गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको बेला थाइ एयर एसियाले भैरहवाबाट साताको चार उडान गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले चार वटा नियमित उडान गर्नकोलागि अनुमति दिएपछि यहाँ आशा जागेको छ ।
गौतमबुद्ध विमानस्थल निर्माण पछि पर्यटन उद्योग विस्तार हुन्छ भनेर लगानी गरेका व्यवसायी समस्यामा परिरहेका बेला सरकारले विमानस्थल चलाउन प्राथमिकता दिएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल चलाउने कार्ययोजना बनाउन निर्देशन दिएपछि सरोकारवाला निकाय विमानस्थल चलाउने कार्ययोजना बनाउन जुटिरहेका छन् ।
गौतमबुद्ध विमानस्थल लुम्बिनी क्षेत्रको विकासको कोसेढुंगा हो । यो विमानस्थल चलाउन सक्दा पर्यटन उद्योग विस्तार हुन्छ । धेरै रोजगारी श्रृजना हुन्छ । यहाँबाट सिधा उडान गर्न सक्दा कृषिजन्य उत्पादनलाई निर्यात गर्न सक्ने संभावना पनि उत्तिकै छ । राज्यले ऋण खोजेर बनाएको विमानस्थल चलाउन नसक्दा हामी ऋणको पासोमा पर्ने जोखिम उत्तिकै छ । व्यवसायीको ठूलो लगानी जोखिममा परिरहेको छ । राज्य र निजी क्षेत्रको लगानी जोखिममा पर्दै जाने र युवा रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशमा जानुपर्ने बाध्यतालाई हटाउन विमानस्थल चलाउन अब ढिलाइ गर्न हुन्न ।
नागरिक उड्डयन प्राधिकरणले भैरहवा उडान गर्ने शर्तमा थाइ एयर एसियालाई त्रिभुवन विमानस्थलको उडान अनुमति दिएको थियो । अब भैरहवाबाट ४ र काठमाडौँबाट ३ वटा उडान बैंककमा हुने गरी थाइ एयर एसियाले उडान अनुमति पाएको छ । सुरुमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुवेतको जजीरा एयरवेजले झन्डै ६ महिना र त्यसपछि हिमालय एयरलाइन्सले पनि केही महिना उडान गरेको थिए । उनीहरूले यात्रु नपाएको भन्दै उडान बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प जस्तै छ ।
थाइ एयर एसियालाई दिएको अनुमति र सरकारले विमानस्थल चलाउन दिएको प्राथमिकता सकारात्मक छन् । यही विन्दुबाट अब विमानस्थललाई पूर्ण क्षमतामा चलाउन अघि बढ्नुपर्छ ।




