२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भड्छामा ऐतिहासिक ११५औं माघे औँसी मेला सुरु

भड्छामा ऐतिहासिक ११५औं माघे औँसी मेला सुरु

भड्छामा ऐतिहासिक ११५औं माघे औँसी मेला सुरु

भड्छामा ऐतिहासिक ११५औं माघे औँसी मेला सुरु

भड्छामा ऐतिहासिक ११५औं माघे औँसी मेला सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • नरेश चौधरी
     सैनामैना
    रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित भड्छा गाउँमा ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको तीनदिने भड्छा महोत्सव तथा रात्रि माघे औँसी मेला शनिबारबाट सुरु भएको छ । 


    थारु समुदायको संस्कृति, धार्मिक परम्परा र पहिचानसँग जोडिएको यो मेला यस वर्ष ११५औँ संस्करणका रूपमा आयोजना गरिएको हो ।


    हरेक वर्ष माघे औँसीको अवसरमा आयोजना हुँदै आएको यो मेला राती सुरु भएर राती नै समापन हुने विशिष्ट पहिचान बोकेको प्राचीन मेला हो । मेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सैनामैना नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।


    वडाध्यक्ष तथा मेला मूलसमारोहका संयोजक चौधरीले भड्छा मेला यस क्षेत्रकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै थारु समुदायको संस्कृति संरक्षण, इतिहासको संवद्र्धन र पहिचान जोगाउने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार परापूर्वकालदेखि चल्दै आएको यस मेलाले थारु समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनशैली झल्काउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।


    मेलाको संरक्षणमा सबै समुदायको साझा अपनत्व आवश्यक रहेको उल्लेख गर्दै मेला प्रचार–प्रसार उपसमितिका संयोजक हरिनारायण थारुले रात्रिकालीन स्वरूपकै कारण मेलाको धार्मिक तथा सांस्कृतिक महत्व अझ बढी रहेको बताए । मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले थारु समुदायको अस्तित्व, अधिकार स्थापना तथा पछाडि परेका समुदायलाई मूलधारमा ल्याउन भड्छा मेलाले महत्वपूर्ण योगदान पु¥याउने धारणा राखे । 
    उनले भड्छा महोत्सवलाई थारु संकृति र सम्पदा अध्ययनको थलो बनाउनुपर्ने सुझाव दिए । 


    मेला अवधिभर थारु संस्कृतिलाई झल्काउने पहिरन, पुराना सामग्रीको प्रदर्शनी, ऐतिहासिक बड्का नाच, झुमडा नाच, थारु खानाका परिकार तथा पहिरनका स्टल, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, खुला वडास्तरीय भलिबल प्रतियोगिता, लोकचुट्का भजन, सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने झुमण नाच संयोजक रामबहादुर थारुले जानकारी दिए ।


    मेला रात्रिकालीन स्वरूपकै कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरु बताउँछन् । आर्थिक स्रोतको अभाव, सरकारी तथा प्रशासनिक सहयोग सीमित हुनु, समयसँगै समाजमा आएको परिवर्तन, पुस्तान्तरण प्रभावकारी रूपमा हुन नसक्नु तथा नयाँ पुस्तामा मेलाप्रति चासो घट्दै जानुजस्ता कारणले आगामी दिनमा मेला सञ्चालन गर्न कठिनाइ हुन सक्नेप्रति सरोकारवालाहरूले चिन्ता समेत व्यक्त गरेका छन् । रात्रिकालीन प्राचीन मेलाको रूपमा परिचित भड्छा मेला अवलोकन गर्न रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, दाङलगायतका थारु तथा अन्य समुदायका सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने गरेको छ । 


    ‘हाम्रो संस्कृति, हाम्रो पहिचान–संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित भड्छा गाउँ समाजको आयोजनामा माघ ३, ४ र ५ गतेसम्म मेला सञ्चालन हुनेछ ।


    रक्तदान कार्यक्रम सम्पन्न
    मेलाको पूर्वसन्ध्यामा मानवीय सेवाको उद्देश्यसहित आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन गरिएको छ । उक्त कार्यक्रम भड्छा गाउँ समाज तथा मेला मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी तथा रक्त सञ्चार केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij