२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अब नयाँ पात्र लिएर पर्दामा आउने छैनन् 'नाना'

अब नयाँ पात्र लिएर पर्दामा आउने छैनन् 'नाना'

अब नयाँ पात्र लिएर पर्दामा आउने छैनन् 'नाना'

अब नयाँ पात्र लिएर पर्दामा आउने छैनन् 'नाना'

अब नयाँ पात्र लिएर पर्दामा आउने छैनन् 'नाना'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • बुटवल । पर्दामा उनको आवाज गुञ्जिँदा पात्र मात्र बोल्दैनथ्यो, एउटा असन्तुष्टि, आक्रोश र पीडा पनि बोल्थ्यो। कहिले सैनिक, कहिले विद्रोही, कहिले खलनायक त कहिले हास्य पात्र बनेर दर्शकको मनमा बसेका नाना पाटेकर अब पर्दामा नयाँ पात्र लिएर आउने छैनन्।

    हिन्दी तथा मराठी सिनेमाका दिग्गज अभिनेता पाटेकरको बिहीबार बिहान गोवास्थित घरमा हृदयाघातपछि निधन भएको हो। उनलाई घरमै बेहोस अवस्थामा भेटिएपछि चिकित्सकीय टोली पुगेको थियो। तत्काल कार्डियक मसाजसहित उपचार शुरू गरेर अस्पताल लगिए पनि प्रयास सफल हुन सकेन। करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरिएको थियो।

    ७५ वर्षको उमेरमा उनको निधनसँगै चार दशकभन्दा लामो एउटा अभिनय यात्रा टुंगिएको छ। उनको वास्तविक नाम विश्वनाथ पाटेकर थियो। बाल्यकालमा सानी बहिनीले मायाले ‘नाना’ भनेर बोलाएपछि त्यही नाम उनको पहिचान बन्यो। उनको जन्म १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लाको मुरुड–जञ्जिरामा भएको थियो।

    सन् १९७८ को ‘गमन’बाट हिन्दी सिनेमामा प्रवेश गरेका नाना शुरूआती वर्षमा हिन्दी र मराठी दुवै चलचित्रमा देखिए। तर उनलाई स्थापित अभिनेता बनाउने मोड आयो सन् १९८९ को ‘परिन्दा’बाट।

    ‘परिन्दा’मा उनले निर्वाह गरेको अपराधी चरित्रले उनको अभिनयको शक्ति देखायो। यही भूमिकाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर पुरस्कार पाए। त्यसपछि ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’ र ‘राजनीति’जस्ता फिल्ममार्फत उनले आफ्नो अलग स्थान बनाए।

    सन् १९९४ को ‘क्रान्तिवीर’ नानाको करिअरको अर्को शिखर थियो। यसमा उत्कृष्ट अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार पाए। ‘परिन्दा’, ‘क्रान्तिवीर’ र ‘अग्निसाक्षी’बाट उनी तीन राष्ट्रिय चलचित्र पुरस्कार जित्ने कलाकार बने। चार फिल्मफेयर र दुई फिल्मफेयर मराठी पुरस्कारसँगै सन् २०१३ मा उनलाई पद्मश्रीबाट पनि सम्मानित गरिएको थियो।

    ‘प्रहार : द फाइनल अट्याक’मा उनले अभिनयसँगै निर्देशन र लेखनको जिम्मेवारी पनि सम्हाले। सैनिकको भूमिका विश्वसनीय बनाउन उनले भारतीय सेनासँग सैन्य प्रशिक्षणसमेत लिए। भारतीय प्रादेशिक सेनासँग उनको सम्बन्ध पनि रह्यो र उनलाई मानार्थ कप्तान तथा पछि मानार्थ मेजरका रूपमा जिम्मेवारी दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

    त्यही अभिनेता सन् २००७ मा ‘वेलकम’मा पुग्दा ‘उदय शेट्टी’ बनेर दर्शकलाई हँसाइरहेका थिए। गम्भीर र आक्रामक भूमिकाका लागि चिनिएका नानाले हास्यमा पनि उत्तिकै प्रभाव छाडे। ‘वेलकम ब्याक’मा उनले यही चरित्र दोहोर्‍याए।

    मराठी सिनेमामा ‘नटसम्राट’ उनको अर्को सम्झनलायक काम बन्यो। अभिनयसँगै उनले निर्देशन, लेखन र पार्श्वगायनमा समेत हात हाले। नानाको निजी जीवन भने फिल्मी चकाचौँधभन्दा टाढा थियो। सायद नानाको व्यक्तित्व बुझ्ने सबैभन्दा मार्मिक ठाउँ उनको मृत्युबारेको सोच थियो।

    एक अन्तर्वार्तामा उनले आफ्नो मृत्युमा नरुन र तस्वीरमा माला नचढाउनसमेत आग्रह गरेका थिए। आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी सबै बितिसकेकाले आफू पनि उनीहरूकै संसारमा जाने उनको धारणा थियो।

    जीवनको अन्तिम चरणसम्म पनि नाना अभिनयबाट टाढा भएनन्। ‘हाउसफुल ५’मा उनी देखिए। विशाल भारद्वाजको ‘ओ रोमियो’मा शाहिद कपूर र तृप्ति डिमरीसँग काम गरे भने ‘सूबेदार’मा विशेष भूमिकामा देखिएका थिए। १९७८ मा ‘गमन’बाट शुरू भएको यात्रा बिहीबार बिहान रोकियो।

    तर नानालाई एउटा फिल्म, एउटा पात्र वा एउटा पुरस्कारले सम्झन सकिँदैन। उनी ‘परिन्दा’का अपराधी पनि हुन्, ‘क्रान्तिवीर’का विद्रोही पनि, ‘प्रहार’का सैनिक पनि र ‘वेलकम’का उदय शेट्टी पनि। सायद यही उनको सबैभन्दा ठूलो परिचय हो- उनी कुनै एउटा भूमिकाका अभिनेता थिएनन्।

    पर्दामा उनको आवाज अब नयाँ दृश्यमा सुनिने छैन। तर उनले छाडेका पात्र, संवाद र अभिनयको प्रभाव लामो समयसम्म रहनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij