लुम्बिनी संवाददाता
बुटवल
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावमा रूपन्देही क्षेत्र नम्बर १ मा विभिन्न दल र स्वतन्त्र समेत गरी ३० जना बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
यहाँ नेकपा एमालेबाट पूर्व प्रदेश सांसद दधिराम न्यौपाने, नेपाली काँग्रेसबाट पूर्व मेयर हिराबहादुर केसी, राप्रपाबाट प्रज्ज्वल बोहरा, नेकपाबाट घनश्याम यादव, रास्वपाबाट पार्टी महामन्त्री सुनिल लम्साल, जसपाबाट मोहम्मद अस्लम खाँन लगायतउम्मेदवार छन् । यहाँ १ लाख ४६ हजार ८ सय २४ जना मतदाता छन् ।
दधिराम न्यौपाने (एमाले) : प्रदेशबाट संघीय सांसदको लक्ष्य
२०१५ साल मंसिरमा अर्घाखाँचीको मैदान अमजा भर्थानमा जन्मेका दधिराम न्यौपाने बुटवल उप–महानगरपालिकाका स्थायी बासिन्दा हुन् । गाउँकै विद्यालयमा निम्न माध्यमिक तहसम्म अध्ययन गरेका न्यौपानेले भारतको हिमाचल प्रदेश बोर्ड अफ स्कूल एजुकेशनबाट आईएसम्म अध्ययन गरेका छन् ।
घरको कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरमै भारतमा रोजगारीको खोजीमा गएका न्यौपानेले हरियाणा राज्य विद्युत् बोर्डमा ९ वर्ष काम गरे । सामाजिक असमानता, वर्गीय विभेद भोगेका न्यौपाने भारतमा रोजगारीकै सिलसिलामा कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएका थिए । २०३४ सालदेखि तत्कालीन चौथो महाधिवेशन (चौम) को पार्टी सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका न्यौपाने २०३६ देखि नेकपा मसाल, पानीपथ जिल्ला (भारत) सचिव, २०४० देखि भारत शाखा सदस्य, २०४२–२०४४सम्म सेती–महाकाली–भेरी–कर्णाली क्षेत्रीय ब्युरो सदस्य,२०४५–२०४७ सम्म लुम्बिनी क्षेत्रीय ब्युरो सदस्य भएर काम गरे ।
संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष र अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य समेत भएर काम गरेका न्यौपाने २०४८–२०५१ सम्म नेकपा एकता केन्द्र, लुम्बिनी–नारायणी क्षेत्रीय ब्युरो सदस्य,२०५२–२०६३ सम्म नेकपा माओवादी रूपन्देही जिल्ला सचिव, गण्डक ब्युरो कार्यालय सचिव र नवलपरासी इञ्चार्ज भएर काम गरे ।
२०६४–२०६९ सम्म नेकपा माओवादी रूपन्देही जिल्ला इञ्चार्ज,२०७०–२०७५ सम्म माओवादी केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य, २०७५–२०७८ सम्म एमाले–माओवादी एकतापश्चात् नेकपा केन्द्रीय सदस्य, २०७८ देखि नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य र २०८२मा नेकपा एमाले ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित छन् । वि.सं. २०४५ साल फागुनमा राजनीतिक आन्दोलनका क्रममा गिरफ्तार भई १ महिना हिरासत र ६ महिना कारागार बसेका न्यौपाने २०६८ मा नेपाल खानेपानी संस्थान, केन्द्रीय अध्यक्ष, २०७४ मा रूपन्देही क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेश सभाको अर्थ–उद्योग–पर्यटन समितिको सभापति भएर काम गरेका न्यौपाने २०७९ को प्रदेशसभा सदस्य चुनावमा भने पराजित भए । २०७९ मा नेकपा एमालेका लिला गिरी नेतृत्वको करिब चार महिना छोटो सरकारको पालामा न्यौपाने मुख्यमन्त्री गिरीका प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएर काम गरे ।
लामो राजनीतिक संघर्षबाट खारिएको सरल र इमान्दार नेताको छवि बनाएका न्यौपाने प्रदेशसभा सदस्यको अनुभवपछि अहिले संघीय संसदमा प्रवेश गर्ने लक्ष्यसहित प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । सूचना प्रविधिको प्रयोग र सामाजिक सञ्जालमा युवा उम्मेदवार जस्तो पोख्त हुन नसक्नु न्यौपानेको कमजोर पक्ष हो । यसअघि एमालेकै छविललाल विश्वकर्माले लगातार जित्दै आएको यो क्षेत्रमा यसपटक न्यौपानेले नेपाली कांग्रेसका हिरा केसी, रास्वपाका सुनिल लम्साल, राप्रपाका प्रज्ज्वल बोहरा, नेकपाका घनश्याम यादवलगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सांसदको भूमिकामा पुगेपछि वर्षौंदेखि समाधान हुन नसकेको लाखौं अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्बासी समस्या समाधान, सहकारी पीडितको रकम फिर्ता र ठगीमा संलग्नलाई कारबाही, राष्ट्रियताको संरक्षणका पक्षमा स्पष्ट ऐन कानुन निर्माणलाई पहिलो प्राथमिकता दिने न्यौपानेको प्रतिबद्धता छ । निर्वाचन क्षेत्रको सन्दर्भमा बुद्ध मावली देवदहलाई लुम्बिनी, तिलौराकोट र रामग्रामसँग जोडे्ने तथा देवदहमा निर्माण हुने लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत् पर्यटकीय नगरका रूपमा विकास गर्ने, दक्षिणी क्षेत्रलाई औद्योगिक हब बनाउने तथा शिक्षा, स्वास्थ्य र रोजगारी न्यौपानेका प्राथमिकतामा छन् । २०७९ को निर्वाचनमा एमालेका छविललाल विश्वकर्माले २४ हजार ८८२ मत पाएर विजयी हुँदा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले २१ हजार ३१८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १४५, नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९६२, एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका टिकाराम चापागाईंले ३ हजार ४८९, स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद यादवले १७ सय १३ मत, राष्ट्रिय जनमुक्ति पार्टीले १३ सय ९७ मत, हाम्रो नेपाली पार्टीका विशाल बास्कोटाले एकहजार ९७ मत पाएका थिए । यसपटक यो क्षेत्रमा १ लाख ४६ हजार ८ सय २४ जना मतदाता छन् ।
हिराबहादुर खत्री (कांग्रेस) दुग्ध उद्यम, मेयर हुँदै संसदतर्फ
२०२९ सालमा रूपन्देहीको देवदह भलूहीमा किसान परिवारमा जन्मेका हिरा केसी अहिले पनि सोही ठाउँका स्थायी बासिन्दा हुन् । कृषि र पशुपालन, दूध उत्पादन तथा बिक्रीको व्यवसायमा लामो संघर्षबाट माथि उठेका केसीले देवदहकै सरकारी विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । सानै उमेरदेखि दूध बिक्री गर्न बुटवल र सुनवलसम्म जानुपर्ने घरायसी बाध्यताले केसीले औपचारिकरूपमा उच्च शिक्षा पढ्न पाएनन् । सानै उमेरमा उनी बुटवल धागो कारखानाका मजदुर, सीताराम गोकुल मिल्कमा दूध संकलन गर्ने कर्मचारी र स्याङ्जामा पेट्रोल पम्पमा कर्मचारी भएर काम गरे ।
२०४६ साल चैत २६को जनआन्दोलनमा बुटवलमा गोली चल्दा प्रत्यक्षदर्शी केसी जनआन्दोलनको सफलतापछि बुटवलमा आयोजित विजय जुलुसमा पनि सहभागी भए । किशोर अवस्थाका केसीलाई देवदहकै कांग्रेस नेता गुरुप्रसाद पराजुलीले चार तारे झण्डा र रूखसहितको भोटो लगाइदिएपछि उनी अनायासै नेपाली कांग्रेस बनेको स्मरण गर्छन् । नेपाल विद्यार्थी संघ देवदहको सचिवबाट विद्यार्थी राजनीति सुरु गरेका केसी केही वर्षपछि नेपाल तरूण दल रूपन्देहीको पहिलो अधिवेशनबाट देवदह गाउँ समिति अध्यक्ष बने । २०५४ सालतिर तरूण दलकै रूपन्देही १ को क्षेत्रीय सभापति भए । तरूण दलमा जिल्ला सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म भएर काम गरेका केसी नेपाली कांग्रेसको १२औं महाधिवेशनदेखि पार्टीको जिल्ला सदस्यमा चुनाव लडेर निर्वाचित भए र सचिवमा मनोनित भए । १३औं र १४औं महाधिवेशनमा पनि उनी लगातार क्षेत्रीय सभापति निर्वाचित भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गरी केसी नगरप्रमुखमा निर्वाचित भए । २०७९ मा पनि नगर प्रमुखमा उम्मेदवार भए पनि पराजित भए । लामो समय पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहंदै आएका केसी जेन जी विद्रोहपछि गगन थापा–विश्वप्रकाश शर्माहरूको पक्षमा उभिए । जेनजी आन्दोलनको मर्म र भावना अनुसार पार्टी पुनर्गठन, नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने गगन–विश्वहरूको मागलाई केसीले साथ दिएर विशेष महाधिवेशनमा सहभागी भए ।
राजनीति गर्नेहरू कुनै न कुनै उद्यम–व्यवसायमा लागेर आत्मनिर्भर हुनुपर्ने र मात्र नेताहरू सुशासनयुक्त राजनीति गर्न सक्छन् भन्ने मान्यता राख्ने केसीले डेरी व्यवसाय, टेक्टर आयात र बिक्री, रेमिट्यान्स, व्यवसायिक कृषि जस्ता व्यवसायमा आबद्ध भएर सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सके मात्र त्यसका आधारमा औद्योगिक विकास र रोजगारी सिर्जना गर्न सकिने भएकाले राज्यले कृषिको व्यवसायिकरण र औद्योगिकरणलाई प्राथमिकतामा राख्नुपर्ने केसीको ठम्याई छ । पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका केसीले सांसदको मुख्य जिम्मेवारी विकास निर्माण गर्नेभन्दा पनि राष्ट्र र नागरिकका हितमा राम्रा कानुन र नीति निर्माण गर्ने हो भन्ने कुरा मतदाताले पनि बुझ्नुपर्ने आग्रह गर्छन् । सांसदले एउटा क्षेत्रको मात्र नभई समग्र देशको सन्तुलित विकास, नागरिकका पक्षमा राम्रा कानुन बनाएर भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी सिर्जना कसरी गर्न सकिन्छ भनेर सोही अनुरूपमा कानुन र नीति बनाउन केन्द्रित हुन मतदाताले नै सांसदलाई दबाब दिनुपर्ने केसीको आग्रह छ । जनप्रतिनिधिलाई भ्रष्ट नहुन, पारदर्शी हुन मतदाताले खबरदारी गर्नुपर्ने केसीको सुझाव छ । नागरिकका आवश्यकताअनुसार विकास निर्माण तीन तहका सरकारका नियमित काम भएको केसी बताउँछन् । रूपन्देही १ मा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान, बुद्ध मावली देवदह र रोहिणी नदीलाई आधार बनाएर पर्यटन विकास, जेनजी आन्दोलनको म्याण्डेटअनुसार संविधान संशोधन, सरकारी कामकाजमा हुने ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न प्रभावकारी भूमिका खेलेर युवा आक्रोश अन्त्य गरी उनीहरूमा आशा जगाउन सांसदका रूपमा आफ्नो प्रमुख काम हुने केसीको प्रतिबद्धता छ ।
प्रज्ज्वल बोहरा (राप्रपा) : बुबाको विरासत थाम्न राजनीतिमा
२०३३ सालमा रूपन्देहीको भैरहवामा जन्मेका प्रज्ज्वल बोहरा सिद्धार्थनगर नगरपालिका ३ का स्थायी बासिन्दा हुन् । राप्रपा नेता एवं पूर्व मन्त्री स्वर्गीय दीपक बोहराका कान्छा छोरा प्रज्ज्वलले भारतको दिल्लीबाट एसएलसी र अमेरिकाबाट कम्प्युटर साइन्समा स्नातक गरेका छन् ।
राजनीतिक परिवारका प्रज्ज्वल बुबा दीपक बोहराका महत्वपूर्ण राजनीतिक गतिविधिमा पृष्ठभूमिबाट साथ दिँदै पढाइ सकेलगत्तै सूचना प्रविधि व्यवसायमा संलग्न रहे । सर्भिङ माइण्ड कम्पनीमार्फत् नेपालको पहिलो कल सेन्टर सञ्चालन गरेका उनले सफ्टवेयर र वेबसाइट निर्माणका काम गरे । स्मार्ट च्वाइस कम्पनीमार्फत नेपालमै पहिलोपटक एटीएम र डेबिट कार्डमार्फत् बैंकिङ क्षेत्रमा डिजिटल पेमेन्ट सुरुवात गराएका उनको कम्पनीले कुनै समय एटीएम र डेबिट कार्डको ७० प्रतिशत हिस्सा ओगटेर डिजिटल पेमेन्टमा क्रान्ति नै ल्याएको बोहराको दाबी छ ।
डिजिटल बैंकिङ कारोबारकै लागि नेपाल क्लियरिङ हाउस कम्पनी पनि बोहराकै अगुवाइमा सञ्चालनमा आएको थियो । चेकमार्फत् कारोबार गर्दा भुक्तानी हुन झण्डै एक हप्ता समय लाग्ने झन्झटिलो अवस्थालाई बोहराकै कम्पनीले विकास गरेको सफ्टवेयरका माध्यमले बढीमा दुई दिनमा खातामा रकम आइपुग्ने अवस्था बन्यो । बोहराकै अर्को आईटी कम्पनी फिनटेक सोलुसनले विदेशका बैंकका लागि समेत सफ्टवेयर बनाउने काम ग¥यो । उक्त कम्पनीको सफ्टवेयर बंगलादेशको सरकारी बैंकहरूमा लागू भएको ‘लंका पे’ मार्फत त्यहांको ६० प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो । नेपाली आईटी कम्पनीको सफ्टवेयरलाई विदेशी मुलुकले आफ्नो सरकारी बैंकहरूमा प्रयोगमा ल्याउनु अन्तर्राष्ट्रियस्तरमा नेपाको आइटी क्षेत्रको उपस्थिति र विश्वसनीय पुष्टी गरेको निकै ठूलो उपलब्धी भएको प्रज्ज्वलको तर्क छ ।
२०२९ सालको चुनाव आउनु केही महिनाअघि देखि भने प्रज्ज्वल आईटी व्यवसाय अरूलाई जिम्मा लगाएर आफ्नो बुबा दीपक बोहराको निर्वाचन क्षेत्रमा खटिए । पोष्ट कोभिडका कारण बुबा दीपकको घांटीमा समस्याका कारण स्वास्थ्य पनि कमजोर र बोल्न समेत नसक्ने अवस्थामा प्रज्ज्वलले नै रूपन्देही ३ को चुनावी कमाण्ड सम्हालेर तत्कालीन गृहमन्त्री बालकृष्ण खांणलाई पराजित गर्दै जित निकाले ।
बुबाले चुनाव जितेपछि पनि स्वास्थ्यमा सुधार नआएपछि प्रज्ज्वल साढे तीन वर्ष बुबाको प्रतिनिधित्व गर्दै निर्वाचन क्षेत्रमा निरन्तर खटिएर नागरिकका समस्या र गुनासा सुन्ने काम गरे । निर्वाचन क्षेत्रमा पुग्दा मतदाता र नागरिकले दीपक बोहराले समग्र रूपन्देही जिल्लाको विकास निर्माणमा लामो समयदेखि पु¥याएको योगदानको चर्चा गर्दै विकासप्रेमी नेताका रूपमा सम्मान व्यक्त गरेको अनुभूति भएपछि आफूलाई बुबाको उत्तराधिकारी भएर राजनीतिमा लाग्न प्रेरणा मिलेको प्रज्ज्वल बताउंछन् ।
बुबाको निधनपछि रूपन्देही ३ मा हुने भनिएको उपनिर्वाचनमा पनि प्रज्ज्वल उम्मेदवार सिफारिश भएका थिए । जेन जी विद्रोहपछि फागुन २१ मा तोकिएको निर्वाचनका लागि प्रज्ज्वललाई राप्रपाले रूपन्देही १ मा उम्मेदवार बनाएको छ । सफल आईटी व्यवसायीको रूपमा राष्ट्रिय र अन्तराष्ट्रिय ख्याति कमाएका प्रज्ज्वलले आफ्नो विज्ञतालाई संसदमा पुगेर मुलुकको राष्ट्रियता र स्वाभिमान जोगाउने, भ्रष्टाचारविरूद्ध कडा कानून निर्माण, राष्ट्रको वित्तीय अनुशासन ठीक बनाउने ऐन कानून निर्माण,अधिक कर र राजस्वमुखी नीति परिमार्जन गरी नागरिक–व्यवसायीलाई राहत दिन भूमिका खेल्ने लक्ष्य छ । बैंक, वित्तीय संस्था र सहकारी पीडितका समस्या समाधान,सहकारी ठगी गर्नेलाई कारवाही, शिक्षाको गुणस्तर सुधार गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी,गुणस्तरीय स्वास्थ्य सेवा सरकारको दायित्वमा ल्याउने,अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व,देवदहलाई लुम्बिनीसंग जोडेर पर्यटन विकास र देवदहमा चारवटा रणनैतिक सडक सञ्जाल निर्माण बोहराका क्षेत्रगत विकासका प्रतिवद्धता छन् । रूपन्देही १ मा गत स्थानीय निर्वाचनमा राप्रपाले १५ हजार बढी मत पाएको आधारमा तेस्रो शक्ति भएको पार्टीको दावी छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर १३ हजार मत पाएका धनिराम चौधरी हालै मात्र राप्रपा प्रवेश गरेकाले यहां बोहरा थप बलियो हुंदै अरू दललाई दबाव दिएका छन् ।
घनश्याम यादव (नेकपा) : दोस्रो जितको आशमा
२०२६ सालमा रूपन्देहीको दक्षिणी गाउं रोहिणीमा जन्मेका घनश्याम यादव अहिरको स्थायी बसोबास अहिले पनि रोहिणी गाउंपालिका –५ मै छ । परासीबाट एसएलसी उत्तिर्ण गरेका यादवले भारतमा आईए अध्ययन शुरू गरेपनि पूरा गर्न सकेनन् । २०४२ सालमा नेकपा मसालको भातृ संगठन अखिल छैठौंमा जोडिएका यादव सोही वर्ष पार्टीको जिल्ला सदस्य भए । २०४८ सालमा पार्टीले चुनाव वहिस्कार गर्ने क्रममा पक्राउ परेर जेल परेका यादव २०५१ सालमा राष्ट्रिय जनमोर्चाबाट नवलपरासीमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर पराजित भए । नेकपा एमालेको महासचिवमा मदन भण्डारी निर्वाचित भएपछि उनको भाषणकला र नेतृत्व क्षमताबाट प्रभावित भएर यादव नेकपा एमालेमा प्रवेश गरे । २०५६ मा एमालेबाट रूपन्देही १ मा उम्मेदवार बने । तर नेपाली कांग्रेसका दुर्योधनसिंह चौधरी विजयी बन्दा उनी झिनो मतान्तरले दोस्रो भए ।
२०५७ सालमा माओवादी प्रवेश गरे । २०५९ सालमा पक्राउ परेर पोखरा जेलमा ६ महिना बढी बसे । सरकारसंग युद्ध विराम भएपछि जेलबाट छुटेर रूपन्देही जिल्ला सचिव भए । २०६४ को संविधान सभा चुनावमा रूपन्देही १ बाट यादव निर्वाचित भए । त्यो बेला रूपन्देहीबाट प्रत्यक्ष चुनाव जित्ने उनी मात्रै थिए । पार्टीमा डा. बाबुराम भट्टराई निकट उनी भट्टराई प्रधानमन्त्री भएका बेला स्थानीय विकास राज्यमन्त्री बने । २०७० को संविधान सभा चुनावमा नवलपरासी २ बाट उम्मेदवार बनेपनि पराजित भए । २०७४ र २०७९ मा भने उनी उम्मेदवार भएनन् । नेकपाका केन्द्रीय सदस्य यादव यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् ।
पार्टीभित्र कुनै दाग नलागेका निष्ठावान, सोझा र इमान्दार नेताको छवि बनाएका यादव लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ परिचित र ठूला दलबाट मधेशी समुदायबाट उम्मेदवार नभएकाले उनले दक्षिणी क्षेत्रको मत तान्न सक्ने देखिन्छ । भाषणकलामा पोख्न नहुनु र व्यक्तिगत आर्थिक अवस्था बलियो नहुदा कार्यकर्ता र जनपरिचालनमा भने यादव कमजोर मानिन्छन् ।
यादवले भ्रष्टाचारका चर्चित सबै काण्डको छानवीन,प्रशासनिक काममा हुने ढिलासुस्तीको अन्त्य,स्वदेशमै रोजगारी सिर्जना,अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिन संसदमा पुगेर प्राथमिकताका साथ आवाज उठाउने प्रतिवद्धता गरेका छन् । यहां उनले नेकपा एमालेका दधिराम न्यौपाने,नेपाली कांग्रेसका हिरा केसी, रास्वपाका सुनिल लम्साल, राप्रपाका प्रज्ज्वल बोहरालगायतसंग प्रतिस्पर्धा गर्दैछन् ।
सुनिल लम्साल, रास्वपा : पार्टीमा जोडिएको महिना नपुग्दै उम्मेदवार
२०४७ साल असोजमा स्याङ्जाको बिरूवा गाउँपालिकामा जन्मेका सुनिल लम्साल दुई दशकअघि देखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन् । भलबारीकै अरनिको बोर्डिङ स्कुलबाट एसएलसी पूरा गरेका उनले रूपन्देहीकै लुम्बिनी इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषय पढेका हुन् । उक्त कलेजमा पढ्दा नेकपा एमाले निकट अनेरास्ववियुमा क्रियाशील रहेका उनी सन् २०११ मा स्ववियू सभापति निर्वाचित भएका थिए । २०६२-६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका लम्सालले संरचनात्मक इन्जिनियरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला पूर्वाधार परियोजनामा काम गरिसकेका छन् । उनी २०७९ को स्थानीय निर्वाचनपछि काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहको पूर्वाधार सल्लाहकार भएर काम गरे ।
उनी हाल फोहोर व्यवस्थापन (वेस्ट म्यानेजमेन्ट) विषयमा विद्यावारिधी अध्ययनरत छन् ।
बालेन शाहसंगै रास्वपामा प्रवेश गरेका लम्साल देशको चौथो ठूलो दल रास्वपाको महामन्त्री पनि मनोनित भएका छन् अहिले । दलीय राजनीतिमा जोडिएको एक महिनामै पार्टीको शीर्ष पदाधिकारी र प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेर लम्साल संसद प्रवेश गर्ने दौडमा छन् ।
कृषि नीति प्रभावकारी कार्यान्वयन तथा सिँचाइ व्यवस्थापनमा सुधार,नदी कटान रोकथाम,रोहिणी नदी करिडोर विकास, स्थानीय औद्योगिक करिडोर निर्माण, देवदहलाई लुम्बिनीसँग जोड्ने पर्यटन मार्ग विकास,सीपमूलक शिक्षा,रोजगारी सिर्जना,भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व दिने लम्सालका प्रतिवद्धता छन् ।
पार्टी स्थापनाकालदेखि खटिएका र उम्मेदवार सिफारिश भएका नेताहरूले टिकट नपाई उनले पाएपछि पार्टीभित्र असन्तुष्टी, क्षेत्रमा अपरिचित अनुहार, बालेनको सल्लाहकार हुंदा लम्साल विदेश भ्रमणमा जांदा भएको ५२ लाख रूपैयां बेरूजू, संसदीय राजनीतिको अनुभवको कमी र प्रतिस्पर्धी दलहरूको बलियो संगठन उनका लागि चुनौति छन् । पछिल्लो समय देशका विभिन्न जिल्लाका रास्वपा नेताहरूले पार्टीभित्र बेथिति, विकृति मौलाएको भन्दै पार्टी छाड्ने क्रमले रास्वपाप्रतिको आकर्षण घट्दै जांदा उनी रक्षात्मक बन्न सक्ने आंकलन भइरहेको छ ।




