दाङ । दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल (मोसा) चालकको मृत्यु भएको घटनालाई लिएर स्थानीयले दाङमा सडक अवरुद्ध गरेका छन्।
शनिबार राति ८ बजे घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही( १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामप्रसाद तिमलसिनाले जानकारी दिए।
टिपर चालक नवलपरासी सुनवल-१० का शिवबहादुर क्षेत्रीलाई पक्राउ गरिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तिमलसिनाले बताए।
दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्त र स्थानीयले सडक अवरुद्ध पारेकाले घोराही–तुलसीपुर सडक खण्डमा अहिले गाडी चल्न सकेका छैनन्।




