बुटवल ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि कांग्रेसका सबैले साथ दिने बताए । उनले कांग्रेसका सांसदहरू उभिएर समर्थन गरेकै कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा कांग्रेस नलाग्ने बताए ।
उनले सरकारले गर्ने कमजोरीमा आफूहरू मौन नबस्ने बताए । उनले सरकार बनाउन १ सय ३८ भए पुग्ने भए पनि संविधान संशोधनका लागि १ सय ८४ सांसद संख्या चाहिने भन्दै सबै राजनीतिक दलहरूलाई सँगै लिएर अघि बढ्न अहिलेको सरकारले सक्नुपर्ने बताए ।
कांग्रेस र एमालेले नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लैजानुपर्नेमा शर्माले जोड दिए । महामन्त्री शर्माले प्रतिपक्षी दलहरू संसदमा सरकारका कामकारबाहीप्रति खरो रूपमा उभिनुपर्ने बताए ।
शर्माकाे भनाइ :
नेपालको सन्दर्भमा हामी अहिले वैकल्पिक राजनीति भन्दै गर्दा कम्युनिस्ट दर्शनले परिकल्पना गरेको चिज आजको सन्दर्भमा आउँदै गर्दा कहीँ न कहीँ मदन भण्डारीले भन्नुभएको बहुदलीय जनवादको बाटोमार्फतबाटै रुपान्तरणमा जाँदै गर्दा कम्युनिस्ट आन्दोलनले त्यो अपनाउँदा नेपालको समुन्नतिको सन्दर्भमा एउटा योगदान हुन्छ ।
अर्को बिर्सिनु नहुने तथ्य नेपालको कम्युनिस्ट आन्दोलनले बेला बेला अलि धङ्धङ्तीमा हुनुपर्छ वा बौद्धिकतामा हुनुपर्छ, वा आवेग, विचारमा हुनुपर्छ । के भनिदिनुहुन्छ भने कम्युनिस्ट आन्दोलनको निर्धारित कार्यभार पूरा भएको छैन । कार्यभार पूरा हुँदै गर्दा अमूर्त प्रकृतिको समाजवादको परिकल्पना बन्ने भन्दा नयाँ प्रकृतिको समाजवादको परिकल्पनामा जानुपर्छ भनेर डा. भट्टराईले भन्नुभएको सन्दर्भ यो पुस्तकमा रहेको छ । यो बेलामा नयाँ सरकार बनेको छ ।
नेपाललाई एउटा नवीन सम्भावनाको बाटोमा लिएर जाँदै गर्दा दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्षीय स्वर पो कमजोर हुन्छन् कि भनेर आम बौद्धिक क्षेत्रमा चिन्ता छ । प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बन्छ । बन्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि बन्नुपर्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउनका लागि हामी कांग्रेसका सबैले नै साथ दिन्छौँ । तर उत्तिकै खरो भूमिकाका साथ प्रधानमन्त्रीजीलाई कुनै छुट हुनेछैन कि कांग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएका छाैँ ।
त्यसकारण तपाईंको बारेमा विगतमा उठाएका मुद्दा सबै थान्को लगाउँछौँ, त्यो बिल्कुल होइन । उहाँको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ, त्यो पनि हुँदैन । दुई दलले हेक्का राख्नुपर्ने विषय यो छ कि, हामी दुई दल नै मिलेर सरकार बनाउन सक्छौँ, १ सय ३८ भए पुग्छ, तर संविधान बदल्न, संशोधन गर्न १ सय ८४ चाहिन्छ । सबैको साथमा राम्रो सहकार्य गरेर जानसक्ने क्षमता अहिलेको नेतृत्वले गर्नुपर्छ ।’




