बुटवल । तिलोत्तमा नगरपालिकाको वाड नम्बर ४ को सिमानगरमा आधुनिक र महिलामैत्री हाटबजार निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरी काम सुरु भएको छ । युएसएडअन्तर्गत फिनल्यान्ड सरकारको युएनपिओएसको आर्थिक सहयोग र नगरपालिकाको लागत साझेदारीमा शुरु भएको हाट बजार आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौतामा भएको छ ।
सिमानगर क्षेत्रलाई केन्द्र बनाएर निर्माण हुन लागेको आधुनिक र महिला मैत्री हाटबजारमा तरकारी तथा फलफूल बिक्रीका लागि वातानुकुलित स्टल, सार्वजनिक शौचालय, खानेपानी, पार्किङ्, जेष्ठ नागरिकका लागि चौतारी, बालबालिकाका लागि बाल उद्यान, शान्ति सुरक्षाका लागि सिसिटिभीलगायतका आधारभूत सुविधा समेटिने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बताए ।
हाटबजारको निर्माणको जिम्मा पाएको मुक्ति कन्ट्रक्सन प्रा.लि.का सञ्चालक गोबिन्द पाण्डेले नगरपालिकाले आह्वान गरेको भन्दा २७ प्रतिशत कम रकममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको बताए । सिंगल र डबल गरी २० वटा सटरसहित वातानुकुलित वातावरणको जेष्ठ नागरिक, बाल बालिका,अपाङ्गता र महिलामैत्री हाटबजारका रुपमा तयार हुने गरी काम सुरु गरेको उनले बताए ।
नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको उक्त हाटबजारले स्थानीय उत्पादनको बिक्री–वितरणलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
हाटबजार निर्माणपछि किसानले आफ्ना कृषि उपज प्रत्यक्ष रूपमा बिक्री गर्न सक्ने वातावरण तयार हुने तथा स्थानीय आर्थिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिएको स्थानिय तथा समावेशी आमा समूहकी अध्यक्ष निमकला खाँणले बताइन् ।
स्थानीय उत्पादनलाई सहज रूपमा बिक्री–वितरण गर्न र किसानलाई प्रत्यक्ष बजार उपलब्ध गराउने लक्ष्यका साथ हाटबजार निर्माणको लागि योजना बनाइएको भन्दै नगर प्रमुख खाँणले ३ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता भै काम सुरु भएकोमा नगरपालिकाको लागत साझेदारी ३० प्रतिशत रहेको बताए ।
स्थानीय बासिन्दाले हाटबजार निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले किसान र साना व्यवसायीलाई ठूलो राहत मिल्ने बताएका छन् । साथै बजार सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापारिक गतिविधि बढ्ने र स्थानीय उत्पादनले उचित बजार पाउने अपेक्षा समेत गरिएको छ ।




