२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कविता

कविता

कविता

कविता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता 

    पारिजात
    ज्यू,
    काम गरेको मात्र थाहा छ
    दुःख पाएको मात्र थाहा छ
    फाटेको चोलो र जडाउरी गुनिउँ
    लगाएको मात्र थाहा छ
    जोवन सोध्नुभएको ?
    त्यो त हजुर आएको, गएकै थाहा छैन ।

    खै, जान्ने सुन्नेले भनेको
    मेरो जोवन त जिम्मुवालको ऊ त्यो
    गहुँबारीमा सप्रिइसक्यो रे !
    उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे !
    खै, कुन्नि कस्तो अनौठो
    मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
    अर्काको सम्पत्तिमा फुल्ने रे !
    के भन्नुभयो, निकै हिस्सी परेकी छु रे ?
    ज्यू, त्यो दहको पानीमा हेर्दा
    त्यस्तै त्यस्तै लागेको थियो
    तर के भरपर्दो हुन्छ र
    पानीमुनिको छायाँ । 

    ढाँटेकी भए हजुरको मासु खाने
    मेरी बास्सै !
    लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
    टोपीमा लालुपातेको फूल घुसारेर
    निधारमा तीनवटा सितारा टाँसेर
    गालामा अलि अलि लाली घसेर
    आएको मेरो अधबैँसे दुल्हा
    आरन जस्तै अँध्यारो र
    खलाँती जस्तै धुस्रो थियो
    ए, हाँस्नु भएको हजुर त !
    यसको गोडा पखालेको पानी खानू साँझ बिहान
    यो तेरो देउता हो भनी
    बूढी बज्यैले भन्दा
    घुम्टोभित्र म रोएकी
    खै, कसरी देखाऊँ
    गालामा आँसुको डोब बस्दैन हजूर
    पहरामा खहरेको डोब बसेजस्तो !

    ज्यू, माइत त सात खोला सात डाँडा उता छ
    मैले बालखकालमा देखेकी सपनाजस्तै
    मेरो मुटुभित्रै भएर पनि कति कति टाढा ।

    जै–जन्म सोध्नुभएको ?
    ज्यू इनै दुई छोरा
    च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
    ढाँटेको भए यो आगो हातैमा छ हजुर ।
    यो च्याँसे
    मुखियाको घर बनाउने ढुङ्गा बोक्दा–बोक्दै पाएकी
    नाम्लो त थाप्लामै थियो गाँठे
    फरियामा पोको पारेर ल्याएँ
    छाप्रोमा साल–नाल काटेँ
    फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
    हिलोमा जन्मिनेहरूलाई
    कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा ?
    ज्यू, हुर्काउँदैछु हजूर, हुर्काउँदैछु
    नाङ्गै–भुतुङ्गै
    जनावरहरू जस्तै
    कुकुर र सुँगुरका बच्चाहरू जस्तै ।

    ज्यू, माया लाग्छ यै बूढा कामीको
    गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ?
    म पनि त चाया र कलेटीले
    तर्साउने जस्तै भइसकेँ
    के म स्वास्नीमान्छे जस्ती छु र ?
    ल फेरि हाँस्नु भयो हजूर त !
    जीवनको अर्थ
    ज्यू, केही बुझ्या छैन
    मेरो कामीको रङ र फलामको रङ
    एउटै छ हजूर !
    च्याँसे–पुन्टेको छालाको रङ र बाटोको धुलोको रङ
    एउटा छ,
    म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
    कामी रुने होइन कहिल्यै
    उसका पसिनाको रङ
    र मेरो आँसुको रङ
    एउटै छ हजूर !
    ज्यू, ज्यू काम गर्नेहरूले खान पाउनुपर्छ
    भन्ने कुरा
    भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु, हजुर !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij