बुटवल । नेकपा एमाले प्रगतिनगर टोल कमिटी बुटवल ११ को चुनाव लक्षित भेला सम्पन्न भएको छ । भेलाले क्षेत्र नं २ मात्र नभई सिंगो रुपन्देही जिल्लालाई पुर्वाधार विकासमा नमूना बनाउन यस क्षेत्रका उम्मेदवार एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निकै ठूलो मेहनत र योगदान रहेकाले उनलाई यसपटक पनि जिताउनुपर्ने निर्णय गरेको छ । सो भेलालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले आफूले जनताको माग अनुसारका योजना छनोट गर्ने र वजेटको व्यवस्था गरेर रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाएको सबैले देखेकाले कामको मूल्याङकन गरेर कसलाई मत दिने भन्ने निर्णय गर्न आग्रह गरे । सामाजिक सञ्जालले फैलाएका भ्रमको पछि नलागेर क्षेत्रका मतदाताले काम हेरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको पौडेलले बताए । प्रगतिनगर क्षेत्रको वस्तीलाई सुरक्षित बनाउन तिनाउ नदी किनारको भागमा तटबन्धलाई निरन्तरता दिने र विभिन्न धर्म, सम्प्रदायमा आस्था राख्ने सबैका माग सम्बोधन गर्ने आफ्नो प्राथमितामा रहेको उम्मेदवार पौडेलले बताए । कार्यक्रममा टोल कमिटी अध्यक्ष टेकबहादुर गुरुङ,निर्वाचन प्रचार प्रसार संयोजक ठाकुरप्रसाद गैरे,नेता बीरबहादुर कुंवर लगायतले यसपटकको चुनाव जेनजी युवालाई ढाल बनाएर देशका सम्पदा र उद्योग व्यवसाय जलाएर देश कमजोर बनाउने र राष्ट्रियता रक्षा गर्ने बीचको लडाई भएकाले देश जोगाउनेहरुले जित्नुपर्ने बताए । भविष्यमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सम्भावना बोकेका नेता भएकाले रुपन्देही २ मा विष्णु पौडेललाई एमाले वाहेक अन्य दलका सचेत मतदाताले पनि रोज्ने उनीहरुको विश्वास थियो ।




