भैरहवा । रूपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले निर्धक्क भएर निर्वाचन गर्न सकिने बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै एसपी शाहीले प्रहरीसँग भएको सीमित स्रोत, साधान र जनशक्तिसहित अधिकतम प्रयासले सुधार गर्न प्रतिबद्ध रहने बताए । उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने भन्दै उद्योगी–व्यवसायी र आम नागरिक निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सकिने वातावरण निर्माण हुने बताए ।
उद्योगी–व्यवसायीको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको प्रमुख दायित्व भएको स्पष्ट पार्दै उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रहरीले कुनै सम्झौता नगर्ने जनाए ।
प्रहरी उपरीक्षक शाहीले उद्योगी–व्यवसायीले उठाएका सुरक्षा, तस्करी, धम्की र अवैध गतिविधिसम्बन्धी विषयप्रति प्रहरी गम्भीर रहेको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने दृढता व्यक्त गरे ।
“उद्योगी–व्यवसायीलाई धम्की दिने, असुरक्षा सिर्जना गर्ने वा गैरकानुनी कार्यमा संलग्न व्यक्तिलाई कुनै हालतमा छुट दिइँदैन,” उनले भने–“जिल्ला प्रहरी कार्यालय रूपन्देही शान्ति–सुरक्षामा कडाइका साथ अघि बढिरहेको छ ।”
खुला सिमानाका कारण देखिएका तस्करी, लागुऔषध कारोबार र आपराधिक गतिविधिप्रति विशेष निगरानी बढाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक शाहीले बजार क्षेत्र, उद्योग क्षेत्र र संवेदनशील स्थानमा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइने, नगरको सिसी टिभीलाई थप व्यवस्थित गर्ने बताए ।
उद्योगी–व्यवसायी र प्रहरीबिच नियमित संवाद, सूचना आदान–प्रदान र सहकार्यलाई प्राथमिकतामा राख्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।
छलफलको क्रममा प्रहरी उपरीक्षक शाहीले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रहरी र उद्योग वाणिज्य संघबिच निरन्तर समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गर्दै निजी क्षेत्रको सकारात्मक सल्लाहमा आफू चल्ने स्पष्ट पारे ।
संघका अध्यक्ष नेत्र आचार्यले व्यवसायिक रूपमा रूपन्देहीको अवस्थाबारे जानकारी गराउँदै खुला सीमाले निजी क्षेत्र मारमा परेकोले व्यवस्थित गर्नुपर्ने बताए । ४ हजार व्यवसायी सदस्य रहेको संस्थामा सबै प्रकृतिका सदस्य रहेकोले खुला सिमाना नै मुख्य चुनौती रहेकोले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको बताए । सही व्यवसायीसँग हामी प्रतिबाध गर्ने, तर गलत व्यवसायी र अवैध कारोबारीलाई हामीले समर्थन नगरी प्रहरीलाई साथ दिने बताए ।
छलफल कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले उद्योगी–व्यवसायीले दैनिक रूपमा भोग्दै आएका चोरी–डकैती, जबरजस्ती चन्दा असुली, ठगी तथा सुरक्षासम्बन्धी समस्याले व्यापारिक वातावरण प्रभावित हुँदै गएको बताए । यस्ता समस्याको समाधानका लागि प्रहरी र व्यवसायीबिच नियमित संवाद, सूचनाको आदान–प्रदान र तत्काल प्रतिक्रिया प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।
पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुप्रसाद शर्मा, महेन्द्र श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठलगायतले खुला सिमाना, भीडभाडयुक्त बजार क्षेत्र र बढ्दो शहरीकरणका कारण व्यवसायीहरू असुरक्षाको अनुभूति गर्न बाध्य भएको, शान्ति–सुरक्षा मजबुत नहुँदा लगानी घट्ने र उद्योग–व्यवसाय विस्तारमा नकारात्मक असर पर्ने भन्दै उद्योग र व्यापारमैत्री सुरक्षा नीति आवश्यक रहेको, साना तथा मध्यम व्यवसायीका समस्या सुन्ने र छिटो समाधान गर्ने संयन्त्र निर्माण गर्नुपर्ने, उद्योगी–व्यवसायी र प्रहरीबिच आपसी विश्वास र सहकार्य बलियो बनाउनु पर्ने, खुला सिमानाका कारण यहाँका युवा युवती लागुऔषध दुव्र्यसनीमा फसेको र पेसेवर रूपमा लागुऔषधको कारोबारमा संलग्न व्यक्तिको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरे ।




