बुटवल । प्रतिनिधिसभा विर्नाचनमा जेनजी २.० समूहले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । जेनजी २.० का प्रवक्ता अविन लिम्बुले कुनै राजनीतिक दलभन्दा पनि उम्मेदवाहरुको पृष्ठभूमि र उनीहरुको जनाधारका आधारमा समर्थन र सहयोग गर्ने बताए ।
एमाले उम्मेदवार पौडेलले रुपन्देहीमा भौतिक बिकास तथा पूर्वाधारको क्षेत्रमा गरेका कामको मूल्याङ्कन तथा सफल अर्थमन्त्री भएकाले समर्थन जनाएको उनले बताए ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिम्बुले सर्लाहीमा नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाई समर्थ गरेजस्तै रुपन्देहीमा पौडेललाई समर्थन गरिएको उल्लेख गरे । यसैगरी चितवनमा पूर्व मेयर रेणु दाहाललाई जेनजी २.० ले समर्थन गर्ने उनले जानकारी दिए ।
जेनजी समुहले रुपन्देहीमा समेत मत सर्वेक्षण तथा उम्मेदवारहरुको पृष्ठभूमि र उनीहरुले गरेका कामका बारेमा मूल्याङ्कन गरिएको बताउँदै उनले राम्रो काम गर्ने जुनसुकै दलका उम्मेदवारलाई जेनजी युवाहरु सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा सामाजिक सञ्जालहरुमा जति चर्चा भएपनि मतदानमा उक्त अवस्था नरहने उनको विश्लेषण छ ।
उनले राजनीतिक विचारभन्दा पनि उम्मेदवारको योग्यता क्षमताका आधारमा जेनजीहरुले साथ दिने उल्लेख गरे ।




