बुटवल ।
कालापानी दुःखेको छ, ओखती गर्न बाँकी छ ।
यो धारा धाम माराको गुराँस फुल्न बाँकी छ ।।
कालो सर्प म¥यो किन्तु हरियो सर्प बाँकी छ ।।
यस्ता थुप्रै कविताका सर्जक रामचन्द्र भट्टराई अब यो संसारमा रहेनन् । भट्टराईको ८४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । बुधबार दिउँसो उनको बुटवल मगरघाटमा दाहसंस्कार भएको छ । दाहसंस्कारमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता, साहित्यकार र पत्रकार सहभागी भए ।
साहित्यको प्रगतिवादी काव्यधाराका एक हस्ती भट्टराईको जन्म वि.सं. १९९८ असोज ५ गते भुवनपोखरी, पाल्पामा भएको थियो । भट्टराईले तीसको दशकको सुरुमा साहित्यिक सुस्केरा मासिक प्रकाशन गरे । साहित्यिक पत्रकारिता हुँदै मुलधारको पत्रकारितामा होमिएका उनी भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णयको सम्पादक भए । अग्रज पत्रकार बालकृष्ण चापागार्इंका अनुसार, उनी विसं. २०३४ देखि २०३९ सम्म दैनिक निर्णयको सम्पादकीय नेतृत्व गरे ।
त्यससँगै उनी तत्कालनी नेकपा मालेसँग आबद्ध भई राजनैतिक आन्दोलनमा पनि संलग्न थिए । त्यसपछि उनले भैरहवाबाट समालोचना साप्ताहिक प्रकाशन गरे । सुरुमा भैरहवामा निस्केको समालोचना बुटवल हुँदै काठमाडौंबाट प्रकाशन भयो । केही समय दैनिक पनि निस्क्यो । त्यसपछि उनको सक्रिय पत्रकारिता रोकिए पनि लेखनमा बिराम लागेन । राजनैतिक, साँस्कृतिक र साहित्यिक विषयमा निरन्तर कलम चलाए ।
उनी पचासको दशकअघि नै मोदनाथ प्रश्रित नेतृत्वमा रहेको राष्ट्रिय जनसाँस्कृतिक महासंघको महासचिव भए । ‘यी दुईको जोडीले जनसाँस्कृतिक आन्दोलनलाई सशक्त बनाएको थियो, उहाँ बोल्दाबोल्दै कविता भन्न सक्ने व्यक्ति हो, कवितालाई गाउन सक्ने व्यक्ति हो ।’–नेकपा एमालेका पूराना नेता नेत्र पन्थी भट्टराईलाई सम्झन्छन् । २०५६ सालमा उनी नेकपा एमालेको तर्फबाट राष्ट्रियसभाको सदस्य भए । वाम राजनीतिमा लागेका उनी माले, एमाले, माओवादी हुँदै एमाले भए । एमाले विभाजन भई माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि उतै लागे । त्यसपछि नेपाली कम्युनिष्ट पार्टी निकट रहेका उनी पछिल्ला दिनमा वाम पार्टीले सोंचेअनुसार काम नगरेको भन्दै निराश देखिन्थे ।
उनले संस्कृत साहित्यमा आचार्यसम्मको औपचारिक शिक्षा पूरा गरेका थिए । विसं. २०१९ मा भाँचिएको तामाफुटकर कविताका माध्यमबाट सृजनायात्रा प्रारम्भ गरेका उनले बोईगीति काव्य-२०३२,हलो कविता संग्रह-२०३७, हृदयका फूलहरू कविता संग्रह-- २०४६, झिङ्गे माछो कविता संग्रह-०४७, सुखानीको रगत गीत संग्रह २०४९, आगोका फूलहरू कविता संग्रह २०६१, सेतो हात्ती कविता संग्रह २०६३, ज्वाला उपन्यास-२०६४ लगायत कृति प्रकाशित छन् ।
राष्ट्रिय कविता महोत्सव-२०३० मा प्रथम स्थान हासिल गरेपछि उनको साहित्यिक यात्रा फराकिलो हुने बाटो खुलेको थियो । प्राप्त गर्न सफल उनी अनेकौँ उनको साहित्यिक योगदानको कदर गर्दै विभिन्न सम्मान तथार पुरस्कारबाट विभूषित थिए । विभुषित गरिएको थियो । उनका तीन छोरा र दुई छोरी छन् ।
साहित्यकार तथा समालोचक ऋषिराम भुसालले भट्टराई साहित्य, पत्रकारिता र राजनीतिको त्रिवेणी भएको बताए । ‘भूमिगत राजनीतिमा गाँसिएर सधैंभरी देश, जनता र जनअधिकारप्रति प्रतिबद्ध जनताको हृदयको गहिराईको एउटा दीप निभ्यो ।’-उनले भने ।
भुसालका भनाइमा संसार जिउँदाहरुको हो, जिउँदाले मरेकाको जीवनमा गरेको योगदानबाट सिक्नुपर्छ । भट्टराईको जीवनबाट धेरै सिक्न लायक विषय छन् ।
युवा पुस्ताका साहित्यकार कविराज पौडेल प्रगतिवादी साहित्यको एउटा धरोहरको अन्त्य भएको बताउँछन् ।
साहित्यकार दिपक विश्वकर्माले भट्टराई जनपक्षीय कवि, प्रखर राष्ट्रवादी प्रगतिशील साहित्यकार भएकोले मुलुकको साहित्यिक आन्दोलनले सशक्त हस्ती गुमाएको बताए ।
अग्रज पत्रकार चापागाईंले सामाजिक रुपान्तरण, लोकतन्त्रको स्थापनाको लागि निरन्तर संर्घषशील भट्टराईको जीवन सम्झन लायक रहेको बताए ।
भट्टराईकी श्रीमती मैया भट्टराईको निधन एक वर्ष अघि भएको थियो । उनको एक महिनाअघि उनको वार्षिकी फरक ढंगले मनाइएको थियो । मैया पनि नेपालको राजनीतिक परिवर्तन, वामपन्थी आन्दोलन र महिला सशक्तीकरणमा जीवनपर्यन्त क्रियाशील थिइन् ।
परम्परागत दानपूजा र भोजभतेर नगरी श्रीमतीको योगदानलाई संस्थागत गर्न भट्टराईले ७ लाख ५० हजार रुपैयाँको ‘मैया–राम प्रतिष्ठान’ अक्षयकोष स्थापना गरेका छन् । श्रीमतीको स्मृति र आफ्नो सम्मानमा आफन्तहरूको सहयोगमा स्थापित प्रतिष्ठानले यस वर्षको पहिलो पुरस्कार रूपन्देहीको राजनीतिक आन्दोलनकी परिचित पात्र विन्दुदेवी लोधलाई प्रदान गरेको थियो ।
पञ्चायती कालमा राजनीतिक सेल्टर दाताका रूपमा चिनिने क्रान्तिकारी योद्धा झ्याउल लोधकी श्रीमती विन्दुदेवी हाल बिरामी भई अस्पतालमा उपचाररत छन् । तराईको कठिन परिस्थितिमा राजनीतिक चेतना जगाउन उनले खेलेको भूमिका र दलहरूले गरेको उपेक्षालाई मध्यनजर गर्दै उनलाई सम्मान गरिएको थियो ।
सो अवसरमा श्रीमतीको सम्झनामा भट्टराईले वाचन गरेको कविताले सहभागीहरूलाई भावुक बनाएको थियो । ‘मैयाको अदम्य साहसकै कारण म राजनीति र साहित्यमा अघि बढ्न सफल भएँ । उनी भौतिक रूपमा नरहे पनि उनको कर्म हामीमाझ जीवित छ ।’-उनले भनेका थिए ।
उनले छन्दमा कविता सुनाउँदा हलमा उपस्थित सबैका आँखा रसाए ।
आधा अंग गयो मेरो, यो आधा अंग बाँकी छ
अपाङ्ग भई जिउने जीवन अझै कति बाँकी छ ?
आमाको दूधको भारा अझैं त्यही तिर्न बाँकी छ
आमाकै निम्ति जिउने दिन कति दिन अझैं बाँकी छ ?
मैया हुन् देशकी दुर्गा सबैको आफ्नो बन्न खोजिन्
वर्गसंघर्षकी साँच्चै अर्धाङ्गिनी बनिन्
जे देखिन सपना उनले त्यो पूरा गर्न बाँकी छ
अँधेरा झुपडीभित्र उज्यालो छाउन बाँकी छ
हुस्यू हटेर हाँसेजस्तो नेपाल हेर्न बाँकी छ
हुस्यू भई बसेका नेपालीको अनुहार फेर्न बाँकी छ
त्यो पूरा गर्नु नै पीण्डदान हुनेछ ।
अहिलेलाई हार्दिक श्रद्धासुमन ।।
कविता वाचन गर्दा सधैँ उनले धेरैलाई कहिले जुरुक्क उचाल्ने त कहिले भावुक बनाएर आँशु खसाल्ने बनाए । अब यो समाजमा भट्टराईको रिक्तता सधैँ रहिरहने छ । हार्दिक श्रद्धाञ्जली जनकवि रामचन्द्र भट्टराई ।




