पाल्पा
गत वर्षको वर्षातमा पहिरोबाट विस्थापित भएका तिनाउ गाउँपालिका वडा नं. –४ बौरीडाँडाका ६ घरपरिवारले नयाँ घर पाएका छन् । पहिरोको कारण गत वर्षातदेखि घरवारविहीन भएका ६ घरपरिवारलाई तिनाउ गाउँपालिका पाल्पाले प्रदेश र केन्द्र सरकारको सहयोगमा नयाँ घर निर्माण गरिदिएको हो ।
गत वर्षको मनसुनमा पहिरोले घर बस्नै नमिल्ने भएपछि पविसरा आलेसहित हुमबहादुर गाहा, तुलबहादुर गाहा, यामबहादुर दर्लामी, यानीसरा गाहा र कोपिला सरा रानाका परिवार घरबारविहीन बनेका थिए । वर्षायाम सुरु हुन लाग्दा गाउँपालिकाबाट नयाँ घर पाएका छौं, अब ढुक्कले आफ्नै घरमा बस्न पाएको र अहिले नयाँ घर पाउदा खुसी लागेको विस्थापित पविसरा आलले बताइन् ।
सुरक्षित घर निर्माणको लागि संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको लागत साझेदारीमा प्रति परिवार ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो । जोखिममा परेका घरपरिवारले घर निर्माणमा लाखौ रुपैयाँको जनश्रमदान गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषको मापदण्डअनुसार प्राप्त उक्त रकम बाहेकको अतिरिक्त खर्च र श्रमदानमा घरधनी आफैँ जुटेका थिए । लाभग्राही तुलबहादुर गाहाका अनुसार सरकारले हामीलाई घर बनाउन सहयोग ग¥यो, हामीलाई केही रकम पनि उपलब्ध गरायो, सरकारी सहयोगमा आधाभन्दा हामीले नै थपेर घर बनाउन सफल भएका छौं ।
गाउँपालिकाले आवास निर्माणका लागि लाभग्राही छनौट गर्दा प्रहरी मुचुल्का, वडाको सिफारिस र वास्तविक विपन्नतालाई आधार बनाएर सहयोग गरेको छ । स्थानीय सरकार नागरिकको सुख–दुःखको घर दैलोको सरकार भएको तिनाउ गाउँपालिकाका कोही पनि नागरिक घरवासविहीन भएर बस्न नपरोस् भनेर पालिकाले सुरक्षित आवास अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।




