रूपन्देहीको तिलोत्तमामा सुतिरहेको बेला राति ओछ्यानबाटै अपहरित बालिकालाई सकुशल उद्धार र संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीको यो सफल अप्रेशन प्रशंसनीय छ ।
तिलोत्तमा कान्छीबजारबाट अपहरणमा परेको ३८ घण्टापछि बालिकाको सकुशल उद्धार भएको हो । ती बालिकाका अभिभावक सामान्य मजदुरी गर्दै आएका छन् । फिरौती वा अन्य कुन प्रयोजनका लागि बालिकाको अपहरण भएको थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तिलोत्तमा नगरपालिका—१७, दरखसवाका विशाल थारूलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । अपहरण गर्ने व्यक्ति स्थानीय भएका र पक्राउ परिसकेकाले घटनाको अनुसन्धानमा प्रहरीलाई बल पुगेको छ । पछिल्ला दिनमा अपराधिक प्रवृत्तिका व्यक्तिको मनोबल बढिरहेको बेला प्रहरीको यो कारबाहीले उनीहरुको मनोबल अवश्य कमजोर बनाउनेछ । अपराधका घटना कमजोर प्रहरी अनुसन्धान र कारबाहीबाट बढ्छन् । अपराधका घटना न्युन गर्नका लागि प्रहरी कारबाही प्रभावकारी हुनुपर्छ । रूपन्देही प्रहरीले बालिकाको अपहरण गर्ने व्यक्तिलाई पक्राउ मात्रै गरेन्, बालिकाको सकुशल उद्धार गरेको छ ।
समाजमा अहिले निराशा, आक्रोश र असन्तुष्टि धेरै छ । यो बेला राज्यसंयन्त्रले थोरै कमजोरी गर्दा समाजमा धेरै क्षति हुनसक्छ । अराजक र अपराधीको मनोबल बढ्न सक्छ । समाजको निराशा, आक्रोश र असन्तुष्टि न्युन गर्न विभिन्न खालका योजना र कार्यक्रम लागु गर्न आवश्यक छ । सरकारी सेवा प्रवाहमा सुधारदेखि रोजगारीका कार्यक्रमलाई विस्तार गर्न सकिन्छ । सकारात्मक सोंचको विकास गर्ने तालिमहरु सञ्चालन गर्ने, आशा जगाउने कार्यक्रम अघि बढाउन सकिन्छ । तहगत सरकारको समन्वयमा समाजमा हुने यस्ता क्रियाकलापले व्यक्तिलाई आशा जगाउन सक्छ । समाज लयमा हिँडेपछि अपराधिक प्रवृत्ति भएका व्यक्तिको मनोबल कमजोर बन्छ ।
अपराधमुक्त समाजका लागि प्रहरीको व्यवसायिक विकासमा राज्यको लगानी बढाउनुपर्छ । प्रहरीलाई अहिलेको साधनस्रोतमा भएको न्युन अवस्थाबाट माथि उकास्नुपर्छ । प्रविधिको प्रयोग गरी भइरहेका अपराधको अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन भइरहेका अप्ठ्यारा हटाउन ढिलाइ गर्न हुन्न ।
रूपन्देहीको यो अपहरणको घटनामा संगठित समूह नभएको र गाउँकै युवाले गरेकाले अनुसन्धानमा धेरै समय र अरु लगानी गर्न नपर्न सक्छ, तर संगठित अपराधको जालो धेरै विस्तार भइसकेकाले प्रहरीलाई प्रविधि प्रयोगमा निरन्तर प्राथमिकता दिँदै सघाउनुपर्छ ।




