गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बसोबास गर्ने एक परिवारको लालपुर्जामा आफ्नो जमिन छ तर स्थानीयले सार्वजनिक जमिन भन्दै उपभोग गर्न नदिएपछि उक्त परिवार सुकुम्बासी जस्तै बनेको छ ।
गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा बस्ने कर्णबहादुर रेश्मी मगरको परिवारले आफुहरुले किनेको जग्गा स्थानीय एक समुहले सार्वजनिक भन्दै उपभोग गर्नबाट बञ्चित गरेपछि आफहरु सुकुम्बासी बन्नु परेको गुनासो गरेका छन् । उनले न्यायका लागि सरोकारवाला निकायमा हारगुहार गर्दै हिडेका छन् ।
बाग्लुङ्गको साबिक जलजला गाविस वडा नम्वर ७ पुख्र्यौली घर भई २०१८ साल तिर गुल्मीको मुसिकोट नगरपालिका ७ स्थित पल्टार भन्ने स्थानमा रेश्मीका बाबु बलबहादुर बसोबास गरेको स्थानीयकै भनाई छ ।
जिल्ला मालपोत कार्यालय गुल्मीले जिल्लाको मुसिकोट नगरपालिका ७ साविक वामी गाविस वडा नम्वर २ परुवाका कृष्णहरी सापकोटाले वडा नम्बर १ स्थित पल्टार भन्ने स्थानको कित्ता नम्वर १२०० को ६ आना जमिन कर्णबहादुर रेश्मी मगरलाई २०७० साल फागुन ११ गते १ लाख ७० हजारमा बिक्रिी गरेको लालपुर्जामा उल्लेख छ ।
त्यसको १० बर्ष सम्म आर्थात २०८१ साल बैशाख २६ गते सम्म उनै जग्गाधनी कर्णबहादुर रेश्मी मगरले मुसिकोट नगरपालिकामा उक्त जग्गाको तिरो तिरेको रसिद समेत छ ।
तर त्यहाँका केही मानिसहरुले उक्त जग्गा सार्वजनिक हो भन्दै रेश्मी मगरलाई त्यस जमिन उपभोग गर्न दिएका छैनन् । उक्त जग्गा सार्वजानिक भएको दावी गर्दै त्यहाँको एक समुह अदालत सम्म पुगेको छ । जिल्ला अदालत गुल्मीले उक्त मुद्धामा २०८१ साल जेठ ४ गते डिसमिस फैसला गरेको छ ।
त्यसो त २०५१ साल देखि उक्त जग्गा विवादित देखिन्छ भने २०६१ साल असार २२ गते पुनरावेदन अदालत बुटलमा रिट समेत परेको छ ।
२०६० सालमा साविक वामी गाविस १ बसेरी बस्ने डिलबहादुर कुमाल, पल्टारका जंगबहादुर राना , सोही स्थानका बसन्त बहादुर राना र टिकाराम कुमालले सोही स्थानका केदार प्रसाद श्रेष्ठ, शारादा श्रेष्ठ र कृष्णहरी सापकोटा बिरुद्ध उक्त जमिन सार्वजानिक भएको भन्दै मुद्धा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।
जग्गा धनी कर्णबहादुर रेश्मी मगरका बाबु बलबहादुर रेश्मी मगर ब्रिटिश आर्मीबाट रिटायर्ड भई आउँदा २०१८ सालमा त्यहाँको ११ आना जग्गा भगवती श्रेष्ठसंग खरिद गरेको भन्ने उनका छोरा कर्णबहादुर रेश्मी मगरको भनाई छ ।
सोही जग्गाको घरमा बलबहादुर रेश्मी मगरले मेडिकल समेत सञ्चालन गरेर बसेको जाहेरीमा उल्लेख छ । २०३४साल भदौं १ गते बलबहादुर रेश्मीले आत्महत्या गरे । त्यस पछि बलबहादुर रेश्मी मगरकी श्रीमति मोति रेश्मी मगरले भोग चलन गर्दै आएको परिवारजन बताउँछन ।
२०३६ सालमा मोती रेस्मीले कित्ता नम्वर २०१ मा रहेको उक्त ११ आना जग्गा नापी दर्ता गराई कृष्णहरी सापकोटालाई हदमुनिको राजीनामा दिई आफु जलजला गएर बसेको फिराद पत्रमा उल्लेख छ । सापकोटाले २०५९ साल असोज ७ गते उक्त कित्ताको जग्गा मध्ये लक्ष्मीनारायण प्राबिलाई ५ आना जग्गा १ लाख २५ हजार रुपैयाँमा राजिनामा दिई सोही कित्ता मध्येको कित्ता नम्बर १२०० कायम गरी ६ आना आफुले राखेका थिए ।
सोही जग्गा २०७० सालमा बलबहादुरका छोरा कर्णबहादुर रेस्मीले खरिद गरी भोगचलन गरेको फिराद पत्रमा उल्लेख गरिएको छ ।
कृष्णहरि सापकोटाले समेत उक्त जग्गा रेश्मीकै भएको दावी गर्दै रेश्मी अन्यायमा परेको बताउँछन । २०७० सालतिर बलबहादुरका छोरा आएर बाबुले किनेको जमिन मैले किन्छु भने पछि ६ आना जमिन एक लाख बुझेर १ लाख ७० हजारको राजिनामा गराई बेचेको सापकोटाले बताए । त्यही बेला देखि त्यो जमिन सार्वजानिक हो भन्दै यहाँका केहि मान्छेले सोझो मान्छेलाई अन्यायमा पर्दै आएका सापकोटाले भने ।
आफुले खरिद गरेको भनिएको जग्गामा स्थानीयले टिक्न नदिए पछि कर्णबहादुर र उनकी श्रीमति अर्कैको घर गोठमा बस्दै आएका छन् । गहभरी आँशु पार्दै उनले आफुहरु ठुलो अन्यायमा परेको तर अहिले सम्म कतैबाट न्याय नपाएको गुनासो गर्छन् ।
उक्त जग्गाको लालपुर्जा राखेर रेश्मी मगरले एक वित्तिय संस्थाबाट ऋण समेत लिएका थिए । साविक वामी गाविसका पुर्व अध्यक्ष महेश बहादुर जिसीले भने त्यो जमिन सार्वजनिक नै भएको बताए । उक्त जग्गालाई कृष्णहरी सापकोटाले ब्यक्तीको बनाएको जिसीको भनाई छ । ‘ती रेश्मी निकै सोझो मान्छे हो । उनलाई अन्याय भएकै छ , त्यस बिरुद्ध विगत देखि म पनि लड्दै आएको छु र आगामी दिनमा पनि लड्ने नै छु’– जिसीले भने ।
दुबै पक्षले रेश्मी अन्यायमा परेको बताई रहँदा उनलाई न्याय दिने चाँही अब को हो ? भन्ने प्रश्न गर्छन् रेश्मीको पक्षमा पहल गर्दै आएका तम्घासका घनबहादुर खडका । ‘कि त्यो जमिन सार्वजनिक हो र पछि ब्यक्तिले हडपेर रेश्मी परिवारलाई फसाइयो वा त्यो ब्यक्तिकै हो र सोझा रेश्मीलाई अन्यायमा पारिदै छ, यसबारे नगरपालिकाका जनप्रतिनिधीहरुले उचित निकास दिनुपर्छ’–उनले भने ।




