गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा रहेको देवीस्थान माध्यमिक विद्यालयमा आफ्नो स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको नाममा रु.५ लाखको अध्यक्षकोष कार्कीले स्थापना गरेका हुन् ।
यो अक्षयकोषबाट प्राप्त ब्याजबाट वार्षिकरुपमा स्कुलमा अध्ययनरत दुईजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने स्कुलका व्यवस्थापन समितिका अध्यक्ष गोरखबहादुर अर्याल बताए ।
विद्यालयको ५४औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा महानिरीक्षक कार्कीले अक्षयकोष स्थापना तथा विद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि डिजिटल स्मार्ट बोर्ड आफ्नी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीद्वारा हस्तान्तरण गरेको विद्यालयका प्राध्यानापक खिमबहादुर बुढाथोकीले जानकारी दिए ।
महानिरीक्षक कार्कीको बुवाको पहलमा वि.स. २०२८ सालमा स्थापना भएको यो स्कुल हाल कक्षा १२ सम्म (माध्यमिक तह) सम्म पढाइ हुने गरेको छ ।
करिव ५ सयभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने यो विद्यालयलाई सूचना प्रविधिसँग जोड्न र विद्यार्थीहरुको मनोबल उच्च राख्न महानिरीक्षक कार्कीले गरेको पहल उच्च प्रंशसनीय भएको विद्यालयका सूचना प्राविधिक शिक्षक बुद्धिनाथ पाण्डेले बताए ।




