रविन्द्र प्रताप गुप्ता
भैरहवा
नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारमार्फत् स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडास्तरमा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई सामान्य उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजनलगायतका सेवा घरदैलो नजिकै उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्रहरु स्थापना गरिएको हो । तर, यी स्वास्थ्य केन्द्रहरुमा भने अपेक्षित रुपमा सेवाग्राहीले सेवा लिएका छैनन् ।
वडा तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेकै अवस्थामा पनि भैरहवास्थित जिल्ला अस्पताल (भीम अस्पताल) लगायत यहाँका निजी क्लिनिक तथा ठूला अस्पतालहरूमा बिरामीको भिड घट्न सकेको छैन । त्यसको साटो दैनिक सयौं बिरामी उपचारका लागि भीम अस्पताल लगायत यहाँका ठूला अस्पताल र क्लिनिकहरुमै पुग्ने गरेका छन् । सरकारी अस्पतालमा पनि सीमित जनशक्ति र स्रोतसाधन हुँदा यहाँ बिरामीको चाप बढ्नेबित्तिकै निश्चिय पनि चुनौती थपिन्छ ।
१३ वटा वडाहरु रहेको सिद्धार्थनगर नगरपालिकामा हाल ९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । वडा नम्बर १, ३, ४, ५, ६, ७, ९, १० र ११ मा रहेका केन्द्रहरुबाट सेवा दिइँदै आएको छ । वडा नम्बर २, ८, १२ र १३ मा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेका छैनन् । सञ्चालनमा रहेका ती केन्द्रबाट दैनिक औसत १५ देखि १८ जनासम्म सेवाग्राहीले सेवा लिंदै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख माधवप्रसाद ज्ञवालीका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमार्फत् रोकथाममूलक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवा निःशुल्क प्रदान गरिंदै आएको छ । परिवार नियोजन, खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा तथा सामान्य उपचार सेवा यी केन्द्रका मुख्य कार्यक्रम हुन् ।
हरेक स्वास्थ्य केन्द्रमा सामान्यतया दुईजना प्राविधिक कर्मचारी (अहेब र अनमी) र एकजना कार्यालय सहयोगी गरी तीनजनाले सेवा दिइरहेका छन् । यद्यपी वडा नम्बर ५ मा भने अनमी र कार्यालय सहयोगी गरी दुईजनाले मात्र सेवा दिइरहेका छन् । ती सबै कर्मचारी अस्थायी करार दरबन्दीमा कार्यरत छन् । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म यहाँबाट सेवा प्रदान हुँदै आएको छ ।
नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आमा समूह, विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको ११ वा १२ गते नियमित खोप सेवा प्रदान हुँदै आएको छ । त्यस्तै परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा सामान्य चिकित्सा सेवा दैनिकरूपमा उपलब्ध छ । मलेरिया रोगको शंका देखिएमा घरमै पुगेर सेवा दिने, समुदायलाई सचेत बनाउने कार्यक्रमसमेत सञ्चालनमा छ ।
रक्तचाप परीक्षण, शरीरको तौल नाप्नेलगायत सामान्य उपचारका लागि अस्पताल जान नपर्ने अस्पतालसम्म पुग्न नपर्ने स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ज्ञवालीले बताए । सामान्य उपचार सेवाका लागि नजिकको स्वास्थ्य केन्द्रमा पुग्न उनले आग्रह गरे । ‘वडास्तरमै पुगेर सामान्य उपचार सेवा लिन सकिए अस्पतालहरुमा बिरामीको चाप पनि घट्छ ।’–उनले भने ।
पोषण कार्यक्रमअन्तर्गत ५ वर्षमुनीका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण, घरघरमा पुगेर तौल जाँच, (स्क्रिनिङ) अभियान सञ्चालन भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती जाँच, सुत्केरीपछि तेस्रो दिन र ७ देखि १४ दिनभित्र थप एकपटक गरी जम्मा दुईपटक घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिंदै आएको छ । ज्वरो, रुघाखोकी, पखाला, प्रेसर जाँच, घाउचोट, दाँत दुख्ने, मुख सुन्निने जस्ता सामान्य उपचार सेवा पनि केन्द्रबाटै दिइन्छ ।
स्वास्थ्य केन्द्रमा हाल ८९ किसिमका औषधि सूचीमा रहे पनि खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया र परिवार नियोजनबाहेकका ५१ किसिमका औषधि उपलब्ध छन् ।
सिद्धार्थनगरका अधिकांश वडा बजार क्षेत्रमै पर्छन् । जिल्ला सदरमुकाम भएकाले यहाँ जिल्ला अस्पताल, निजी अस्पताल तथा क्लिनिकहरूको संख्या पनि उल्लेख्य छ । विशेषज्ञ सेवा लिनुपरे सरकारी भन्दा केही खर्चिलो भए पनि ठूला अस्पतालमै जाने प्रवृत्ति छ । सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वासको कमी र ‘ठूलो अस्पतालमै राम्रो उपचार हुन्छ’ भन्ने मानसिकता पनि स्वास्थ्य केन्द्र उपयोग नबढ्नुको प्रमुख कारण मानिन्छ । तथ्यांकले पनि यो कुराको पुष्टी गर्छ । नगर स्वास्थ्य प्रणालीमा डाटा इन्ट्री भएका आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र नगरभित्र सञ्चालित करिब ४० वटा अस्पतालबाट गत आर्थिक वर्ष २०८१-०८२ मा कूल ४ लाख ८२ हजार ८ सय ८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । तर, तीमध्ये नगरपालिकाले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिनेको संख्या २१ हजार ६ सय ९६ मात्र छ ।
स्थानीय तहले स्वास्थ्य सेवा पहुँच विस्तारमा लगानी बढाए पनि सेवा उपयोग र विश्वास अभिवृद्धि नहुँदा ठूला अस्पतालमा बिरामीको भीड यथावत् देखिन्छ । स्वास्थ्य केन्द्रको सेवा गुणस्तर, जनशक्ति, औषधि उपलब्धता र जनविश्वास एकैसाथ सुधार नगरेसम्म ‘घर नजिकै उपचार’ को अवधारणा व्यवहारमा पूर्णरूपमा लागू हुन कठिन देखिन्छ ।
भीम अस्पतालमा दैनिक पाँच सय जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पताल प्रमुख डा. वर्षा थापाले जानकारी दिए । अस्पतालका अनुसार गत आर्थिक वर्ष २०८१-०८२ मा यहाँबाट १ लाख २० हजारभन्दा बढीले बहिरंग (ओपीडी) सेवा लिएका थिए । त्यस्तै आ.व. २०८०-८१ मा १ लाख १२ हजार ८ सय ४५, आ.व. २०७९-०८० मा मा ९० हजार र आ.व. २०७८-२०७९ मा ६३ हजारले ओपीडी सेवा लिएका थिए ।
विगत ४ वर्षको तथ्यांकले सेवाग्राहीको संख्या क्रमशः बढेको देखिन्छ । यसले प्राथमिक तहको सेवा विस्तार भए पनि अस्पतालको भार घट्न नसकेको स्पष्ट हुन्छ । यहाँका ठूला अस्पतालहरुमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र सिद्धार्थनगर सिटी हस्पिटलमा पनि बिरामीको चाप नै छ । भीम अस्पतालमा आ.व. २०७७-०७८ सालदेखि स्वास्थ्य बीमा सुरुवात गरिएको थियो ।
स्वास्थ्य बिमा, विशेषज्ञ सेवा, २४ संै घण्टा सेवालगायतका कारण पनि अस्पतालमा सेवाग्राहीको घुँइचो हुने गरेको अस्पतालले जनाएको छ ।
सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पतालमै जानबाट रोक्नका लागि वडास्थित आधारभूत स्वास्थ्य केन्द्रहरुमा पाइने सेवाहरुको बारेमा नागरिकलाई सूचना पु¥याउनुपर्ने र सरकारी अस्पतालमा विश्वास दिलाउनका लागि सम्बन्धित निकायले बुझाउन सक्नुपर्ने अस्पताल प्रमुख डा. थापाको भनाइ छ । ‘यसो गर्न सके सामान्य उपचारकै लागि भीम अस्पतालमा आउने बिरामीले स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार लिने अवस्था सिर्जना हुने र अस्पतालमा भीड घट्ने थियो ।’–उनले भने ।
अस्पतालमा र स्वास्थ्य केन्द्रमा के का लागि जाने भन्ने सूचना सम्प्रेषण गर्न सके सेवाग्राही र सेवा प्रदायक संस्था दुवैलाई सहज हुने डा. थापाको भनाइ छ ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा दैनिक १ सयजनाले ओपिडी सेवा लिने गरेको प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार सामान्य किसिमका बिरामीभन्दा पनि विशेषज्ञ सेवा लिनका लागि बिरामी यहाँ आउने गरेका छन् । जनमानसमा अझै पनि स्वास्थ्यको विषयमा अस्पतालमै जाऔं र विशेषज्ञ सेवा लिऔं भन्ने धारणाले बिरामीहरु आएको बुझिन्छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बसन्त भट्टराईले वडामार्फत् विभिन्न सचेतना कार्यक्रम गरिएको र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाका बारेमा वडावासीलाई जानकारी नभएको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले वडा नम्बर ९ को ६ वटा क्षेत्रमा (प्रतिक्षेत्रमा) २–२ जनाको दरले १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु घरदैलोमा खटिरहेको जनाए ।
ज्येष्ठ नागरिकलाई वर्षको एकपटक घरमै बसेर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । समयसमयमा विभिन्न संघ–संस्थाहरुले वडास्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनले बताए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर ९ को इञ्चार्ज सिनियर अनमी निरीक्षक सरिता पाण्डेका अनुसार औसतमा दैनिक ३५ जना सेवाग्राही यहाँ आउने गरेका छन् । यहाँबाट विशेष गरी निःशुल्क औषधि वितरण, परामर्श, रिफर, प्राथमिक उपचार सेवा, घरभेट कार्यक्रम बढी गरिएको जानकारी दिए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल वृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवालगायतका सेवा उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिलका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । सामान्य स्वास्थ्य समस्या र परामर्शका लागि अस्पताल-क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र वडावासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उनले जनाए । उनले स्वास्थ्य केन्द्रबाट वडा-नगरवासी मात्रै नभइ अन्य पालिकावासीले पनि सेवा लिन सक्ने बताए । आधारभूत स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाटै दिने व्यवस्था रहेको उनको भनाइ छ ।
भैरहवामा अस्पतालका साथै धेरै निजी क्लिनिकहरू छन् । धेरैलेछोटो समयमै परीक्षण, निजी चिकित्सकको पहुँच, सुविधा-सुविधाजनक सेवा, बिदाको दिन पनि सेवा, जस्ता कारणले बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । ‘छोटो समय, छिटो उपचार’ यसले पनि सरकारी अस्पतालको भीड घट्न नदिएको छ, किनकि निजी सेवाले ‘छोटो समय, छिटो उपचार’ भन्ने बुझाइ रहेको देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा अधिकारीले प्राथमिक र सामान्य उपचारका लागि वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको बताइन् । उनले कार्यालय समयमा मात्र सेवा प्रवाह हुने कारणले पनि बिरामी अस्पतालमा पुगेको हुन सक्ने जनाइन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत् खोप लगाउने, सुत्केरी महिलालाई परामर्शलगायतका सेवा घरघर पुगेर प्रदान गरिरहेको बताइन् ।
सार्वजनिक बिदाको दिन बन्द हुनु, खुलेको दिन पनि कार्यालय समयमा मात्र उपचार सेवा उपलब्ध हुनु, विशेषज्ञ सेवा प्रदान नहुनु, जनशक्तिको अभाव औषधिको अभाव (सरकारी नियम अनुसार टेण्डर प्रक्रिया र औषधी आउनमा ढिलाइ भएकोले कारणले समयमै स्वास्थ्य केन्द्रमा औषधि पुग्न नसक्नु) वडास्तरमा रहेको आधारभूत स्वास्थ्य केन्द्रप्रति जनतालाई विश्वस्त नगर्नुका कारण सेवाग्राहीहरु अपेक्षित रुपमा यहाँ बिरामी पुग्न सकेका छैनन् । जसका कारण अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा छ ।
सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले वडास्तरमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाबारे वडा तहमा सबै नागरिकलाई जानकारी गराउनुपर्ने बताए । यसो गर्न सकिए अस्पतालमा बिरामीको चाप घट्ने भण्डारीको भनाइ रहेको छ ।




