भैरहवा । नेकपा एमालेबाट रूपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले यस क्षेत्रमा भएको प्रमुख समस्याहरू समाधान गरेर लैजाने बताएका छन् ।
भेटघाटको कार्यक्रममा रहेका उनले भैरहवामा क्रियाशिल प्रेस चौतारी रूपन्देही सम्बद्ध पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेले यहाँ निर्वाचन जितेको बताए । उनले म यहाँको लागि नयाँ नभएकोले यहाँको स्थानीय भएको कारणले समस्याको बारेमा धेरै अवगत रहेकोले अभिभावकत्व भूमिकामा रही निर्वाचनपछि यस क्षेत्रको फोहोरमैला व्यवस्थापन, अन्तर्राष्ट्रिय उडानको निरन्तरताका लागि प्राथमिकताका साथ पहल गर्ने बताए ।
विगतमा तिलोत्तमा नगरपालिकामा स्थानीय तहको नेतृत्व गरेको अनुभव, संघीय सांसदमा ३ वर्ष सांसदले खेल्ने भूमिका निभाएको, विभिन्न संघसंस्था, संगठक, राजनीतिज्ञ, किसान र निजी क्षेत्रको मर्का पीडा बुझेकोले त्यसलाई आत्मसात गर्दै यहाँ भएको समस्या निराकरण गर्न क्षमता राख्ने उनले जनाए ।
जसरी तिलोत्तमा नगरपालिकामा एक कार्यकाल स्थानीय सरकार चलाएर परिवर्तन ल्याई देशकै उत्कृष्ट बनाई विश्वसामु चिनाउन सफल भए, संघीय सांसदको रूपमा रही नीतिगत, विकास, जनताको आवाजलाई मुखारीत गर्ने काम गरेको त्यसरी अब यो क्षेत्रको परिवर्तनका लागि लाग्ने उनले बताए ।
‘प्रतिस्पर्धामा धेरै जना हुनुहुन्छ, उहाँका राम्रा नराम्रा भन्नुभन्दा म आफू यहाँका नागरिकले के चाहँन्छन्, स्थानीय तह, प्रदेश र संघको समन्वय सहकार्य र सहजीकरणको लागि उपयुक्त रहेको छ ।’–उनले भने । यहाँको बाँकीको कामको नेतृत्व गर्ने , अपूरा काम पूरा गर्नेलगायत यहाँको आम नागरिकको समस्या समाधानतर्फ लाग्ने बताउँदै उनले गर्न सक्ने कामसहितको प्रतिबद्धताका साथ आफू आउने भन्दै विगतको जस्तो भद्दा घोषणा पत्र नराख्ने जनाए ।
कृषि, पर्यटन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्नुपर्नेकामहरू मात्रा योजनाबद्ध ढंगले ५ वर्षमा गर्न सकिने काम मात्रा घोषणा पत्रमा राख्ने उनले बताए । यहाँसँग जोडिएको महत्वपूर्ण योजनाअन्तर्गतको ठूलो धनराशी खर्च भयो, तर पूर्ण सञ्चालन हुन सकेको छैन, यसलाई पहिलो प्राथमिकतामा राखेर जसरी पनि छोटो समयमा सुचारू गर्ने जिम्मेवारी रहने उनले जनाए । यस्तै फोहोर व्यवस्थापन, भूमिहिन अव्यवस्थित बसोवासी, रंगशालाको विकास, सौन्दर्यीकरणलगायतको काम गर्दै सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रण गर्न र सन्तुलित विकास गर्न जोडदार योगदान रहने बताउँदै उनले सन्तुलित विकास नभएको कारण यो खालको वितृष्णा आएको हो । यो सबै काम गर्न अधिकार चाहिएकोले त्यसका लागि आम नागरिकले सहयोग गर्ने अपेक्षा रहेको जनाए ।
जनता हालै भएको आन्दोलनले
सचेत भएका छन्, व्यक्तिको विगत हेरेर आम नागरिकले नेता रोज्ने बेला अहिले आएको छ । एक मतले चिरकालसम्म महत्व राख्ने हँुदा त्यही अनुसारको अधिकार प्रयोग गर्न उनले आग्रह गरे ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयर तथा निवर्तमान संघीय सांसद घिमिरे यसअघिको संसदीय निर्वाचन रूपन्देही क्षेत्र नम्बर ५ बाट जितेका थिए । अहिले गृहनगर रूपन्देही–३ बाट उम्मेदवार बनेका उनी राप्रपाका गौरव बोहोरा, नेपाली कांग्रेसका सुशील गुरूङ, रास्वपाका डा. लेखजंग थापालगायतसँग चुनावी मैदानमा छन् ।




