नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु भएको छ । यो महाधिवेशन कांग्रेसका लागि पुनर्जीवित गर्ने अवसर हो । लामो समयसम्म नेतृत्व पुस्तान्तरण हुन नसकेकोमा यो महाधिवेशनले नेतृत्व पुस्तान्तरण गर्नेछ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको अतुलनीय योगदान छ । जहाँनिया राणा शासनकाविरुद्ध आन्दोलन गर्ने क्रममा युवाहरु संगठित भइ स्थापना गरेको कांग्रेस पार्टीको लामो इतिहासमा मुलुकको लोकतान्त्रिक परिवर्तनमा खेलेको भूमिकाकै कारण आम नागरिकमा ओजिलो भूमिका छ । पञ्चायत विरुद्धको संघर्षमा होस् वा राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा लोकतन्त्रविरुद्ध गरेको कु मा होस्, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्यो । लोकतन्त्र स्थापना र मुलुकको परिवर्तनका लागि खेलेको अतुलनीय भूमिका खेलेको पार्टीको महाधिवेशनलाई सार्थक बनाउन महाधिवेशन प्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्छ ।
यो महाधिवेशनले नेतृत्व पुस्तान्तरणलाई संस्थागत गर्नेछ । लामो समयसम्म कांग्रेस कोइराला परिवारको वरिपरि घुम्यो । त्यसपछि केही समय शेरबहादुर देउवाले नेतृत्व हातमा लिए । अहिले मुलुकमा युवा नेतृत्व स्थापित गर्ने बहस भइरहेका बेला हस्तक्षेपकारी भूमिका खेलेर विशेष महाधिवेशन गरी गगन थापाले नेतृत्व लिए । युवाहरुको यही हस्तक्षेपलाई संस्थागत गर्ने काम १५औं महाधिवेशनले गर्नेछ । नेपालमा २०४६ सालको परिवर्तनपछि स्थापित राजनैतिक नेतृत्वले पार्टी सत्ता छोड्न नखोज्दा राजनैतिक दलमा नेतृत्व नयाँ आउन सकेन् । समाजको बदलिदो चरित्र बुझ्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । रास्वपाको उदय जुन ढंगले भयो, यो पार्टी संस्थागत हुन अझै केही समय लाग्छ । संस्थागत हुन्छ वा हुँदैन्, त्यो अन्यौल कायमै छ । तर त्यसको उदयबाट सबै पार्टीमा नेतृत्व परिवर्तन जर्बजस्त उठिरहेको छ ।
फागुन २१ गतेको आम चुनावमा लामो समय सत्ताको केन्द्रमा रहेको कांग्रेस किनारामा पुगेको छ, किनारामा पुगेको कांग्रेसलाई जागृत गराएर मुलुकको नेतृत्व गर्ने अवसर श्रृजना गर्ने अवसरमा बदल्ने संकल्प कांग्रेस महाधिवेशनले गर्नुपर्छ । त्यसका लागि युवाको प्रतिनिधित्वलगायत कतिपय विषयलाई विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपालि युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास मा महाधिवेशन हुनुलाई सकारात्मक मान्नुपर्छ ।यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ । केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् । प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्थाले युवालाई आकर्षित गर्नेछ । राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ । यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने र प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने भनिएकाले त्यसको व्यवहारिक प्रयोग र कार्यान्वयन हुनुपर्छ ।
२०४६ सालको परिवर्तनपछि कांग्रेस शासन सत्ताको केन्द्रमा रह्यो । लोकतान्त्रिक प्रणाली संस्थागत गर्न र नागरिक अपेक्षा पूरा गर्न भएका चुकले मुलुक अन्यौल र अप्ठारो परिस्थिति गुजारेको हो । अहिले संविधान र गणतन्त्रप्रति नै प्रश्न उठिरहेको छ । यो विषयमा पार्टी कहाँ चुक्यो, अब संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस कसरी अघि बढ्नुपर्छ भन्ने बारेमा आत्मसमीक्षा गरी अघि बढ्नुपर्छ ।




