२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कथा

कथा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १ २०८२
आइतवार, चैत्र १ २०८२
  • घण्टा 
    मोपासाँ 

    (सन् १८५० मा जन्मिएका फ्रान्सेली कथाकार मोपासाँ १९औं शताब्दीका प्रभावशाली लेखक मध्ये पर्दछन् । उनका छोटा कथाहरु निकै सशक्त छन् । मान्छेका नियति र सामाजिक परिबन्दमा केन्द्रित हुने उनका प्रायः कथाहरुको अन्त्यले पाठकको मनमस्तिष्कमा हलचल मच्चाइदिन्छ । मोपासाँका कैयौं कथाहरु नेपाली पाठकका पहुँचमा छैनन् । केही कथाहरु नेपालीमा अनुदित भएता पनि समयक्रममा अप्राप्य हुन पुगेका छन् । लैनसिंह बाङदेलले अनुवाद गर्नुभएको यो कथा पहिलोपटक सन् १९४५ मा प्रकाशित भएको थियो ।)


    गरिब भए पनि, अङ्गहीन खोरन्डो भए पनि त्यसको दिन राम्ररी बितिरहेको थियो । १५ वर्षको उमेरमा एउटा सडकमा एउटा बग्गीको चक्कामुनि परेर त्यसका दुवै खुट्टा भाँचिएका थिए । त्यस दिनदेखि त्यो दुइटा लट्ठी दुवै काखीमुनि च्यापेर, कानसम्म कुम उठाएर त्यो लट्ठीमाथि भार राखेर घस्सिँदै हिँड्थ्यो । कस्तो लाग्थ्यो भने दुई पहाडमा डुबेजस्तो ऊ देखिन्थ्यो ।
    गाउँको पुरोहितले एउटा परित्यक्त नानी नालीमा पाएको थियो । त्यसको नाउँ राखियो – मिखोलेस तुस्याँ । त्यसले लेखपढ्नपट्टि ध्यान दिएन, त्यसलाई पढाउने कसले? जब त्यसका खुट्टा भाँचिएका थिए, गाउँको एउटा रोटीवालाले त्यसलाई कति गिलास ब्रान्डी खुवाएको थियो । त्यस दिनदेखि त्यो लङ्गडो भयो, मानिसको एउटा हाँस्ने वस्तु भयो ।


    यहीबीचमा त्यसलाई एउटी धनी स्वास्नीमानिसले आफ्नै भवनको छेउको कुखुरा बेच्ने ठाउँनिर एउटा ताखजस्तो बनाइएको भुसले भरिएको कोठामा बस्न दिइन् । घोर अनिकालको बेलामा पनि त्यहाँबाट खानलाई एक टुक्रा रोटी र पिउनलाई एक गिलास साइडर रक्सी पाइन्छ भन्ने कुरामा त्यसलाई सन्देह थिएन । कहिलेकाहीँ ती बूढी मालिक्रीले माथि भयाङदेखि नै अथवा आफ्नै कोठाको झ्यालबाट दुईचार पैसा त्यसलाई फालिदिन्थिन्, तर ती स्वास्नीमानिसको अब मृत्यु भइसकेको थियो ।


    गाउँका मानिसहरूले कहिलेकाहीँ त्यसलाई केही कुरा दिन्थे । तिनीहरूसित त्यसको रानै परिचय भइसकेको थियो । ४० वर्षदेखि त्यसले तिनीहरूलाई देखिरहेको थियो, दुई काठमाथि भार दिएर आफ्नो निन्दित अङ्गहीन शरीरलाई घिसार्दै एउटा ढोकादेखि अर्को ढोकासम्म भीक माग्न जान्थ्यो । त्यसलाई अन्त कतै जान मन लाग्दैनथ्यो, किनभने आफ्नो यो देशको एक कुनाबाहेक अरू कुनै ठाउँ त्यसले जान्दैनथ्यो । त्यो दुईचार घरतिर जान्थ्यो औ भिक्षाभ्रमणका निम्ति एउटा सीमा त्यसले तोकेको थियो । त्यो कहिल्यै पनि त्यो अभ्यस्त सीमा नाघेर कतै टाढा जाँदैनथ्यो । ‘अर्को गाउँतिर किन जाँदैनस् ? जहिले हे¥यो यहाँ टुप्लुक्कै!’ त्यसले उसको केही उत्तर दिँदैनथ्यो । त्यो त्यहाँबाट हिँडिहाल्थ्यो । एउटा चिनेको ठाउँको डरले त्यो दरिद्र नाना प्रकारका कल्पित आशङ्काले अभिभूत हुन्थ्यो । कोही नयाँ अनुहार देख्यो भने अथवा एकैचोटि निकै सिपाहीहरू देख्यो भने त्यो भाग्नै बल ग¥र्यो । टाढैदेखि कुनै एउटा पोथ्रो वा ढुङ्गाको थुप्रो घाममा टल्किरहेको देख्यो भने त्यसको जीउमा असाधारण फुर्ती आउँथ्यो । जसरी सिकारीले खेदेको प्राणी ज्यानै दिएर लुक्ने ठाउँ खोज्दै भाग्छ उसरी नै त्यो बडो चाँडो भागेर पोथ्रो वा दङ्गाको थुप्रामा आड लाएर आश्रय लिन्थ्यो । त्यो आफ्ना दुवै काठसितै भुइँमा तेर्सिएर लम्पसार हुन्थ्यो । त्यसको मैलो लुगाको रङ्ग भुइँको रङ्गसित मिल्थ्यो औ यही प्रकारले त्यो मानिसको दृष्टिदेखि अदृश्य हुन्थ्यो ।


    त्यसको कतै आश्रयस्थान थिएन, न त्यसको एउटा झुप्रो थियो न अलिकति बारेको ठाउँ नै थियो । गर्मीको दिनमा त्यो जहाँ पायो त्यहाँ सुत्थ्यो । अनि जाडोको दिनमा कतै भकारीतिर अथवा तबेलातिर बडो निपुणतासित पस्थ्यो औ मानिसको दृष्टि आफूमा पर्नुभन्दा अघि नै त्यो त्यहाँबाट भाग्थ्यो । कुनै घरभित्र पस्नलाई कहाँ खाल्डो छ, कहाँ प्वाल छ त्यसलाई खुब थाहा थियो । लट्ठीको व्यवहारले आफ्नो नाडीको जोरले भकारीको घाँसको थुप्रोमाथि चढ्न सक्थ्यो । भीक मागी ल्याएर त्यो कहिलेकाहीँ चारपाँच दिनसम्म बस्थ्यो । मानिसको माझमा वनको पशुजस्तै त्यसले जीवन बिताउँथ्यो – कसैलाई पनि चिन्दैनथ्यो, कसैलाई माया गर्दैनथ्यो । किसानहरूले उसको खिसी गर्थे, त्योसित भित्री रूपले शत्रुता गर्थे । तिनीहरूले त्यसलाई घण्टा भन्थे । जसरी दुईवटा काठको खुट्टीमा घण्टा झुन्डिन्छ उसरी दुई लट्ठीको बीचमा त्यो झुन्डिन्थ्यो । त्यसै कारण तिनीहरूले यो नाउँ राखेका थिए । दुई दिनदेखि त्यसले खान पाएको थिएन, कसैले त्यसलाई केही दिएन । पालाई पर देख्नेबित्तिकै आफ्नो ढोकैबाट किसान कराउँथ्यो– ‘भाग यहाँबाट! तीन दिनसम्म त एउटा रोटीको टुक्रा दिएँ ।’ आफ्नो लट्ठीलाई छिटो छिटो घुमाएर अर्को घरतिर जान्थ्यो, तर उहाँ पनि त्यसले उस्तै अभ्यर्थना पाउँथ्यो ।


    स्वास्नीमानिसहरूले एक घरदेखि अर्को घरसम्म सुन्ने गरी भन्थे– ‘सधैं यो माग्नेलाई खुवाउन सकिन्छ के । तर यो माग्नेले भने प्रतिदिन केही न केही खाने थोक त खानैप¥यो !’ आफूले चिनेका दुईतीनवटा गाउँदेखि निस्केर त्यो गयोस कतै त्यसले एक पैसा पाएन, कतै रोटीको एक टुक््रmासम्म पाएन । अब त्यसमा घस्सिँदै हिँड्ने शक्ति थिएन, त्यसको पकेट रित्तो थियो औ पेट पनि रित्तै थियो । तै पनि त्यो हिँडी नै रह्यो । डिसेम्बरको महिना थियो । चिसो हावा मैदानमा बगिरहेथ्यो । अनि पात नभएका सिक्रा रूखहरू सुइँ–सुइँ गर्दै बजिरहेका थिए । बादलका ठूला–ठूला टुक््रmाहरू आकाशपथबाट दगुरिरहेका थिए औ कहाँ गइरहेका छन्, पत्तो थिएन । लङ्गडो भिखारी बडो मुस्किलले दुवै लट्ठीमाथि आफ्नो भार राखेर बिस्तार–बिस्तार हिँड्न लाग्यो । बेला–बेलामा त्यो सडकको नालामा बसेर केही बेरसम्म सास फे¥यो । त्यसको हृदय चिन्ताले आतुर भइसकेको थियो औ भोकले त्यो छटपटाइरहेथ्यो । उसको मस्तिष्कमा केवल एउटै कुरा थियो— खाने कुरा ! तर कसरी खाने कुरो जोगाड गर्ने, त्यसको केही विचार गर्न सकेन ।


    यही प्रकारले तीन घण्टासम्म त्यो सडकमा हिँडिरह्यो । अर्को गाउँको रूखपात बल्ल देखियो, तब त्यो छिटो–छिटो हिँड्न थाल्यो ।
    पहिले एउटा किसानसित त्यसको भेट भयो । उसको नजिकै आएर त्यसले भीक माग्न लागेको देखेर उसले भन्यो— ‘फेरि तँ आइस् ? तैंले अहिलेसम्म पनि आफ्नो बदमासी छोडेको छैनस् ? तँदेखि छुटकारा पाउनु पनि एउटा समस्या नै भयो ।’  दघण्टा अब त्यहाँ उभिइरहन सकेन, टाढै हिँड्न लाग्यो । प्रत्येक घरबाट त्यसले भिक्षा नपाएर तिरस्कार पाउन थाल्यो । कसैले पनि त्यसलाई केही दिएन ! तर पनि बडो धैर्य त्यो हिँडी नै रहेको थियो । फेरि मैदानबाट त्यो एउटा बस्तीतिर गयो । पानी परेको हुनाले जमिन हिलैहिलो थियो । ऊ हिलैमा अब हिँड्न लाग्यो । त्यो यति दुर्बल भइसकेको थियो, त्यसले हिलोमा गाडिएको आफ्नो लट्ठीसमेत झिक्न सक्दैनथ्यो । चारैतिरबाट त्यसलाई लगार्न थाले । दिन पनि त्यस्तै बडो ठन्डा र उदास थियो । यस्तो दिनमा स्वभावैले मन बडो सङ्कुचित हुन्छ, सानै कुरामा पनि रिस उठ्छ । विरक्तिको अन्धकारमा चित्त डुबेको हुन्छ । यस्ता दिनमा दान–दक्षिणा गर्न पनि मन हुँदैन, कसैलाई सहायता गर्ने इच्छा हुँदैन ।


    आफूले चिनेका सबै घरमा जब त्यो गइसक्यो तब अन्त्यमा त्यो एउटा किसान सिकेको आँगनछेउमा आएर नालीको एक कुनामा बस्यो । आफ्ना लामालामा दुवै लट्ठीलाई त्यसले भुइँमा फ्याँकिदियो औ भोकको पीडाले कातर भएर धेरै बेरसम्म चुप लागी बसिरह्यो । कुन्नि, त्यो के आशाले त्यहाँ बसेको थियो । हामीहरू सबैको मनमा कुनै बेला यस्तै प्रकारको अनिर्दिष्ट धमिलो आशा प्रायः भइरहन्छ । यो आँगनको एक कुनाको चिसो हावामा बसेर त्यो एउटा रहस्यमय अचिन्तित सहायताको आशा गर्न लाग्यो । हामीहरू ईश्वर अथवा मानिसबाट यस्तो प्रकारको सहायता पाउने आशा विरलै गछौं, तैपनि हामीले यो कुरा विचार गर्दैनौँ कताबाट सहायता पाउने, किन पाउने औ कसबाट पाउने ?


    त्यहाँ एक बथान कुखुराका चल्लाहरू भुइँमा चारो खोजी खाँदै आउन लागेका थिए । एउटा अन्न अथवा कोरा देखियो भने चुच्चाले टपक्कै टिपिहाल्थे । अरू केही कुराको विचारै नगरी घण्टा चुपचाप तिनीहरूलाई हेरिरहेको थियो । तर केही बेरपछि त्यसको बुद्धिमा एउटा विचार आयो । बुद्धिमा आयो नभनेर यसो भन्न बेस होला ।एउटा करा त्यसको हृदयमा अनभव भयो— एउटा कुखुराको चल्लो आगोमा पोलेर खाएँ भने! चोर्ने काम गर्दा अपराध आइलाग्छ भन्ने कुरा त्यसको बुद्धिमा एक पल्ट पनि आएन । त्यसले हातको छेउमा एउटा ढुङ्गो पायो औ त्यसैले एउटा कुखुराको चल्लालाई हिर्कायो । त्यो चल्लो त्यहीँ पखेटा फटफटाएर लड्यो, अरू चाहिँ भागे । त्यसपछि घण्टा आफ्ना दुवै काँधमा लट्ठी च्यापेर आफ्नो सिकार टिप्नलाई ठकठक गर्दै जान लाग्यो ।
    घण्टा जसै रातो शिर भएको कुखुराको अगाडि पनि आयो त्यसै बेला त्यसको पछिल्तिर कम्मरमा जोरले धक्का लाग्यो । त्यो धक्काले त्यसका दुवै काखमा च्यापेका लट्ठी खुस्के औ चारपाँच हात परतिर लड्दै पुगे । किसान सिकेले रिसले चुर भएर त्यो चोरलाई हिर्कायो औ त्यसको लङ्गडो शरीरमा लात, घुस्सा र थप्पड लाउन थाल्यो । त्यसै बेला गोठालाहरू पनि आइपुगे ।

    तिनीहरूले पनि घण्टालाई खुब पिट्न थाले । हिर्काउँदा–हिर्काउँदा तिनीहरू थाकेपछि त्यसलाई उठाएर भकारीभित्र हालेर थुने । त्यसपछि थानामा खबर पठाइयो । घण्टा अधमरो भएर, भोकको पीडाले कातर भएर भुइँमा लडिरह्यो । बेलुका भयो, रात पयो औ फेरि सूर्य उदाए । त्यसले केही पनि खान पाएन । प्रायः दिन ढल्कन लाग्दा सिपाहीहरू आए औ सावधानीसित ढोका खोले, किनभने चोरले लडाइँ(झगडा गर्ला भनेर उनीहरूले शङ्का गरेका थिए । किसान सिकेले उनीहरूलाई यो भिखारीले उसलाई हिर्कायो तथा उसलाई आफ्नो ज्यान बचाउन बडो गाह्रो प¥र्यो भन्ने खबर पठाएको थियो ।


    जमदारले कराएर भन्यो— ‘एई, उठ् !’  । तर घण्टा चलेन पनि । त्यस लट्ठीमाथि भार दिएर उठ्ने चेष्टा ग¥यो तर उठ्न सकेन । त्यसले छल गरेको होला भनी तिनीहरूले ठाने । चोर एवम् बदमासहरूले प्रायः त्यसै गर्छन् । यस्तै विचार गरेर तिनीहरूले त्यसलाई निर्दयतापूर्वक उठाएर लट्ठीमाथि उभ्याइदिए । घण्टा डरले विह्वल भयो । सिकारीको सम्मुख सिकार जसरी डराउँछ, बिरालोको अघि मुसो जसरी डराउँछ त्यसरी त्यो डराइरहेको थियो । शरीरको जम्मै बलले त्यो गाह्रोसित उभियो ।
    जमदार फेरि करायो— ‘एई, हिँड् न अब !’ घण्टा हिँड्न लाग्यो, किसानहरू आफ्ना घरका ढोकाबाट अथवा खेतबाट उभिएर हेर्न लागे । स्वास्नीमान्छेहरू मुड्की देखाउन लागे औ लोग्नेमानिसहरू त्यसलाई खिज्याउन लागे, गाली गर्न थाले–‘अब त बल्ल केटो पक्रिइयो ! चोर ! बदमास ! 


    दुई जना सिपाहीको माझमा त्यो थियो । हिँड्ने शक्ति नभए पनि बलजफ्ती त्यसले आफूलाई घिसार्दै लग्यो । बेलुकासम्म यसरी घस्सिँदै हिँड्नुपर्ने थियो । अब के हुने हो, त्यसलाई केही थाहा थिएन । त्यो डरले यति व्याकुल भएको थियो, त्यसले केही कुरा पनि विचार गर्न सकेन ।


    बाटामा जति मानिसहरूसित त्यसको भेट हुन्थ्यो उनीहरूले केही बेरसम्म उभिएर हेर्थे । कृषकहरूले परस्परमा सुस्तरी भने– ‘त्यो त एउटा चोर हो ।’ रात परेपछि तिनीहरू त्यस जिल्लाको सहरमा आइपुगे । घण्टा जीवनमा कहिल्यै पनि यति टाढा आएको थिएन । विचार पनि गर्न सकेन, के भइरहेको छ औ के हुने हो । यी सब कहिल्यै नदेखेका भयानक वस्तुहरू, यी सब अनुहारहरू, नयाँ सडकहरू, घरहरू देखेर त्यो असाध्यै डरायो ।


    त्यसको मुखबाट एक शब्द पनि निस्केन, किनभने त्यसले भन्नुपर्ने कुरा केही थिएन । वास्तवमा त्यसले केही बुझ्नै सकेन । योबाहेक यति वर्ष कसैसित नबोलेकाले त्यसले आफ्नो बोलीसमेत हराइसकेको थियो । दुईचारवटा कुरा कराएर भन्ने पनि त्यसको शक्ति छैन भन्ने कुरा त्यसको मनमा खेलिरहेको थियो । सहरको जेलमा त्यसलाई थुनियो । त्यसले केही पनि खाएको छैन भन्ने कुरा सिपाहीहरूले एक पटक पनि सम्झेनन् । त्यसलाई त्यसरी नै छाडेर उनीहरू फर्की आए । अर्को दिन बिहानै उनीहरू जब घण्टाको खबर लिन आए, त्यस बेला उनीहरूले घण्टलाई भुइँमा मरिरहेको भेट्टाए । एउटाले भन्यो– ‘मरेछ! के अचम्मको कुरो!’
    (रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘विश्वकथा–संग्रह’बाट साभार)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij