बुटवल ।लुम्बिनी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले प्रदेशको अभिभावकजस्तो गरिमामय पदकाे प्रमुखलाई अमर्यादित ढंगले हटाइएको भन्दै आपत्ति जनाएका छन् । मंगलवार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश प्रमुखलाई मार्गप्रशस्त गर्नेसमेत सूचना र समय नदिई हटाइनु संविधानले दिएको अधिकारको अपहेलना भएको गुनासो गरे ।
‘राष्ट्रपति र प्रदेश प्रमुखको काम उस्तै हो । संघीय सरकारको काम राष्ट्रपति र प्रदेश सरकारको काम–कारबाही हेर्ने प्रदेश प्रमुखले हो । संविधानमा पदमुक्त भन्ने व्यवस्था नै छैन । यो पद ५ वर्षे कार्यकालको हो । कार्यकाल नपुग्दै सरकार फेरबदल हुँदा हटाएर संविधानमा भएको अधिकारलाई अपहेलना गरिएको छ,’ उनले भने, ‘अन्य संघीय मुलुकमा प्रदेश प्रमुखलाई गरिमामय पदका रुपमा हेरिए पनि नेपालमा अझै त्यस्तो वातावरण बन्न सकेन ।’
आफूले साउन ५ गते नै राजीनामा दिएर घर फर्किने मनस्थिति बनाए पनि सत्ता फेरबदलका कारण हटाइनुपर्ने अवस्थासम्म आइपुगेकोमा शेरचनले दुःख लागेको बताए ।
उनले अहिलेको गठबन्धनले संविधान संशोधन गरेर समावेशितालाई हटाउन लागेको चर्चा सुनेको बताउँदै उनले यस्तो भएमा गलत हुने बताए । उनले प्रदेश प्रमुखको कार्यालय बुटवलबाट सार्ने अरुको प्रयासलाई आफूले रोकेको दाबी गरे । गण्डकी प्रदेश प्रमुख भएर केही समय काम गरेका शेरचनले त्यहाँभन्दा बुटवलमा आफूलाई काम गर्न धेरै सहज भएको बताए । उनले बुटवलमा ३ वर्ष प्रदेश प्रमुख भएर काम गरे । त्यो अवधिमा आफूलाई सबैभन्दा खुसीको क्षण निजामती ऐन र प्रदेश प्रहरी ऐन प्रमाणीकरण गर्न लागेको उनको भनाइ छ ।
यो अवधिमा शेरचनले १५ वटा विधेयक प्रमाणीकरण गरे । त्यस्तै ९३ वटा कार्यक्रममा सहभागी भएको बताए । ‘यो अवधिमा म रोल्पा, रुकुम र अर्घाखाँचीबाहेक लुम्बिनीका सबै जिल्लामा पुगेको छु ।’ आफ्नो ७ दशक लामो राजनीतिक यात्रामा कहिल्यै कमाउ धन्दामा नलागेको दाबी गर्दै शेरचनले राष्ट्र र जनताको हक–अधिकारको संघर्षमा आफू सधैँ समर्पित रहेको बताए ।
शेरचनले राजनीति गर्दा आफ्नो १५ विगाहा जमिन सकिएको बताउँदै अब आफ्नो पिताले दिएको जम्मा २ विगाहा खेती मात्र बाँकी रहेको बताए । ललितपुरमा घर रहे पनि त्यसको ऋण तिर्न अझै बैंकमा पचासौं लाख रुपैयाँ बाँकी रहेको उनको भनाइ छ ।
सरकारले सोमवार मात्रै लुम्बिनीका शेरचनसहित अन्य तीन प्रदेश प्रमुखलाई हटाएको हो । शेरचनलाई हटाएपछि सरकारले लुम्बिनीको प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीलाई सोमवार सिफारिस गरेको छ ।




