केशव पराजुली / नवलपरासी । चुनावको मुखमा नवलपरासी काँग्रेसमा असन्तुष्टि बढेको छ । विशेषगरी नवलपरासी क्षेत्र नम्बरमा काँग्रेसका स्थानीय काग्रेस नेता कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेपछि तनाव सृजना भएको छ ।
उक्त क्षेत्रमा स्थानीय नेतालाई टिकट नदिएपछि आन्तरिक रुपमा असन्तुष्ट नेता कार्यकर्ताले धमाधम पार्टी छाडेका छन् । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा विजयी विनोद चौधरीले टिकट पाएका छन् ।
बाहिरबाट आएका नेतालाई टिकट दिने, तर स्थानीयस्तरमा लामो समयदेखि राजनीति गर्दै आएकालाई पाखा लगाउने काम भएको भन्दै दैनिक काँग्रेस नेता कार्यकर्ताले राजीनामा दिइरहेका छन् ।
पछिल्लो पटक आइतबार मात्र सुस्ता गाउँपालिका–५, सुस्ता गाउँपालिका पकलिहवाका नेपाली काँग्रेस वडा कार्यसमितिका ३३ जना र बर्दघाटका ४ जना नेताकार्यकर्ताले एकसाथ पार्टी जिम्मेवारीबाट सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
बर्दघाट नगरपालिकाका नेता तथा कार्यकताहरुले मंगलबार पनि पार्टी छाडेका छन् । पार्टी छाडेकाले अनावश्यक दोष लगाउने प्रवृत्ति देखिएको भन्दै क्षेत्रिय सभापति मुकुल आचार्यप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छाडेका हुन् ।
अहिले जे–जे कुरा भए पनि विनोद चौधरी काँग्रेस टुटफुटको प्रमुख कारण भएको पार्टी छाडेका नेता कार्यकर्ताको भनाइ छ । पार्टीका नेता कार्यकर्तालाई अनावश्यक दोष लगाउने प्रवृत्ति देखिएको भन्दै क्षेत्रीय सभापति मुकुल आचार्यप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छाडेका हुन् ।
अहिले जे–जे कुरा भए पनि विनोद चौधरी काँग्रेस टुटफुटको प्रमुख कारण भएको पार्टी छाडेका नेता कार्यकर्ताको भनाइ छ । क्षेत्र नम्बर एकमा दैनिक जसो वडादेखि पालिका तहसम्मका नेता कार्यकर्ताले राजीनामाको पत्र सार्वजनिक गर्दे आएका छन् ।
केही दिन अगाडि मात्रै काँग्रेसका बर्दघाट नगर सभापति दामोदर जिसि, क्षेत्रीय सचिव बालिन्द्र बिक्रम शाही, प्रदेशसभा क्षेत्र १ क का सचिव भवानी शङ्कर भट्टराई, नेपाली काँग्र्रेसका जिल्ला सदस्य ध्रुव राज जमरकट्टेललगायतका नेताहरूले काँग्रेस परित्याग गरिसकेका छन् ।
जनआधार भएका नेताहरूले पार्टी छाडेका छन्, त्यति मात्रै होइन उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पूर्व काँग्रेसका प्रदेश महामन्त्री बिक्रम खनालको पक्षमा खुलेर लागेका छन् । जसले गर्दा चौधरीलाई थप दबाब सृजना भएको छ । स्थानीयस्तरका धेरै नेताहरूले अब आयातित व्यक्तिलाई चुनाव जिताएर पठाउन नसकिने भन्दै असन्तुष्टि व्यक्त गरिरहँदा उक्त भोट रास्वपा र एमालेतर्फ मोडिन सक्ने जोखिम छ ।
अघिल्लो निर्वाचनमा पनि टिकट नपाएपछि असन्तुष्ट बनेका बिक्रम खनालले यस पटक पनि काँग्रेसबाट टिकट नपाएपछि अन्तिम समयमा काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् । रास्वपा प्रवेश गर्दै दामोदर जिसीले धनी र गरिबबिचको लडाइमा आफूहरू गरिबको साथमा लागेको बताए । चौधरीप्रति लक्षित गर्दै जिसीले पैसाको बलमा चुनाव जित्दै आएका व्यक्तिलाई जनताको प्रतिनिधि बनाउनुको अर्थ नभएको तर्क गरे ।
क्षेत्र नम्बर एकमा जिम्मेवारीमा रहेको आधा दर्जन बढी काँग्रेस नेताहरूले पार्टी छाडेर खनाललाई साथ दिएका छन् । काँग्रेसभित्रको असन्तुष्टिको फाइदा आफूलाई पुग्ने खनालको ठम्याइ छ । एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले यसको खास फाइदा एमालेलाई हुने बताए । “हाम्रो उम्मेदवार सुस्ताको पालिकाको नेतृत्व गरिसक्नुभएका व्यक्ति हुनुहुन्छ, अब अन्य दलको असन्तुष्टिको भोट पनि एमालेका उम्मेदवारलाई आउने निश्चित जस्तै छ ।”–एक एमाले नेताले भने ।
सो क्षेत्रमा पुराना राजनैतिक खेलाडी हृदयेस त्रिपाठी छाता चुनाव चिन्हसहित चुनावमा होमिएका छन् । क्षेत्र नम्बर एकको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । गत निर्वाचनमा २९ हजार ५१९ मत ल्याएर चौधरी बिजयी भएका थिए । त्यतिबेला एमालेले जनता प्रगितिशल पार्टीका अध्यक्ष हृदयेस त्रिपाठीलाई सर्मथन गरेको थियो । कोदालो चुनाव चिन्ह लिएर मैदानमा उत्रीएका निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए ।
त्यतिबेला रास्वपाका महेन्द्र ठकुरीले १२ हजार ४९९ र जनमत पार्टीका गुलावप्रसाद चौधरीले ५ हजार ९५२ मत पाएका थिए । समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा काँग्रेसले २३ हजार ५१५, एमालेले १७ हजार १७२, रास्वपाले १० हजार ७१८, जनमतले ७ हजार ४१४, राप्रपाले ६ हजार ४७७ र जनता प्रगतिशिल पार्टीले ३ हजार ९२६ मत प्राप्त गरेका थिए । यसरी हेर्दा आसन्न निर्वाचनमा काँग्रेसको मत विभाजन हुने र निकटतम प्रतिद्वन्द्वी उम्मेदवारलाई फाइदा हुने आँकलन गरिंदै आएको छ ।




