बुटवल । बुटवल उपमहानगरपालिका–११ मा रहेको जी–२५ क्लबको आयोजनामा प्रथम जी–२५ सेभेन ए साइड भेटरान्स कप फुटबल प्रतियोगिता हुने भएको छ।
असोज २६ गतेदेखि ३० गतेसम्म बुटवल–११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष सजनकुमार भारीले जानकारी दिए। बुटवल उपमहानगरपालिकाभित्रका सबै वडालाई सहभागिताका लागि आग्रह गरिए पनि प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने भएका छन्।
प्रतियोगिताको विजेताले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडीलाई ७ हजार पाँच सय ५५, सर्वाधिक गोलकर्तालाई ६ हजार पाँच सय ५५ र उत्कृष्ट गोलरक्षकलाई ६ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
भेटरान्स खेलाडीबीच हुने प्रतियोगिता ४० मिनेटको हुनेछ। प्रतियोगितामा ४० वर्ष उमेर पूरा गरेका खेलाडी अनिवार्य रूपमा चार जना र ४५ वर्ष उमेर पूरा गरेका तीन जना खेलाडी सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताको तयारी तीव्र पारिएको खेल संयोजक रमेशकुमार जोशीले बताए। उनले प्रतियोगिताको प्रचारप्रसारलाई समेत तीव्र बनाइएको जानकारी दिए। प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख ८४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ।
गत वर्षको प्रतियोगिताको विजेता बुटवल–११ बनेको थियो। यस वर्ष पनि भेटरान्स खेलाडीबीच प्रतिस्पर्धात्मक र आकर्षक खेल हुने आयोजकको अपेक्षा छ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रथम पुरस्कारका प्रायोजक विष्णुबहादुर हमालले आफू विदेशमा रहँदा विभिन्न प्रतियोगिता आयोजना गरेको अनुभव रहेको बताउँदै स्थानीयस्तरमा युवाहरूले आयोजना गरेका खेलकुद गतिविधिलाई प्रोत्साहन र सहयोग गर्दै आएको बताए।
उनले खेलकुदको माध्यमबाट स्थानीय युवालाई अघि बढाउन सकिने भन्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रम क्लबका उपाध्यक्ष तेजेन्द्र खनालले सञ्चालन गरेका थिए।




