बुटवल
लुम्बिनी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महिलाको सहभागिता तथ्याङ्कीय रूपमा अझै कमजोर देखिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा कुल ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा महिलाको संख्या जम्मा ५६ जनामा सीमित छ । यो संख्या कुल उम्मेदवारको करिब ९ प्रतिशत मात्र हो, जसले राजनीतिक प्रतिस्पर्धामा महिलाको उपस्थिति अझै चुनौतीपूर्ण अवस्थामा रहेको संकेत गर्छ ।
प्रदेशमा महिला उम्मेदवारको संख्याका हिसाबले रुपन्देही जिल्ला अग्रस्थानमा छ ।
यहाँ २१ जना महिलाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । व्यापार, शिक्षा, राजनीति र सामाजिक क्षेत्रमा सक्रिय महिलाहरूको बाक्लो उपस्थिति रहेको यस जिल्लामा महिला उम्मेदवारको संख्या अन्य जिल्लाको तुलनामा उल्लेख्य देखिएको हो ।
तर, यही प्रदेशकै रोल्पा जिल्लामा भने एक जना पनि महिला उम्मेदवार नदेखिनु चिन्ताको विषय बनेको छ । यसले भौगोलिक तथा सामाजिक संरचनाले महिलाको राजनीतिक पहुँचमा कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रश्न पनि उठाएको छ ।
अन्य जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा पाँच–पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
कपिलवस्तुमा चार जना महिला उम्मेदवार रहेका छन् भने पाल्पा र रुकुम पूर्वमा दुई–दुई जना महिलाले प्रतिनिधिसभा सदस्य बन्ने आकांक्षा राख्दै मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै अर्घाखाँची र प्यूठानमा एक–एक जना महिला उम्मेदवार रहेका छन् । यी तथ्याङ्कले लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा महिलाको सहभागिता न्यून भए पनि पूर्णरूपमा शून्य नभएको संकेत गर्छ ।
राजनीतिक दलहरूको भूमिकालाई हेर्दा ठूला दलबाट महिलाको उम्मेदवारी अपेक्षाकृत कम देखिएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कुल ५९९ उम्मेदवारमध्ये ३९४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र २०५ जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । महिलाको उल्लेख्य उपस्थिति भने साना दल र स्वतन्त्र उम्मेदवारमार्फत् देखिएको छ ।
यसले ठूला दलहरूमा अझै पनि नेतृत्व तहमा महिलालाई अवसर दिन हिचकिचाहट रहेको विश्लेषकहरूको भनाइ छ ।
महिला अधिकारकर्मीहरूका अनुसार संविधान र कानुनले समान सहभागिताको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर छ ।
उम्मेदवारी चयन प्रक्रियामा आर्थिक स्रोत, संगठनभित्रको पहुँच र निर्णय तहमा पुरुष वर्चस्वले महिलालाई पछाडि पारेको उनीहरूको बुझाइ छ ।
यद्यपि, सीमित संख्यामा भए पनि महिलाहरूले उम्मेदवारी दिनु आफैंमा सकारात्मक संकेत भएको उनीहरू बताउँछन् ।
आगामी निर्वाचनले लुम्बिनी प्रदेशमा महिलाको राजनीतिक भविष्य कता मोडिन्छ भन्ने चासो बढाएको छ ।
उम्मेदवारीको संख्या कम भए पनि जित हासिल गर्ने महिलाको संख्या कति हुन्छ भन्ने प्रश्न अहिले नै चर्चामा छ । राजनीतिक दल, मतदाता र राज्य संयन्त्र सबैले महिलाको सहभागितालाई गम्भीरतापूर्वक लिने हो भने आगामी दिनमा लुम्बिनी प्रदेशको राजनीतिक चित्रमा महिलाको भूमिका अझ मजबुत बन्न सक्ने अपेक्षा गरिएको छ ।




