञले आफ्नो प्रस्तुति बताएका थिए ।
वडा नम्बर ८ का वडाध्यक्ष दिनेश आचार्यले पाल्पामै अल्पसंख्यक, मिलेको बस्ती रहेको गुरूङ गाउँमा होम स्टे सञ्चालनको प्रवल सम्भावना देखिएकाले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्यान महासङ्घका उपाध्यक्ष दलबहादुर गुरूङ, मणिमुकुन्द सेन संरक्षण समिति, बुटवलका युवराज घिमिरेले सम्भाव्यता अध्ययनपश्चात् गरिएको अन्तरक्रियामा होम स्टे सञ्चालनका विशेषता, चुनौती, कर्तव्य र अधिकारका विषयमा प्रतिवेदनसहितको प्रस्तुति राखेका थिए ।
सम्भाव्यता अध्ययनपछि होम स्टेका अभियान्ता दलबहादुर गुरूङले गुरूङ समुदायको मौलिक संस्कृति, अर्गानिक खाना, पारिवारिक बसाई र सुरक्षालाई प्राथमिकतामा राखेर होम स्टे सञ्चालन गर्नुपर्ने सुझाव दिए । युवा जनशक्ति वैदेशिक रोजगारीका लागि पलायन हुने समस्यालाई मध्यनजर गर्दै वडाले स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले पहल गरिरहेको । हाल १० घरधुरी रहेको गुरूङ बस्तीमा होम स्टे सञ्चालन गर्न सके रामपुरमा पर्यटक भित्र्याउन महत्वपूर्ण टेवा पुग्ने सहभागीहरूले बताएका छन् ।
कार्यक्रमका रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले रामपुर आउने पर्यटकले होमस्टेबारे सोधपुछ गर्ने गरे पनि हाल यहाँ होम स्टे नहुँदा समस्या हुँदै आएको उल्लेख गरे ।
रामपुर नगर सल्लाहकार फणेश्वर गौतमले होम स्टे रामपुरका लागि अत्यावश्यक रहेको र गुरूङ गाउँ अत्यन्त सम्भावना युक्त भएकाले सबैको सहकार्यमा सञ्चालनमा ल्याउनुपर्ने जोड दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।




