बुटवल । १९ औं राष्ट्रिय पुस्तकालय दिवस तथा गणेश पाण्डे (वासु)को स्मृतिमा आयोजित “माध्यमिक विद्यालय स्तरीय नाटक प्रतियोगिता–२०८३”मा बुटवलको अक्सफार्ड मावि प्रथम भएको छ ।
ज्ञानज्योति पुस्तकालय बुटवलले सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न गरेको प्रतियोगितामा रुपन्देहीका १९ विद्यालयबाट करिब एक सय ५० जना छात्र छात्राले नाट्य कला प्रस्तुत गरेका थिए ।
आइतबार सम्पन्न प्रतियोगितामा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल तिलोत्तमा ४ डिंगरनगर दोस्रो, मणिमुकुन्द सेकेण्डरी स्कूल योगीकुटी बुटवल तेस्रो र दुर्गा शैक्षिक गृह फर्साटिकर सान्त्वना भएका छन् ।
प्रथम भएको अक्सफोर्डबाट सोफिया सुनार, सुप्रिना मरासिनी, सुजारिका खड्का, रिजन भुसाल, संस्कृति पाण्डे, सुलभ अधिकारी, इब्राहिम मोहम्मद र अमृत ठकुरीले अभिनय गरेका थिए।
यस्तै सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुलबाट उत्सव गौतम, अमिषा घर्ती मगर, अश्लेषा पन्थी ,उत्कृष्ट भण्डारी, जीवन भुषाल, अनिल बिक, सुशान्त भुसाल र हिमांशी चापागाईले अभिनय गरेका थिए ।
यसैगरी मणिमुकुन्द सेकेन्ड स्कुल योगीकुटीका अनुष्का कुँवर, अनुष्का केसी, ग्रेना दर्लामी, प्रमिसा काफ्ले, स्वेषा श्रेष्ठ, प्रकाश गौतम, शिशिर गैरे र असल क्षेत्रीले अभिनय गरेका थिए।
यसैगरी सान्त्वना भएको दुर्गा शैक्षिक गृहका उज्ज्वल पराजुली, सुप्रिम पोखरेल, कवीर पौडेल, तमन्ना ढकाल, सिद्धि गैरे, जानकी बानिया, आशिका खत्री, आयुष कडेल र प्रज्वल खत्रीले अभिनय गरेका थिए
कार्यव्रmममा पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले ज्ञानज्योति पुस्तकालयको इतिहासदेखि वर्तमान सम्मको अवस्थाबारे जानकारी गराउंदै पठन संस्कृति बढाउन सबैले पहल गर्नुपर्ने बताए ।
कार्यक्रमको , प्रमुख अतिथि नेपाल शिक्षक संगठनकी पूर्व सदस्य श्री सावित्री नेपाल थिइन् भने अध्यक्षता ज्ञानज्योति पुस्तकालयका सदस्य एवं कार्यक्रम संयोजक माधव गौतमले र सञ्चालन पुस्तकालयका व्यवस्थापक प्रकाश सुवेदीले गरेका थिए ।
कार्यक्रममा स्व.गणेश पाण्डे वासुका पिता नारायण पाण्डे र आमा, हास्य कलाकारहरु विष्णु जी पाण्डे (माइला बा) र पुरुषोत्तम भण्डारी (पुर्खे बा) लाई सम्मान गरिएको थियो ।
निर्णायक मण्डलमा मनिराम पन्थ (मनिष),बाबुराम घिमिरे र मिना कार्की (मिनु) रहेका थिए ।
प्रतियोगी विद्यार्थीहरुले वैदेशिक रोजगारीमा जाँदा विदेशमै मृत्यु हुनुपर्ने, वैदेशिक रोजगारीका क्रममा भोग्नु पर्ने अनेकथरी समस्या, दुख पीडा, त्यस क्रममा परिवारलाई पर्ने पीडाहरु मार्मिक ढंगले देखाउँदै स्वदेशमै काम गर्न सन्देश दिइएको थियो ।
यस्तै राष्ट्रिय एकता, जात धर्मका आधारमा कसैलाई भेदभाव गर्न नहुने आदि सन्देश दिइएको थियो । छात्र छात्राहरुको जीवन्त अभिनयले दर्शकको मन् जितेको थियो। ज्ञानज्योति पुस्तकालयले हरेक वर्ष रामायाण वाचन प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।




