बुटवल । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ बुटवलमा आयोजना गरिएको वनभोज तथा सम्मान कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देही पुल तथा स्नूकर संघ र खस्यौली स्नूकर क्लब बुटवल, रुपन्देहीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

बुटवल–५, दीपनगरस्थित हिलपार्क साइड (बाजे बजै थान) मा सम्पन्न कार्यक्रममा करिब एक हजार जनाको सहभागिता रहेको थियो। कार्यक्रममा पुल तथा स्नूकर खेलको विकास, प्रवर्द्धन र संगठन सुदृढीकरणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रममा युवा समाजसेवीहरु महेशमान सिंह, महेश थैब, मोहन ठाकुर, लाल बहादुर खत्री, कमल जंग कुँवर, खेलराज पाण्डे, चुन्न प्रसाद पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मदन ज्ञवाली, नबिन खाती, गणेश घिमिरे, सुजन पुन, तोयाराम पौडेल, शिशिर गुरुङ, विजय गुरुङ र हिरा मल्ललाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक विजय गुरुङका अनुसार खेलकुदसँगै आपसी सद्भाव, एकता र संगठनात्मक मजबुती कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रुपन्देही पुल तथा स्नूकर संघका महासचिव प्रकाश क्षेत्री, उपाध्यक्षहरू बासु प्रधान र नबिन गुरुङ, कोषाध्यक्ष अमिन थापा, सचिव प्रदीप बी.के.को उपस्थिति रहेको थियो। यस्तै सल्लाहकारहरू प्रमोद थापा, सुरज माकाजु र तारा रेशमी मगरलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा रुपन्देही पुल तथा स्नूकर संघका अध्यक्ष सुजन पुनले यस्ता कार्यक्रमले खेलाडीहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ खेलाडी उत्पादन र खेलकुदको संस्थागत विकासमा टेवा पुग्ने बताए। उनले भने, “खेलकुदलाई केवल प्रतिस्पर्धाको रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्नुपर्छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ निरन्तरता दिइनेछ।”
आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, खेलाडी र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरेका छन्।





