बुटवल ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गरेका छन् । उनले मंगलवार प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।कूल ११० प्रदेशसभा सदस्यमध्ये लामालाई नेपाली कांग्रेसका ३७ र नेकपा (एमाले)का २७ गरी ६४ जना प्रदेशसभा सांसदले विश्वासको मत दिएका हुन् ।
प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन र हाम्रो नेपाली पार्टी (हानेपा)का दुईजना प्रदेशसभा सदस्य थिए । लामालाई ५६ प्रदेशसभा सदस्यको समर्थन भए पुग्नेमा उनले ६४ मत पाएका छन् ।
यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । कांग्रेसका लामा उनकै दल र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।




