बुटवल । विश्व दृष्टि दिवसको अवसरमा बुटवलमा ५१२ विद्यार्थीको निःशुल्क आँखा तथा दन्त परीक्षण गरिएको छ। जोन ३२ अन्तर्गतका चारवटा लायन्स क्लबको संयुक्त आयोजनामा बुटवल–२ मैनाबगरस्थित उजिरसिंह माध्यमिक विद्यालयमा निःशुल्क आँखा तथा दन्त परीक्षणसँगै स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो।
लायन्स क्लब अफ बुटवल युथ, लायन्स क्लब अफ बुटवल लोटस, लायन्स क्लब अफ बुटवल क्रियटिभ र लायन्स क्लब अफ जितगढी किल्लाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो भने आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोगमा दाँत तथा मुख स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। दिनभर सञ्चालन भएको कार्यक्रममा विद्यालयका ५१२ विद्यार्थीको आँखा तथा दन्त परीक्षण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा लायन्स डिस्ट्रीक्ट गभर्नर पीएमजेएफ सन्दीप कसौधनले विद्यार्थीको आँखाको नियमित परीक्षण र समयमै उपचारमा ध्यान दिनुपर्ने बताए। उनले लायन्सले स्वास्थ्य क्षेत्रमा गर्दै आएको सेवामूलक अभियानलाई निरन्तरता दिइने बताए।
पास्ट डिस्ट्रीक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयस्तरमै सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
विद्यालयका प्रधानाध्यापक पदम ज्ञवालीले विद्यार्थीको आँखा तथा मुख स्वास्थ्य परीक्षण विद्यालयमै निःशुल्क रूपमा हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।
आधुनिक समाज डेन्टल केयर प्रालिका अध्यक्ष अमृत भुसालले बालबालिकाको मुख स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्ने बताउँदै नियमित दाँत परीक्षण र सही सरसफाइको बानी विकास गर्नुपर्नेमा जोड दिए।
डिस्ट्रीक्ट इन्भारोमेन्ट कोअर्डिनेटर प्रकाशकुमार श्रेष्ठले स्वास्थ्यसँगै वातावरणीय स्वच्छतामा पनि विद्यार्थीलाई सचेत बनाउनुपर्ने बताए।
जोन चेयरपर्सन मोती काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत लायन्स क्लब अफ बुटवल लोटसकी अध्यक्ष नारायणी काफ्लेले गरेकी थिइन् भने सञ्चालन लायन्स क्लब अफ बुटवल युथका सचिव लक्ष्मण बन्जाडेले गरेका थिए।




