सपना पौडेल रिजाल
आमा, आज पनि
तिमीलाई सम्झिँदा
आँखा आफैँ रसाउँछन्,
ओठले हाँस्न खोजे पनि
मनभित्र चुपचाप वर्षा झर्छ ।
तिमी गएको पनि त
धेरै वर्ष बिते,
तर तिम्रो अभाव भने
हरेक बिहान
नयाँ भएर आउँछ,
हरेक रात
आँसु बनेर सिरानी भिजाउँछ ।
आमा,
तिमीले छोडेको धन
सुनचाँदी थिएन
तिमीले छोडेको धन त
असल बन्ने संस्कार थियो,
इमानको बाटो थियो,
अरूको दुःखमा
हात समात्ने सुन्दर मन थियो ।
आमा,
आज म जहाँ छु,
जसरी बाँचेकी छु,
त्यो मेरो सामथ्र्य होइन
तिम्रो शिक्षाको उज्यालो हो,
तिम्रो आशीर्वादको बल हो ।
कहिलेकाहीँ त,
मन यति धेरै थाक्छ कि लाग्छ
एकपटक मात्रै
“छोरि“ भनेर बोलाइदेऊ,
म दौडेर तिम्रो काखमा लुकूँ,
र मनभरि थुप्रिएका
सबै आँसु बगाइदिऊँ ।
तर नियतिले,
त्यो काख पनि खोस्यो,
त्यो स्पर्श पनि खोस्यो,
र मेरो जीवनबाट
’आमा’ भन्ने शब्दको
जीवित अर्थ नै खोस्यो ।
मानिसहरू भन्छन्,
समयले सबै घाउ निको पार्छ ।
तर उनीहरूलाई कसरी भनूँ,
आमाको अभाव घाउ होइन रहेछ
यो त सास रहुञ्जेल
मनभित्र बलिरहने र
निभ्न नसक्ने पीडा रहेछ ।
आज पनि हरेक सफलतामा
सबैभन्दा पहिले तिमीलाई खोज्छु,
हरेक पीडामा तिम्रो काख सम्झन्छु ।
किनकि
संसारमा धेरै सम्बन्ध भेटिए,
तर “आमा“भन्ने सम्बन्धको
कहिल्यै विकल्प हुँदैन रहेछ ।
जहाँ भए पनि,
मेरो लागि मुस्कुराइरहनु है ।
आमा,
म त आज पनि तिमीले
सिकाएको संस्कार समातेर,
तिम्रै आशीर्वाद बोकेर
जीवनका कठिन बाटाहरू हिँडिरहेकी छु ।
आमा,
यदि स्वर्गसम्म
छोरीको पुकार पुग्छ भने,
मेरो एउटै प्रार्थना सुनिदेऊ
अर्को जन्ममा पनि
मलाई तिम्रै कोख देऊ ।
किनकि,आमा
यो जन्मले एउटा कुरा राम्ररी सिकायो
आमा गुमाउनु भनेको
मानिसको जीवनबाट
आधा संसार हराउनु रहेछ ।
मुटु चुँडिनु र
चाडबाड जिउँदै मर्नु रहेछ ।




