बुटवल । क्लोथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसी सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजनामा सम्पन्न एक कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सामाजिक अभियन्ता समेत रहेका जिसीलाई सम्मान गरेका हुन् ।
समाजसेवा, मानवीय सहयोग तथा विपन्न समुदायको जीवनस्तर उकास्न कपडा तथा खाद्य सहयोग अभियान, राहत वितरण तथा पुनःप्रयोग अभियानमार्फत पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि जीसीले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा पुगेर आवश्यकता अनुसार सहयोग गर्दै आएका छन् ।
कार्यक्रमका संयोजक रमेश दुलालले देशकै उत्कृष्ट पुनःप्रयोग अभियान सफलतापूर्वक सञ्चालन गर्दै समाजप्रति जिसीले पुर्याएको योगदान केवल व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रकै साझा सम्पत्ति भएको बताए। उनका अनुसार कपडा तथा खाद्य पुनःप्रयोग अभियानले वातावरण संरक्षणसँगै मानवीय सेवामा नयाँ सोच र संस्कारको विकास गरिरहेको छ।
समारोहमा बोल्दै वक्ताहरूले जिसीको सामाजिक सक्रियताले हजारौं विपन्न तथा असहाय नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गरे। यस्तो सम्मानले समाजसेवामा समर्पित व्यक्तिहरूलाई थप प्रेरणा र हौसला मिल्ने विश्वास पनि व्यक्त गरिएको छ।
सम्मान ग्रहणपछि जिसीले आफूलाई प्राप्त सम्मान सम्पूर्ण स्वयंसेवक, सहयोगदाता तथा समाजसेवामा विश्वास गर्ने सबैप्रति समर्पित रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले सामाजिक सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।




