भैरहवा । नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।
आगामी निर्वाचनमा पार्टीको प्रशासनिक र प्रचार प्रसारको काम गर्नका लागि कार्यालय स्थापना गरिएको हो । क्षेत्रीय कमिटीको बैठकले फर्साटिकर र भैरहवामा कार्यालय स्थापना गर्ने निर्णय बमोजिक कार्यालय स्थापना भएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेकातर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार बासुदेव घिमिरेले यस क्षेत्रका मतदाताले एमालेलाई विश्वास गर्ने संकेत स्पष्ट देखिइसकेको दाबी गरेका छन् ।
उनले आफूहरू निर्वाचन जित्नेमा ढुक्क रहेको बताए । घिमिरेले मुलुक र नेपाली जनताले चाहेको मुख्य अपेक्षा सुशासन, भ्रष्टाचारको पूर्ण नियन्त्रण र जनताले तिरेको करबाट उठेको राजस्वको सही सदुपयोग रहेको उल्लेख गरे । यस्ता विषयलाई केन्द्रमा राख्दै जनताका सबै चाहना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
बिगतमा तिलोत्तमा नगरपालिकामा स्थानीय तहको नेतृत्व गरेको अनुभव, संघीय सांसदको रूपमा तीन वर्ष निर्वाह गरेको भूमिकाले आफूलाई सक्षम बनाएको उनको भनाइ छ । विभिन्न संघसंस्था, संगठन, राजनीतिज्ञ, किसान तथा निजी क्षेत्रका समस्या र पीडा नजिकबाट बुझेकोले ती अनुभवलाई आत्मसात गर्दै क्षेत्रका समस्या समाधान गर्न सक्ने क्षमता रहेको उनले बताए ।
घिमिरेले तिलोत्तमा नगरपालिकामा एक कार्यकाल स्थानीय सरकार सञ्चालन गरी परिवर्तन ल्याई देशकै उत्कृष्ट नगरपालिकाको रूपमा चिनाउन सफल भएको र संघीय सांसदको हैसियतमा नीतिगत, विकास र जनताको आवाज मुखरित गर्ने काम गरेको स्मरण गराए ।
अब सोही अनुभवलाई उपयोग गर्दै क्षेत्र नम्बर ३ को समग्र परिवर्तनका लागि लाग्ने प्रतिबद्धता जनाए ।
उनले अपुरा काम पूरा गर्ने, बाँकी विकासका कार्यको नेतृत्व गर्ने र आम नागरिकका समस्या समाधानमा केन्द्रित रहने उनले बताए ।
घिमिरेले कृषि, पर्यटन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पाँच वर्षभित्र गर्न सकिने योजनामात्र घोषणापत्रमा समावेश गरिने बताए ।
यस क्षेत्रसँग जोडिएका महत्वपूर्ण योजनामा ठूलो रकम खर्च भए पनि पूर्णरूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै ती योजनालाई पहिलो प्राथमिकतामा राखी छोटो समयमा सुचारू गर्ने जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्र नम्बर ३ की इञ्चार्ज गुमादेवी आचार्यले एमालेले गरेको विकास कार्य सबैले नजिकबाट देखेको बताइन् । देशलाई समग्र रूपमा मिलाएर अगाडि बढाउन सक्ने पार्टी एमाले भएको दाबी गर्दै बहुमतको सरकार बन्ने सम्भावनालाई खण्डन गर्नेहरूलाई व्यवहारबाटै जवाफ दिइने बताइन् । उनले एमाले हरेक हिसाबले अझ सशक्त र मजबुत बनेको दाबी गरिन् ।




