भैरहवा
पूर्व शिक्षा मन्त्री तथा पार्टीको वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाले नयाँ शक्ति र पुरानो शक्तिबिच संघर्ष होइन समन्वयको आवश्यकता रहेको बताएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको नगर, जिल्ला तथा प्रदेश कार्यसमितिको कार्यालय भैरहवामा उद्घाटन कार्यक्रममा बोल्दै शुक्लाले नयाँ शक्तिले सबै शक्तिलाई समेटेर हिंड्यो र हिंड्न सक्ने सहजकर्ताको भूमिका खेल्ने अपेक्षा रहेको बताउँदै उनले हाम्रो चाहना पनि परिवर्तन रहेकोले संघर्षलाई किनारा लगाएर दीर्घकालिन समाधानसहित हामीले प्रस्तुत गर्न सक्नुपर्ने बताए ।
देश कुन बाटो जान्छ भन्ने अवस्था नभएको बेला एकीकृत रूपमा हामीले ध्येय राखेर अगाडि बढिरहेको र जुनसुकै अवस्थामा पनि सामना गर्न तयार रहनुपर्ने उनले जनाए ।
उनले यहीबेला लोकतान्त्रिक शक्ति टुटको अवस्थाले कमजोर भएको स्थिति छ भने नयाँ–नयाँ शक्तिको उदयले भोली कता लैजाने भन्नेका लागि सदनमा बहस हुने हँुदा तार्किक बहस गर्न सक्ने र पार लगाउन सक्ने शक्तिको आवश्यकता रहेको र यो एकीकृत शक्तिले पार लगाउन सक्ने बताए ।
पूर्व शिक्षा मन्त्री तथा पार्टीका वरिष्ठ नेता शुक्लाले विभिन्न कारण र चुनौतीको सामना गर्न समग्र मधेसवादी दलहरूको मोर्चा बनेको र चुनौतीहरूलाई समाधान गर्न केही हद सम्म मद्दत गर्ने जनाए ।
रूपन्देहीको सिद्धार्थनगर–४ एयरर्पोट नजिकै उद्योगपुरीमा अवस्थित एक भवनमा तिनै तहको कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरे । केन्द्रीयस्तरबाट लोसपा नेपाल र जनता समाजवादी पार्टी नेपालको एकीकरणपश्चात् अब पार्टीको काम कारबाही अगाडि बढाउनका लािग सचिवालय स्थापना गरिएको छ ।
सो अवसरमा बोल्दै मन्त्री पाण्डेले अबको निर्वाचनमा एकीकृत भएको यो पार्टी लुम्बिनी प्रदेशमा सबभन्दा ठूलो दल भएर आउने दाबी गरे । नगर, जिल्ला र प्रदेशको कार्यालय व्यवस्थित रूपमा जिल्लाले व्यवस्थापन गरेकोमा आगामी निर्वाचन कार्यक्रम गर्न पनि सहज हुने उनले बताए ।
यस्तै जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामअवतार यादवले जनतालाई अधिकार सम्पन्न बनाउन पार्टी मजबुत हुनुपर्ने जनाए ।




