बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर प्रतिगमन तर्फ लैजानसक्ने आशंका ब्यक्त गरेका छन् ।
बुटवलमा शनिबार प्रगतिशिल पत्रका संघले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिले प्रधानमन्त्री भएको बेला ओलीले संसद बिघटन गरेको कुरा अहिलेपनि गतल हो भन्ने नस्वीकार्ने बताउँदै फेरि पनि संसद विघटन हुनसक्ने आशंका गरेका हुन् । संसद बिघटनले मुलुकलाई फेरि प्रतिगमनमा लैजानसक्ने शंका ब्यक्त गरे । अध्यक्ष केसीले सबै मिलेर प्रतिगमन रोक्नुपर्ने बताए ।
उनले भने, ‘ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेका थिए, त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन्, फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’
कांग्रेस र एमालेले गरेको भनिएको सात बुंदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेको भनेर नेता केसीले प्रश्न समेत गरेका छन् । ‘रातारात गरेको सात बुंदेमा के छ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन् ?’-केसीले भने-‘सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुंदैन ।’
कांग्रेस र एमालेले स्थिरताका लागि नयां सरकार बनाएको भनेपनि सरकार कति दिन टिक्छ भन्ने यकिन नभएको तर्क गरे । कांग्रेस र एमालेले स्थायित्व चाहेको भए २०७९ को चुनावको नतिजा आए लगत्तै सोचेर दुई ठूला दल मिलेर सरकार बनाएको भए हुने तर नबनाएको स्मरण गराए ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेकाले सर्वोच्चले के फैसला गर्ने हो त्यो पनि महत्वपूणर् हुने बताए । विगतमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वर्ग गएपनि संगै, नर्क गएपनि संगै जाने हो, गठबन्धन २०८४ सम्म जान्छ भनेको उल्लेख गर्दै केसीले नयां गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताए ।
‘नेपालको राजनीतिमा सिद्धान्त, इमान जमान छैन, छलकपट,जालझेल मात्रै छ त्यसैले यो सरकार लामो समय टिक्छ भनेर भन्ने अवस्था छैन’- केसीले भने -‘यहां एउटालाई खेलाएर अर्कोलाई गलाउने, अर्कोलाई प्रयोग गरेर अर्कोलाई सिध्याउने आफू जोगिने खेल मात्र हुन्छ ।’
संघीयताले प्रदेशहरुमा वर्षेनी अर्बौं रुपैया खर्च बढाएकाले पनि जनतामा राजनीति र संघीयताप्रति वितृष्णा र निराशा पैदा गरेको दोहोर्याउंदै केसीले दुई ठूला दल मिलेपनि जनतामा उत्साह नभएको बताए । प्रदेशलाई खारेज गरी त्यहां दिइने वजेट र हुने खर्च स्थानीय तहमा दिएमा मात्रै देशमा विकास निर्माणका लागि वजेट पुग्ने केसीले दोहोर्याए ।
प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधि सभामा लिने विश्वासको मतको प्रस्वावको पक्षमा आफ्नो दलले भोट नदिने उनले स्पष्ट पारे ।




