बुटवल उप–महानगरपालिकाका नगर प्रहरीले फुटपाथ व्यापारलाई नियन्त्रण गर्ने क्रममा ज्यादती गर्न थालेका छन् । उप–महानगरमा कार्यरत नगर प्रहरीले फुटपाथ व्यापारमा संलग्न महिलालाई कुटपिट र कपडा च्यातिदिएर दुव्र्यवहार गर्नु निन्दनीय छ । नागरिकप्रति अमानवीय व्यवहार गरेर जननिर्वाचित निकाय उत्ताउलो र गैरजिम्मेवार हुनु लोकतन्त्रको उपहास हो ।
फुटपाथ व्यापारलाई मनपरी गर्न दिने होइन्, व्यवस्थित गर्नुपर्छ । समय र ठाउँ तोकेर फुटपाथ व्यापारलाई व्यवस्थित गर्नुपर्छ । तर फुटपाथ व्यापारलाई निषेध गर्ने गरी चालेका कदम गलत छन् । फुटपाथ व्यापार निषेध गर्दा नै शहर व्यवस्थित हुने होइन ।
शहरमा सबै खालका व्यक्ति बस्न सक्दा नै गुल्जार हुने हो । शहरमा धनी र हुने खाने मात्रै बस्ने हो भने के शहर के होला ? गरिब र काम गरेर खाने वर्ग शहरमा टिक्नै सक्तैन भने त्यो शहरको आर्थिक गतिविधि चलायमान नहुन सक्छ । निश्चित वर्गका मान्छेको बसोबास हुने भएपछि विपन्न र सीमान्तकृत समुदाय अवसर र कामको खोजीमा अन्यत्र जान्छन् । त्यो बेला शहरमा फोहर नउठ्न सक्छ । साना पसलहरु नचल्न सक्छन् । ठूला डिपार्टमेन्टल स्टोर र होटलमा पनि खोजे जस्ता मजदुर नपाइन सक्छन् । शहरलाई साँच्चिकै शहर बनाउने काम गरिब र विपन्न वर्गले गर्ने काम र मिहिनेतले हो । काम र अवसरको खोजीमा शहर आएकाहरुलाई टिक्नै नदिने हो भने कसरी शहर बन्छ ? योजनाबद्ध विकास गर्न ध्यान नदिँदा हाम्रा शहर कुरूप र अस्तव्यस्त छन् । सफा, हराभरा र सबै खाले पूर्वाधार व्यवस्थित भएका ठाउँ नै सुन्दर शहर हुन्छन् । तर शहरमा योजनाबद्ध पूर्वाधारको विकास नगर्ने, योजनाका आधारमा भन्दा वर्षैंपिच्छे मागका आधारमा योजना अघि बढाउने प्रवृत्तिले शहरलाई झनै भद्रगोल र अव्यवस्थित बनाएको छ ।
अब शहरलाई व्यवस्थित बनाउने योजना बनाऔं । बुटवल व्यवस्थित शहर बनाउने योजना अघि सारौं । छाडा गाईवस्तुको दिगो व्यवस्थापन गरौं । ढल व्यवस्थित नहुँदा वर्षा हुँदा सडकमा भेल बग्छ । पार्किङ नहुँदा मुख्य शहरमा उपभोक्ता छिर्नै नसक्ने भद्रगोल भएको छ । व्यापारिक शहर बुटवलको व्यापार दिनप्रतिदिन खस्केको छ । यी समस्याको समाधानको प्रयास खोई ? बिहान–साँझको गास जुटाउन र केटाकेटीको पढाइ खर्च जोहो गर्न सडकमा फलफूल बेच्ने महिलामाथि भएका हर्कत केवल केही व्यापारीको उक्साहटमा भएका हुन् । लोकतन्त्र र विधिको शासनका कुरा गर्नेहरुलाई हेक्का रहोस्, नागरिकको असन्तुष्टि चुलिंदै जाँदा जनताको मतले शासनमा पुगेकाहरु नै असन्तुष्टिको पहिलो निशासानमा पर्नेछन् । जनमत सबैभन्दा ठूलो विषय हो, लोकतन्त्रमा नागरिकले शासकबाट सम्मान र अपनत्व खोजिरहेका हुन्छन् । सडकमा लखेटी लखेटी गरिब नागरिकलाई कुटेर ज्यादती गर्दा तरमारा वर्ग खुशी होला, तर नागरिकको ठूलो पंक्ति असन्तुष्ट हुनेछ । गरिबलाई काम गरेर खान देऊ, त्यो नै लोकतन्त्रप्रतिको सम्मान हो ।




