मानिसको महानता उसको पद, प्रतिष्ठा र धनसम्पत्तिले मात्र निर्धारण गर्दैन । उसले आफ्नो ज्ञान, सीप र जीवन कसको हितमा समर्पित ग¥यो भन्ने कुराले त्यसको वास्तविक मूल्य निर्धारण गर्दछ । संसारमा आफ्नो व्यक्तिगत सुखसुविधाका लागि बाँच्ने मानिसहरूको कमी छैन । तर आफ्नो देशको सीमाभन्दा हजारौँ माइल टाढाका पीडित जनताको सेवामा जीवन समर्पण गर्ने मानिसहरू थोरै हुन्छन् । यस्तै व्यक्तित्व थिए क्यानाडाका चिकित्सक तथा कम्युनिस्ट अन्तर्राष्ट्रियतावादी डा. नर्मन बेथुन । उनको जीवनले विचार र व्यवहारबिचको सम्बन्धलाई जनसेवाको माध्यमबाट स्पष्ट पारेको छ ।
हेनरी नर्मन बेथुनको जन्म सन् १८९० मार्च ४ मा क्यानाडाको ओन्टारियोस्थित ग्रेभनहस्र्टमा भएको थियो । उनका पिता माल्कम निकोलसन बेथुन इसाई धर्मगुरु थिए भने माता एलिजाबेथ एन गुडविन थिइन् । उनका हजुरबुबा पनि चिकित्सक थिए । धार्मिक अनुशासन र चिकित्सा परम्परासँग जोडिएको परिवारमा हुर्केका बेथुनले पछि आफ्नै अध्ययन, अनुभव र सामाजिक परिस्थितिबाट आफ्नो बाटो रोजे । उनले सन् १९२३ मा फ्रान्सिस क्याम्पबेल पेनीसँग विवाह गरे । तर उनीहरूको वैवाहिक सम्बन्धमा उतारचढाव आयो र पुनर्विवाहपछि पनि अन्ततः सम्बन्धविच्छेद भयो । उनको व्यक्तिगत जीवन सरल र निर्विघ्न थिएन ।
बेथुन आफैँ क्षयरोगबाट पीडित भएका थिए । उपचारपछि उनी त्यस रोगको उपचार र छातीको शल्यचिकित्सामा सक्रिय भए । तर उनले रोगलाई शरीरको समस्याका रूपमा मात्र हेरेनन् । गरिबीले मानिसलाई रोगी बनाउने र पैसाको अभावले उपचारबाट वञ्चित गराउने अवस्थाप्रति पनि उनी चिन्तित भए । मोन्ट्रियलमा निःशुल्क उपचारको व्यवस्था गर्दै उनी सार्वजनिक स्वास्थ्य सेवाको पक्षमा उभिए र कम्युनिस्ट आन्दोलनमा संलग्न भए । यहाँ प्रश्न उठ्छ-उपचार पाउनु मानिसको अधिकार हो कि पैसा हुनेहरूको मात्र सुविधा ? उनको सामाजिक सक्रियताले यही प्रश्नलाई अगाडि ल्याएको थियो ।
सन् १९३६–१९३७ मा स्पेनको गृहयुद्धका बेला उनले गणतन्त्र पक्षका घाइतेहरूका लागि अग्रपङ्क्तिसम्म रगत पु¥याउने सेवामा महत्वपूर्ण भूमिका खेले । त्यसपछि सन् १९३८ मा जापानी आक्रमणको प्रतिरोध गरिरहेका चिनियाँहरूलाई सहयोग गर्न चीन पुगे । त्यहाँ उनले कम्युनिस्ट नेतृत्वको आठौँ मार्ग सेनासँग चिकित्सकका रूपमा काम गरे । घाइतेहरूको शल्यक्रिया गर्नुका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम दिए । उनको अन्तर्राष्ट्रिय भाइचारा भाषणमा सीमित थिएन; त्यो घाइतेको उपचार र जीवनरक्षाको काममा प्रकट भएको थियो ।
चीनमा घाइते सैनिकको शल्यक्रिया गर्दा उनको औँला काटियो । त्यसमा संक्रमण फैलिएपछि सन् १९३९ नोभेम्बर १२ मा उनको निधन भयो । यसैले उनको मृत्यु युद्धमा गोली लागेर भएको भन्ने बुझाइ सही होइन । उनको बलिदान उपचारको कामसँग प्रत्यक्ष जोडिएको थियो । अरूको जीवन बचाउन खटिएका चिकित्सकले अन्ततः त्यही सेवाका क्रममा आफ्नो जीवन गुमाए ।
इतिहासको क्रम पनि स्पष्ट राख्नुपर्दछ । जापानको पराजय सन् १९४५ मा भयो भने जनवादी गणतन्त्र चीनको स्थापना सन् १९४९ मा भयो । बेथुनले यी घटनाहरू देख्न पाएनन् । कमरेड माओले उनको सम्मानमा लेखेको प्रसिद्ध लेख पनि गणतन्त्र स्थापनापछि नभई सन् १९३९ डिसेम्बर २१ कै हो । “नर्मन बेथुनको सम्झनामा” लेखमा माओले एउटा विदेशीले चिनियाँ जनताको मुक्तिको कामलाई आफ्नै जिम्मेवारी ठानेर गरेको निःस्वार्थ सेवामा अन्तर्राष्ट्रियतावाद र साम्यवादको भावना देखेका थिए । उनले कम्युनिस्टहरूलाई बेथुनबाट सिक्न आह्वान गरे ।
माओको मूल्याङ्कनमा बेथुनको विशेषता कामप्रतिको जिम्मेवारी, जनताप्रतिको आत्मीयता र आफ्नो चिकित्सकीय सीपलाई निरन्तर सुधार्ने प्रयत्न थियो । कठिन काम अरूलाई पन्छाउने, सजिलो काम आफूले रोज्ने र सानो योगदानलाई पनि ठूलो बनाएर प्रचार गर्ने प्रवृत्तिको आलोचना गर्दै माओले बेथुनको उदाहरण प्रस्तुत गरेका थिए । यसको शिक्षा स्पष्ट छ—कम्युनिस्ट हुनु नाम र सदस्यताको प्रश्न मात्र होइन । आफ्नो जिम्मेवारी कसरी पूरा गरिन्छ र जनतासँग कस्तो व्यवहार गरिन्छ भन्ने प्रश्न पनि हो ।
क्यानाडामा भने उनको योगदानको स्वीकार र सम्मानको प्रक्रिया सहज थिएन । त्यसबेलाको साम्यवाद र समाजवादप्रतिको भययुक्त वातावरणमा उनका स्वास्थ्यसम्बन्धी प्रस्तावहरूलाई अति आमूल परिवर्तनकारी मानिन्थ्यो । तर त्यस आधारमा तत्कालीन सरकारले उनीविरुद्ध गरेको कुनै खास कारबाही प्रमाणबिना जोड्नु पनि उचित हुँदैन । स्पष्ट कुरा के हो भने आजको जस्तो राष्ट्रिय ऐतिहासिक सम्मान उनले जीवित रहँदा पाएका थिएनन् । चीनसँग सन् १९७० मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि क्यानाडामा उनको योगदानप्रतिको कदर बढ्यो र सन् १९७२ मा संघीय सरकारले उनलाई राष्ट्रिय ऐतिहासिक महत्वको व्यक्तिका रूपमा मान्यता दियो ।
अहिले क्यानाडाको सरकारी दृष्टिकोणमा उनको चिकित्सा र मानवीय योगदानप्रति स्पष्ट सम्मान पाइन्छ । उनको जन्मघर राष्ट्रिय ऐतिहासिक स्थलका रूपमा संरक्षित छ । सन् २०२६ अगस्टमा त्यस स्मारकको पचासौँ वार्षिकोत्सवमा सरकारी प्रतिनिधि, स्थानीय समुदाय र चिनियाँ प्रतिनिधिहरू सहभागी भए । यसबाट उनको सम्झना सरकारी अभिलेखमा मात्र सीमित छैन भन्ने देखिन्छ । यद्यपि सबै क्यानाडेली नागरिकले उनलाई समान रूपमा चिन्छन् वा एउटै राजनीतिक दृष्टिले हेर्छन् भन्न सकिँदैन । सार्वजनिक सम्मानको प्रमाण र समग्र जनमत एउटै कुरा होइनन् ।
नेपालका शासक, राजनीतिक दल र विशेषगरी आफूलाई कम्युनिस्ट भन्नेहरूले बेथुनबाट के सिक्ने ? जनसेवाको भाषण गर्ने तर बिरामी जनताको उपचारलाई प्राथमिकता नदिने हो भने त्यस्तो भाषणको अर्थ के रहन्छ ? समाजवादको नारा लगाउने तर स्वास्थ्य संस्थामा औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गर्न नसक्ने हो भने त्यसको समीक्षा हुनुपर्दछ । बेथुनको सम्झनामा कार्यक्रम गर्नु सजिलो छ । उनको सेवाभावलाई सार्वजनिक नीति, बजेट र दैनिक व्यवहारमा उतार्नु वास्तविक जिम्मेवारी हो ।
यो शिक्षा नेपालका लागि मात्र होइन, विश्वका शासक र जनताका लागि पनि हो । अन्तर्राष्ट्रिय सहयोगको उद्देश्य कमजोर देशमाथि प्रभाव जमाउनु नभई त्यहाँका जनताको आवश्यकता पूरा गर्नु हुनुपर्दछ । चिकित्सकले आफ्नो सीपबाट, शिक्षकले शिक्षाबाट र आम नागरिकले आपसी सहयोग तथा अन्यायविरुद्धको सचेत आवाजबाट जनसेवा गर्न सक्छन् । जनताको सेवाका लागि आफ्नो स्वास्थ्य र जीवनको सुरक्षा पनि आवश्यक हुन्छ; बेथुनको बलिदान सम्झँदा आजका स्वास्थ्यकर्मीलाई सुरक्षित साधन उपलब्ध गराउने जिम्मेवारी बिर्सन मिल्दैन ।
निश्चय नै बेथुनको सम्मान प्रतिमा र प्रशंसामा मात्र सीमित हुनु हुँदैन । उनको जीवनको मूल शिक्षा निःस्वार्थ सेवा, कामप्रतिको इमानदारी र सीमापारिका जनताप्रतिको ऐक्यबद्धता हो । विचारलाई व्यवहारमा उतार्ने यही प्रतिबद्धता आज पनि आवश्यक छ । जनताको पीडालाई आफ्नो जिम्मेवारी ठान्ने मानवीय चेतना नै उनको जीवनबाट लिनुपर्ने शिक्षा हो ।
डा. नर्मन बेथुनको निःस्वार्थ जनसेवाप्रति हार्दिक सम्मान ! अन्तर्राष्ट्रिय भाइचारा र जनताको स्वास्थ्य अधिकार जिन्दावाद !




