बुटवल । बुटवल–१३, जितगढीस्थित जितेश्वरी जीवनयोग प्रयोगशालामा १५औँ जीवन विज्ञान दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइएको छ। बिहानैदेखि प्रयोगशालाको प्रांगणमा आध्यात्मिक वातावरण सिर्जना गरिएको थियो।
प्रयोगशाला सञ्चालन समितिका पदाधिकारी, साधक–साधिका तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागितामा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। त्यसपछि सबै सहभागीहरूले सामूहिक रूपमा योगासन, प्राणायाम, ऊर्जाध्यान तथा ध्यानसाधनाको अभ्यास गर्दै दिवसलाई अर्थपूर्ण बनाएका थिए।
कार्यक्रममा सहभागीहरूले अनुशासन र समर्पणका साथ ध्यान अभ्यास गर्दा वातावरण पूर्ण रूपमा शान्त, सकारात्मक र ऊर्जामय बनेको थियो।
नियमित साधनाले व्यक्तिमा सकारात्मक सोच, आत्मविश्वास र सहनशीलता वृद्धि हुने विश्वास व्यक्त गरिएको थियो। साथै, योगध्यान केवल शारीरिक अभ्यास मात्र नभई जीवन जिउने कला भएको उल्लेख गर्दै यसको निरन्तर अभ्यास आवश्यक रहेको धारणा राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगशाला सञ्चालन समितिका अध्यक्ष तारा गौडेलले जीवन विज्ञान दिवसको अवसरले सबैलाई आत्मचिन्तन र आत्मरूपान्तरणतर्फ प्रेरित गर्ने बताउनुभयो। उहाँले जीवन विज्ञानले सिकाउने ध्यान, योग र सकारात्मक सोचका अभ्यासहरूलाई दैनिक जीवनमा लागू गर्न सके व्यक्ति, परिवार र समाजमै सकारात्मक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी जीवन विज्ञान प्रशिक्षक कपिल गौतमले फागुपूर्णिमाको शुभकामना दिँदै रंगहरूको पर्वले जस्तै जीवनमा पनि प्रेम, सद्भाव र एकताको रंग भरिनुपर्ने बताउनुभयो। उहाँहरूले योगध्यानले व्यक्तिको शारीरिक, मानसिक तथा आध्यात्मिक विकासमा पुर्याउने महत्वपूर्ण योगदानबारे विस्तृत प्रकाश पार्नुभएको थियो।
जीवन विज्ञानको स्थापना प्रत्येक व्यक्तिभित्र बीजरूपमा रहेका सद्गुण, क्षमता र सम्भावनालाई उजागर गर्ने मूल उद्देश्यका साथ भएको हो। आत्मचेतनाको विकासमार्फत सुख, शान्ति र समृद्धिले भरिएको नवयुग निर्माण गर्ने यसको ध्येय रहेको बताइएको छ। नेपालसहित विश्वका विभिन्न मुलुकहरूमा भौतिक तथा अनलाइन प्रयोगशालामार्फत दैनिक रूपमा योगध्यान, प्राणायाम र जीवनोपयोगी ज्ञानसम्बन्धी कक्षाहरू सञ्चालन हुँदै आएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले जीवन विज्ञानका अभ्यासलाई नियमित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै आपसी सद्भाव, सहयोग र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो।




