दाङ
लुम्बिनी प्रदेशको मुकाम राप्ती उपत्यका समेत रहेको दाङ निर्वाचन क्षेत्र नम्बर १ मा आगामी चुनाव पेचिलो बनेको छ ।
२०७९ को चुनावमा कांग्रेससहितको पाँच दलको गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले विजय हासिल गरेको यो क्षेत्रमा अहिले नेकपाबाट चौधरीसहित, नेकपा एमालेका रेवतीरमण शर्मा, नेपाली कांग्रेसका योगेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित १४ चुनावी मैदानमा छन् ।
नेकपाबाट चौधरीले नै टिकट पाएपछि असन्तुष्ट बनेको पूर्व माओवादी समूहले पूर्व मुख्यमन्त्री केसीलाई उम्मेदवार बनाएपछि र राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति पछि यहाँको चुनाव पेचिलो भएको हो ।
पूर्व मुख्यमन्त्री केसी यो क्षेत्रमा आफूले टिकट पाउनुपर्ने भन्दै लविङ गरेका थिए, तर माधव नेपालले चौधरीको पक्षमा अडान नछाडेपछि केसीले टिकट हात पार्न सकेनन् । पार्टीभित्रै कमजोर रहेका चौधरीलाई बोक्न पूर्व माओवादी पंक्ति तयार नभएपछि केसी अघि सरे, जसले गर्दा नेकपाको भोट बैंक विभाजित हुने देखिन्छ ।
चौधरीले एमालेकी शान्ता चौधरीलाई ५ हजार ८३ मतान्तरले पछि पार्दै निर्वाचित भए । चौधरीले २६ हजार ५ सय ७६ मत प्राप्त गरे भने एमालेकी शान्ता चौधरीले २१ ह्जार ४ सय ९३ मत ल्याएकी थिइन् । रास्वपाका उम्मेदवार देवराज पाठक उतिबेला पनि उम्मेदवार थिए ।
उनले १३ हजार ७ सय ९८ मत पाएका थिए । २०७४ सालको निर्वाचनमा एमाले र माओवादीबिच गठबन्धन हुँदा मेटमणि चौधरी एमालेबाट उम्मेदवार थिए । उनले कांग्रेसकी सुशीला चौधरीलाई १३ हजार ८ सय ३४ मतान्तरले पछि पार्दै ३७ हजार ९ सय ८ मत पाएका थिए । एमालेबाट उम्मेदवार बनेका रेवतीरमण शर्मा २०७४ को प्रदेश सभा निर्वाचन क्षेत्र १(२) बाट ६ हजार ५ सय ९२ मतान्तरले कांग्रेसका जानकीलाल बस्नेतलाई पछि पार्दै निर्वाचित बनेका थिए ।
निर्वाचन क्षेत्र नं. १ मा अहिले १ लाख ४० हजार एक मतदाता छन् । २०७९ मा १ लाख ३४ हजार ७ सय ३३ मतदाता थिए । अहिले यहाँ ५ हजार २ सय ६८ मतदाता थपिएका छन् । २०७९ मा यो निर्वाचन क्षेत्रको समानुपातिक निर्वाचन प्रणालीअनुसार सबैभन्दा धेरै नेकपा एमालेले मत पाएको देखिन्छ । एमालेले १७ हजार ९ सय ६९, नेपाली कांग्रेसले १५ हजार ६७, नेपाली कम्युनिष्ट पार्टीले ११ हजार ४ सय ५२, रास्वपाले ११ हजार ४ सय १० मत प्राप्त गरेका थिए ।
एमालेका रेवतीरमण शर्मा देउखुरीका स्थापित नेता हुन् । उनी २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । सरल, शालिन र स्वच्छ छविको पहिचान बनाएका उनले मतदाताको घर–घरमा पुगेर धारणा बुझ्ने प्रयास गर्दैछन् । कांग्रेस उम्मेदवार सह–महामन्त्री चौधरी थारू विजय गच्छदारको फोरम लोकतान्त्रिक हुँदै कांग्रेस प्रवेश गरेका नेता हुन् । उनले कांग्रेसको स्थानीय पंक्तिलाई रिझाउने प्रयास गर्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठकले अरु उम्मेदवार र दललाई पूराना भन्दै मत मागिरहेका छन् । यो क्षेत्रमा रास्वपाले पाउने मतले नै कांग्रेस एमालेको जित हार निर्धारण गर्ने आँकलन गरिंदैछ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय विसी, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाश शाही,राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, मंगोल नेशनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, नेशनल रिपब्लिक नेपालबाट मिनबहादुर ठेडी मगर, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, मालिकराम यादव, आम जनता पार्टीबाट सीताराम यादव चुनावी मैदानमा छन् ।
विगतका धेरै निर्वाचन कांग्रेसले जित्दै आएको क्षेत्र
यो क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएका ६ निर्वाचनमध्ये चार निर्वाचनमा जित हात पारेको छ । थारु समुदायको बाहुल्य यो क्षेत्रमा कांग्रेसले २०४८, २०५१, २०५६ र २०७० का निर्वाचनमा जितेको छ ।
२०४८ को निर्वाचनमा कांग्रेस उम्मेदवार हरिप्रसाद चौधरीले जित्दा एमाले उम्मेदवार अशोककुमार चौधरी निकटतम प्रतिस्पर्धी भए । २०५१ मा पनि हरिप्रसादले नै जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुनारायण चौधरी निकटतम प्रतिद्वन्द्वी भए । २०५६ मा कांग्रेसबाट खुमबहादुर खड्काले जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका परशुनारायण चौधरी निकटतम प्रतिद्वन्द्वी भए ।
तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरी संसदीय राजनीतिमा प्रवेश गएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार इन्द्रजित थारु विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खड्का भए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार पार्वती डिसी चौधरीले निर्वाचन जित्दा एमालेका उम्मेदवार रेवतीरमण शर्मा घिमिरे निकटतम प्रतिद्वन्द्वी भए । दोस्रो संविधानसभाले २०७२ मा संविधान जारी र्गयो । त्यसपछि पाँच निर्वाचन क्षेत्र रहेको दाङमा निर्वाचन क्षेत्र घटेर तीनवटामा झरे । त्यसपछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबिच गठबन्धन भयो । त्यो गठबन्धनबाट एमाले नेता मेटमणि चौधरी र कांग्रेस उम्मेदवार सुशीला चौधरीबिच प्रतिस्पर्धा भयो । मेटमणिले जित्दा सुशीला निकटतम प्रतिद्वन्द्वी भइन् ।
२०७९ मा भएको निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भयो । त्यो क्षेत्र एकीकृत समाजवादीको भागमा प¥यो । गठबन्धनबाट उम्मेदवार बनेका मेटमणि चौधरीले जिते ।
यस्ता छन् एजेण्डा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवारले नीतिमा सुधार गर्दै देउखुरीको साझा, समग्र र सन्तुलित विकासको एजेण्डा मुख्य रुपमा अघि सारेका छन् । यद्यपी लिखित प्रतिबद्धताहरु अझैं सार्वजनिक नभए पनि सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले राजनीतिक स्थिरता कायम गर्दै देउखुरीको समग्र विकासलाई मुख्य एजेण्डा बनाउने सुनाए । नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले नीति निर्माणलाई प्राथमिकता दिँदै सन्तुलित विकासको एजेण्डा प्रमुख रुपमा अघि बढाउने जनाए ।
नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरीले देउखुरीको राप्ती नदी तटबन्ध, सडक पूर्वाधार र सिँचाइ क्षेत्रमा सुधार गर्ने एजेण्डा अघि सारे । रास्वपाका उम्मेदवार देवराज पाठकले नीति निर्माण गर्दै त्यसलाई सही कार्यान्वयन, देउखुरीको चौतर्फी विकासलाई एजेण्डालाई अघि सारे । राप्रपाका विनय विसीले राजसंस्थाको पुनःस्थापनाको बिषय नै आफ्नो एजेण्डा रहेको सुनाए । स्वतन्त्र उम्मेदवारी दिएका कुलप्रसाद केसीले प्रदेशको राजधानीसँग आफ्नो विकास मोडेललाई जोडे । नेकपा माओवादीका उम्मेदवार प्रकाश शाहीले ३० वर्षसम्म राम्रोसँग काम हुन नसकेको, अब त्यसलाई सुधार्न युवा नेतृत्व आवश्यक रहेको, सुधारका योजनाहरु नै आफ्ना एजेण्डा भएको सुनाए ।




