पाल्पा (रामपुर) । रामपुर नगरपालिका वडा नं. ७ ले कृषकहरुलाई मिनिटिलर (हाते ट्याक्टर) वितरण गरको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिटिलर वितरण गरेको हो । गाउँघरमा गोरु पाल्न छोडेको र डाँडाभेगमा कृषकहरुलाई खेतबारी खनजोत गर्नै समस्या भएको देखे पछि कृषकको मागका आधारमा मिनिटिलर वितरण गरेको वडा सदस्य मीनबहादुर सिंजालीले जानकारी गराए ।
वडा नं. ७ का वडाध्यक्ष दोवराज तिवारीले बोल्दै माथिल्लो भेगका कृषकका समस्यालाई थोरै भए पनि सम्बोधन गरेको भन्दै आगामी दिनमा पनि यस्ता थप अनुदान सहयोगलाई बढाउने बताए । सीमित स्रोत र साधनका कारण सबैलाई सहयोग गर्न नसकेको भन्दै आगामी योजनामा पनि यस्ता कार्यक्रमलाई बढाउने उनले जनाए ।
वडाबाट २ लाख १० हजार विनियोजन गरी कृषकलाई कृषि औजार दिने भन्ने निर्णय भएअनुसार कृषकको २ लाख १० हजार अनुदान लागत सहभागिता गरी जम्मा ४ लाख २० हजारमा ७ वटा मिनिटिलर कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरको उनले बताए । ६० हजार रुपैयाँ पर्ने औजार ३० हजार कृषक र ३० हजार वडाको गरी ६० हजार मूल्य बराबरको मिनिटिलर कृषकहरु शेरबहादुर पुलामी, मोहोनबहादुर ठाडा, दलबहादुर सिंजाली, तिलबहादुर श्रेष्ठ, गामबहादुर आले, महेन्द्र दिसुवा र भुमबहादुर श्रेष्ठलाई वितरण वडाले गरेको हो ।
वडा नम्बर ७ का वडा सदस्य एंव कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कृषि औजार वितरण कार्यक्रममा वडा सदस्य तथा न्यायिक समिति सदस्य खेमराज अधिकारीले बोल्दै कृषि औजारको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनु पर्ने उललेख गरे ।
कृषक तिलबहादुर श्रेष्ठले कृषकहरुको मागलाई मध्येनजर गर्दै मिनिटिलर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद दिए । कार्यक्रम वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको हो भने सञ्चालन वडा सचिव गीता पौड्यालले गरेकी थिइन् ।




