बुटवल
७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।
पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रूकुम पश्चिमको एक गाउँपालिका छन् ।
रूकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन्
।
उप–महानगरमा बुटवल अगाडि
देशभरिका ११ उप–महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उप–महागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।
जसअनुसार सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उप–नगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।
दाङका दुई उप–महानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उप–महानगरले ४९.७६ अंक पाएको देखिन्छ ।
धनगढीले ५६.६०, नेपालगञ्जले ५६.४५, हेटौंडाले ५४.१३, जनकपुरले ५१.५८,धरानले ४९.७६, कलैयाले ४९.५७, जितपुर सिमराले ४८.३९ र इटहरीले ३८.९६ अंक पाएका छन् ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८१-८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरूजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ ।
धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक पाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक पाएको आयोगले जनाएको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिकाले ३५.४१ अंक पाएको देखिन्छ । सोही जिल्लाको वृन्दावन नगरपालिकाले ३१.६९ अंक पाएको छ । सोही जिल्लाको देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक पाएको छ । पर्साको धोबिनी गाउँपालिकाले ३२.८८ अंक पाएको देखिन्छ ।
महानगरमा काठमाडौं सबैभन्दा कमजोर
देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।
सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगरपालिका रहेको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ ।
चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं स्थानमा छ ।




