लुम्बिनी संवाददाता
गुल्मी
गुल्मी विद्युत्को राष्ट्रिय प्रसारणमा जोडिएको छ । उनायचौर–पौदी–बुर्तिबाङ्गको परीक्षण सफल भएर सेवा सुरु भएको हो । सोही अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
उनले विद्युत्को राष्ट्रिय प्रसारणसँग जोडिने कुरा जिल्लाको लागि ज्यादै महत्वपूर्ण काम भएकाले विद्युत्को अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी गरेर पहाडको बसाईसराइ रोक्नु नै आफूहरूको उद्देश्य रहेको बताए ।
यसले अवसरका ढोकाहरू खोलेकाले सदुपयोग गरेर आर्थिक समृद्धिका काममा लाग्न उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई शाक्यले आग्रह गरे ।
प्राधिकरणको लगानीको उद्देश्य देशको अर्थतन्त्रमा टेवा दिने भएकाले साना, मझौला र ठुला उद्योगलाई प्रयाप्त विद्युत् पुग्ने पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको सम्भावना बढेको उनले बताए । उनले राष्ट्रिय प्रसारण लाइनले जिल्लाहरूमा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्याको अन्त्य गर्नुको साथै आर्थिक समृद्धिको आशा जगाएको बताए ।
दुई दिन रेसुङ्गा नगरपालिका –७ उनायचौर सवस्टेशनदेखि बागलुङ बुर्तिबाङ्गसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरेर सञ्चालन गरिएको छ ।
यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसिकोट नगरपालिका –१ पौदी अमराईमा गरेर दुईवटा सवस्टेशन गुल्मीमा रहेका छन् ।
कपिलवस्तुको मोतीपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्गसम्म करिव ८६ किलोमिटर दुरीमा पाँच सवस्टेशन र २४८ टावर निर्माण गरिएको कपिलवस्तुको मोतीपुरदेखि– सन्धिखर्क– तम्घास– बुर्तिबाङ्ग आयोजना प्रमुख इञ्जिनीयर मनोज चौधरीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म चार अर्ब सात करोड ६१ लख ६२ हजार ७३५ रुपियाँमा सवस्टेशन र प्रसारण लाइन बिस्तार भएको छ । आयोजनाको लगानी नेपाल सरकार, उर्जा वलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले गरेको छ ।
आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा दुई वटा राष्ट्रिय प्रसारण लाइनको दुई वटा सवस्टेशन गुल्मीमा मात्र रहेको बताए ।
उनले भने–“योजनाको सफल परीक्षण गर्न पाएकामा हामी त खुसीनै छौं, त्योभन्दा भाग्यमानी गुल्मेली नागरिक छन् ।
एउटै जिल्लामा दुईवटा सवस्टेशन निर्माण भएका छन् ।”
कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने गुल्मीका निर्वाचन क्षेत्रहरूमा दुई सवस्टेशन निर्माण गरेर विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाउनु गुल्मेलीको लागि निकै सुखद विषय भएको उनले जनाए ।
पूर्व उर्जामन्त्री गोकर्ण विष्टले आफूले समावेश गरेको महत्वपूर्ण आयोजना सफल हुँदा गर्वको महसुस भएको बताउँदै उद्योग कल कारखानामार्फत् जनताको आर्थिक समृद्धिको पक्षमा काम गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिने बित्तिकै नागरिक मात्र नभएर सरकारी काममा समेत सहज भएको जनाए ।




